समाचारस्वास्थ्य

घरदैलोमै आँखा उपचार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

रामेछाप — जिल्ला सामुदायिक आँखा केन्द्रका स्वास्थ्यकर्मी आँखासम्बन्धी रोग लागेका बिरामी खोज्दै गाउँ–गाउँ पुगिरहेका छन् । घरदैलो गर्दा भेटिएका बिरामीको शिविर राखी तत्काल उपचार गर्ने गरिएको छ । गम्भीर खाले रोग लागेको पाइएका थप उपचारको समेत केन्द्रले नै व्यवस्था गर्दै आइरहेको छ ।

केन्द्रका स्वास्थ्यकर्मी हालै लिखु तामाकोसी गाउँपालिकाका सबै वडामा पुगेर फर्किएका छन् । ‘गाउँमा आँखासम्बन्धी समस्या भएका धेरै बिरामी भेटिए,’ केन्द्र प्रमुख उमेश तामाङले भने, ‘आँखाको शल्यक्रिया गर्नैपर्ने ६८ जना फेला परे ।’

उनीहरू सबैको शल्यक्रिया यसै साता मन्थलीमा हुने स्वास्थ्य शिविरमा गरिने उनले जनाए । ‘निको हुने खालको समस्या आइलागे पनि स्थानीयहरू उपचारमा अस्पताल आउन नमान्ने अवस्था देखियो,’ उनले भने, ‘आँखा शिविरकै कारण धेरैले लाभ लिएको पाएका छौं ।’

अस्पताल आउन नमान्दा हरेक वर्ष मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेको उनको भनाइ छ । ‘गाउँमा चस्मा लगाउनुपर्ने उमेर समूहका व्यक्तिहरूले पनि बेलैमा आँखा केन्द्रमा जँचाएर चस्मा लगाएको पाइएन,’ उनले भने, ‘बिरामीहरूको निःशुल्क उपचार र औषधिको पनि व्यवस्था गरेका थियौं ।’

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले आँखा शिविरका कारण धेरै स्थानीयले लाभ लिएको बताए । ‘शिविरमा आँखाको प्राथमिक उपचार, मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी छनोट र अन्य जटिल रोगका बिरामीलाई थप उपचारका लागि रेफर गरिएको छ,’ उनले भने, ‘शिविरमा ८ सय ९ जना बिरामीको उपचार भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *