कला-साहित्य

तिम्रा यादहरू…

Advertisements
MAHABAI RURAL MUNICIPALITY

तिमीले दिएको चिनो रूमाल त फाट्यो
तर फाटेनन् यादहरू
सधैँ ताजै बनेर
तर्साइरहन्छन्
सताइरहन्छन्
र बेलाबेला रूवाइरहन्छन्!

 

तिमीले दिएको माया त सकिसक्यो
सकिएनन् अझै यादहरू
सधैं आँखैको समीपमा घुमिरहन्छन्
तर्साइरहन्छन्
झस्काइरहन्छन्
र बेलाबेला रूवाइरहन्छन्!

 

तिमीले देखाएका मिठामिठा सपना त टुटिसके
तर सपनाको संसारबाट मन अलगिन सकेन
सधैं कल्पनाको संसार स्मृतिमा रहिरहन्छन्
गिज्याइरहन्छ
सताइरहन्छ
र बेलाबेला रूवाइरहन्छ!

 

तिमीले दिएका ती मिठा-मिठा स्पर्श त सकिसके
तर अझैँ पनि तिम्रा ती स्पर्शले झसङ्ग बनाइरहन्छ
र बेलाबेला अङ्ग-अङ्गमा काउकुती लगाइरहन्छ
झस्काइरहन्छ
तड्पाइरहन्छर बेलाबेला रूवाइरहन्छ!

 

जीवनमा अगाडि बढ्ने मन त नभएको होइन
तिमीलाई भुलेर
तिमी र तिमीले दिएका हरेक स्मृतिहरूलाई क्षणमै जलाएर
ध्वस्त बनाउने
तर मेरो प्रेम
मेरो समर्पण
मेरो तन
मेरो मन
तिम्रो जस्तो स्वार्थी हुन सकेन
हुन जानेन
हुन मानेन!

 

भन्छौ हौला
सोच्छौ हौला
मेरो यादमा मेरो झुटो मायामा फसेर तड्पिने
पागल
बेवकुफ
लाचार भनी
अनि हाँस्दा हौँ
अरूलाई कहानी बताउँदै हसाँउदौ हौ
मेरो समर्पणदेखि
मेरो मनको सँच्चा प्रेमदेखि

 

स्वीकार्य छ तिम्रो र तिम्रा मित्रहरूको निम्ति
हाँसोकी पात्र बन्न
हाँस्दा सँगसँगै बररर बज्ने ताली बन्न
स्वीकार्य छ तिम्रा निम्ति लाचारकी पात्र बन्न
तर यथार्थमा यो लाचार छे
भन्ने गलत बुझाइ आफ्नो दिमागमा नराख्नू

 

लाचार भएको भए म
तिमीजस्तै मायाको भिख माग्दै
हप्तैपिच्छे प्रेमी फेर्दै हिँड्ने थिएँ होला
बैँसले मातिएका सबको निम्ति
तिमीजस्तै जवानी साट्ने माध्यम बन्थें होला

 

मेरो इच्छा
मेरो चाहाना
मेरो रोजाइ
मेरो प्रार्थना
मात्र तिमी थियौ र त
म तिमीभित्रै समर्पित थिएँ
तिमीलाई नै पर्खि बसेँ
तिमीलाई नै भगवान् सम्झी पूजिरहेँ
तिमीलाई नै सर्वश्व मानी शिरमा सजाएर राखेँ
तिमीलाई यो मनमा लुकाएर राखेँ
तिम्रा हरेक गल्तीलाई भुल सम्झेर माफ गरिरहेँ
आफू र आफ्ना बुवाआमालाई भन्दा बढी माया र सम्मान दिएँ
आफूलाई भन्दा बढी माया र महत्त्व दिएँ

 

अहिले तिम्रो मन भरियो र भन्छौ
बेवकुफ त तेरो बाटो जा र मलाई मेरो बाटो जान दे
आहा! तिमी र तिम्रो प्रेम
कति तारिफयोग्य
कति अटल र अजर
साथै तिम्रा ती शब्द
साँच्चै नै तारिफयोग्छ छन्

 

तिमीले नभने पनि माया, समर्पण, त्याग नबुझ्ने मान्छे
मायाको सम्मान र इज्जत नगर्ने तिमीसँग
म आफै टाढिन्थेँ
तिमीले जस्तै मन र प्रेमी फेर्न नसके पनि
म तिम्रो जीवनबाट टाढै रहिरहन्थें
तिमीले जस्तै सबैलाई माया बाँड्दै हिँड्न नसके पनि
म आफूलाई माया गर्नमा समय खर्चिन्थें
आफूलाई हरेक दृष्टिदेखि सक्षम र सफल बनाउथें

 

अन्त्यमा अलबिदा तिम्रो मायालाई
सम्मान तिम्रा विचारलाई
सम्मान तिम्रो झुटो प्रेमलाई
सधैँ खुसी, सुखी रहनू
मलाई सम्झने दुख कष्ट नगर्नू
जहाँ छु खुसी छु, सुखी छु र सन्तुष्ट छु
तिम्रो पनि सोही चाहन्छु!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *