राष्ट्रिय समाचारसमाचार

चिसो क्रमशः बढ्दै आवश्यक तयारी अपनाउन आग्रह

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ।

मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ।

सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो। सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा ०.५ रहेको छ।

तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।

आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।
महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकेको छैन। आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन।

यद्यपि, चिसो भने बढ्दै गइरहेको छ। तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ। त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *