विचारस्वास्थ्य

‘चाहेअनुसार छोरी नै जन्मिइन्, आफूलाई भाग्यमानी ठान्छुु’

Advertisements
MAHABAI RURAL MUNICIPALITY

डाक्टरहरु सुपरस्टार जन्मियो भन्दैथिए, यता श्वेताको मन बेचैन थियो

समय बित्दै गएपछि पेट बढ्दै जान्छ र त्यसबेला कसरी हिंड्ने होला ? अरुले के भन्छन् होला ? भन्ने प्रश्न मनमा आउने गरेको श्वेता सुनाउँछिन् । तर पेट बढ्दै जाँदा सबैको माया र आफ्नो शरीरमा अर्को शरीर बढ्दै छ भन्ने खुसी पनि बढ्दै गएपछि त्यो सबै दुविधा हट्दै गयो ।

काठमाडौं अभिनेत्री श्वेता खड्काले फर्निचर ल्याण्डबाट उपहारस्वरूप एउटा चिटिक्क परेको गुडिया पाएकी थिइन् । आफ्नो सन्तान पनि त्यो गुडियाजस्तै छोरी नै होस् भन्ने सोचिन् । नभन्दै संयोगवश उनले कल्पिएको जस्तै भइदियो वास्तविक जीवनमा पनि ।

किनकि पहिलोपटक आमा बन्न लागेकी उनको गर्भमा त्यही समय छोरी आइन् । यद्यपि तत्कालै गर्भधारण गर्ने श्वेता दम्पतीको योजना भने थिएन ।

अनलाइनखबरसँगको भेटमा श्वेताले सुनाइन्, ‘हामीले कुनै योजना नै बनाएका थिएनौं । गत फागुनमा प्रेमदिवसको दिन चक्कर लागिरहेको थियो । महिनावारीको समय काटेपछि परीक्षण गराउँदा पोजेटिभ रहेछ ।’

गर्भवती भएको थाहा पाएपछि उनी आफैं छक्क परिन् । योजनाविना नै यस्तो भएपछि उनी रोइन् पनि । ‘म त्यो समय के अनुभूति गरें शब्दमा बयान नै गर्न सक्दिनँ । भावुक भएर रुँदै आमालाई कल गरे,’ श्वेताल् सुनाइन्, ‘आमासँग त्यसपछि पाँच घण्टा बसेर धेरै कुरा आदानप्रदान गरें, अनि हल्का महसुस भयो ।’

गर्भवती भएको खबरले श्वेताको परिवारमा खुसीको सञ्चार गरायो । परिवारमा मात्र सीमिति यो खबर मिडियामा भने आइसकेको थिएन । गर्भवती भएको पाँच महिनासम्म बच्चाको जोखिम अवधि रहिरहने भएकाले आफूले मिडियामा खबर सार्वजनिक नगरेको उनी सुनाउँछिन् । उनको गर्भले ६ महिना लागेपछि मात्र सर्वत्र चर्चा पाएको थियो ।

उद्यम-व्यवसायमा सक्रिय श्वेताले अब कार्यालयमा भन्दा बढी समय घरमै आराम गरेर बिताउनुपर्ने भयो । घरमा रहँदा श्रीमान् र परिवारका अन्य सदस्यले उनको भावनात्मकदेखि सबै कुरामा राम्रो हेरचाह गरे ।

श्वेता सुनाउँछिन्- बच्चा सुरुमा चल्दाको अनुभव निकै रमाइलो लाग्ने रहेछ । जुन मैले पनि महुसस गरें । पहिलोपटक बच्चा पेटमा चल्दा सासूआमालाई हत्तारिंदै गएर सुनाए । पछि सबै जना पर्खिएर सुन्ने गर्नुहुन्थ्यो ।

 

गर्भ बसेपछिका सुरुवाती दिन

सबै गर्भवती महिलालाई जस्तै श्वेतालाई पनि खानेकुराको बास्ना आउने बित्तिकै वाकवाकी लाग्ने हुन्थ्यो । टाउको दुख्ने, भान्साको गन्ध समेत उनलाई असैह्य हुन्थ्यो ।  ‘पहिले भान्सामा खानेकुरा पकाउँदा म आफ्नो कोठाको ढोका थुनेर बस्थें, ’सुरुको अवस्था सम्झिंदै उनले भनिन्, ‘गर्भवती हुँदा खानुपर्ने कुरा पनि मैले खान सकिनँ ।

पहेंलो रङ भएको खानेकुराबाट उनलाई एलर्जी नै भएजस्तो भएको थियो । साधारण खाना र सुख्खा खानेकुरा खाँदा बच्चा कम तौलको जन्मिने हो कि भन्ने उनलाई चिन्ता हुन्थ्यो । ‘धेरै नखाएर म आफैं पनि दुब्लाउँदै गएँ । खाना नखाए पनि बच्चाको लागि सप्लिमेन्ट औषधि अष्ट्रेलियामा आफन्तबाट मगाएर खाइरहेको थिएँ,’ श्वेता भन्छिन् ।

श्वेताले गर्भवती भएको सुरुवाती दिनमा बढी मात्रामा सादा खानेकुरा खाइन् । बच्चालाई पोषण पुग्ने, डिहाइड्रेसन नहुने, बच्चाको रंग गोरो हुने सोचेर उनले नरिवल पानी पनि निक्कै खाइन् । ‘श्रीमानले खाँदिन भन्दा खानैपर्छ भनेपछि जबरजस्ती गरेर भए पनि नरिवल पानी बढी नै खाएँ,’ उनी सुनाउँछिन् ।

हर्मोनल असन्तुलनका कारण गर्भावस्थाको बेला देखिने खान मन नलाग्ने, मुड स्विङ हुने,  एकैछिनमा रिसाउने, एकैछिनमा भावुक हुनेजस्ता परिवर्तनको सिकार उनी पनि भइन् । ‘म सानो कुरामा रिसाउँदा श्रीमानले पनि तिमी यस्तो त पहिला थिएनौं भन्दै सम्झाउनु हुन्थ्यो,’ उनी भन्छिन् ।

पेट बढेपछि असहज हुन्छ कि भन्ने चिन्ता

समय बित्दै गएपछि पेट बढ्दै जान्छ र त्यसबेला कसरी हिंड्ने होला ? अरुले के भन्छन् होला ? भन्ने प्रश्न मनमा आउने गरेको श्वेता सुनाउँछिन् । तर पेट बढ्दै जाँदा सबैको माया र आफ्नो शरीरमा अर्को शरीर बढ्दै छ भन्ने खुसी पनि बढ्दै गएपछि त्यो सबै दुविधा हट्दै गयो ।

‘पहिला तनाव भए पनि पछि म आमा बन्दै छु भन्ने सम्झेर र सबैले दिएको बधाई र मायाले नै रमाइलो लाग्ने रहेछ,’ श्वेता सुनाउँछिन्, ‘पेट बढ्दै गएपछि देखाई देखाई हिंड्न मनलाग्दो रहेछ । सुरुको लजाउने बानी पछि रमाउनेमा परिणत भयो ।’

प्रकृतिले नै दिनदिनै आमा बन्दा दिने खुसी जस्तो महसुस उनलाई हुँदै गयो ।

 

जब बच्चा पेटमा पहिलोपटक चल्यो

‘बच्चा सुरुमा चल्दाको अनुभव निकै रमाइलो लाग्ने रहेछ । जुन मैले पनि महुसस गरें । पहिलोपटक बच्चा पेटमा चल्दा सासूआमालाई हत्तारिंदै गएर सुनाए । पछि सबै जना पर्खिएर सुन्ने गर्नुहुन्थ्यो,’ श्वेता सुनाउँछिन् ।

तर कहिलेकाहीं भने बच्चा चलेन भनेर तनाव पनि हुन्थ्यो । तर सबैलाई यस्तो हुने थाहा पाएपछि उनी शान्त हुन्थिन् ।

 

गर्भमा हुँदै संगीत सुनाइन्

बच्चाको लागि संगीत एकदमै जरुरी हुन्छ भन्ने कुरा गर्भवती भएपछि थाहा पाएको श्वेता बताउँछिन् । ‘सात महिनापछि सुत्न उठ्न गाह्रो हुने, हातखुट्टा सुनिने आराम चाहिने हुन्थ्यो । मैले आराम गर्दा बच्चाको लागि रिल्याक्स म्युजिक युट्युबमा बजाएर सुत्थें । त्यससँगै म निदाउँथे,’ उनी भन्छिन्, ‘बच्चाले पनि त्यो संगीतले आराम पाएको होला भन्ने लाग्थ्यो । म्युजिक बजाउँदा बच्चा पेटमा चल्थ्यो त्यो अनुभूति बेग्लै हुन्छ ।’

 

त्यही समयमा बुबा आईसीयूमा

श्वेताका बुबालाई त्यही समयमा अस्पतालको आईसीयूमा भर्ना गर्नुपर्‍यो । बुबालाई सीओपीडी भएकोले डाक्टरले बचाउन नसक्ने घोषणा गरिदिए । बुबाको मायाले उनी नजिक बस्न चाहन्थिन्, तर अस्पतालको गन्धले बान्ता हुन्थ्यो । डाक्टरले मायाले मात्र कति दिन बचाउन सकिएला र भनेपछि बच्चाको सँगै बुबाको पनि तनाव उनलाई थपियो ।

‘बुबाले आफ्नो सन्तान हेर्न पाए हुन्थ्यो भन्ने थियो । भाग्यवश गर्भ आठ महिनाको हुँदा बुबा ठीक हुँदै आउनुभयो,’ श्वेता भन्छिन् ।

 

सरप्राइज’ नै रहोस् भनेर बच्चाको लिंग पहिचान गराइनन्

गर्भमा छोरी छ भन्ने कुरा बेबी सावर गराउँदा मात्र उनले थाहा पाइन् । ‘डाक्टरकहाँ फलोअप गराउँदा मैले छोरा वा छोरी के छ भनेर सोधिनँ । सरप्राइज नै होस् भन्ने सोचेकी थिएँ,’ श्वेता सुनाउँछिन्, ‘बेबी सावर गर्दा परिवारले सोधखोज गरेर छोरी छ भन्ने थाहा भयो ।’

जन्मिएपछि मात्र थाहा पाउँछु भनेर भिडियो एक्सरेमा पनि पहिला नहेरेको उनी सुनाउँछिन् । घरमा कसैको पनि छोरी नभएकाले छोरी छ भन्ने थाहा पाउँदा सबै जना खुसी भए । ‘सबैको चाहनाअनुरुप छोरी हुँदा आफूलाई साह्रै भाग्यमानी ठान्छु,’ श्वेता भन्छिन् ।

गर्भावस्थामा सन्तानका लागि उनले अष्ट्रेलियाबाट औषधि मगाइन् । ‘त्यहाँको सन्तान राम्रो हुने, स्वस्थ हुने देख्थें । परिवार पनि उतै भएकाले मैले उतैबाट औषधि मगाएँ । यो औषधि राम्रो त्यो औषधि राम्रो भन्दै बुझेर अष्ट्रेलियाबाट मगाएँ,’ उनी भन्छिन् । उनले फोलिक एसिड पनि बाहिरबाट नै मगाएर खाइन् ।

श्रीमानको सबैभन्दा ठूलो साथ

गर्भवती हुँदा र गर्भवती भएपछि सबैभन्दा ठूलो साथ श्रीमानको हुने श्वेता बताउँछिन् । गर्भवस्थामा गर्नुपर्ने हेरचाह त छँदै छ श्रीमानले नै भावनात्मक रुपमा पनि सहयोग गर्दा सहज हुने उनी सुनाउँछिन् ।

‘मेरो मुड स्विङ हुँदा उहाँले नै यो बेलामा यस्तै हुन्छ भन्दै वेबसाइटबाट पढेर सम्झाउनुभयो । मलाई खोकी लाग्दा औषधि खान्छु भन्दा पनि पर्ख है हेर्छु भन्दै त्यो औषधि ठीक छ छैन भनेर हेर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अफिस जान लान ल्याउनदेखि हरेक कुरामा माया र साथ दिनुभयो ।’

सन्तानको राम्रो स्वास्थ्यको कामना गर्दै उनका श्रीमान हरेक सोमबार व्रत समेत बस्थे । अरु आफन्त र साथीभाइले पनि त्यो समयमा आत्मीयता दर्शाउँदा गर्भावस्थाको समय निकै सहज ढंगले बितेको उनी बताउँछिन् ।

श्वेता भन्छिन्- मैले बच्चादेखि नै धेरै यस्ता केस देखेको छु जुन सम्झिंदा अहिले नै जीउ सिरिङ्ग हुन्छ । लामो प्रसव पीडापछि ज्यान नै गुमाएको महिला पनि देखेकाले पहिलादेखि नै सिजरियन नै गराउँछु भन्ने लाग्थ्यो ।

 

सेलिब्रिटी हुँ भन्ने सोच आएन      

गर्भावस्थाका कारण शारीरिक सुन्दरता परिवर्तन भइरहँदा उनलाई यसको चिन्ता लाग्न छोड्यो । सन्तानकै स्वास्थ्य महत्वपूर्ण लाग्यो ।

‘स्ट्रेस मार्क भयो भने के गर्ने, अनुहार बिग्रिएला कि भन्ने तनाव नै  भएन । त्यो समयमा म एक सेलिब्रिटी हुँ भन्ने भान नै हुँदैनथ्यो,’ श्वेता सुनाउँछिन्, ‘अनुहार सुन्निने, खुट्टा सुन्निने, विवाहको रिङ पनि पछि हात सुन्निएर काट्नुपर्‍यो ।’

बच्चाको लागि के खाँदा ठीक हुन्छ र कस्तो सप्लिमेन्ट चाहिन्छ भन्ने कुराको उनी निकै खोजी गर्थिन् । त्यसबेला एक जना मात्रै नभएर धेरै जना डाक्टरलाई यस विषयमा सोधेर चित्त बुझाउँथिन् ।

प्रसूतिको तीन दिनअघिसम्म पनि काममै

प्रसूति हुने दिन नजिकिरहेको थियो । तर पनि उनले आफ्नो काम छाडिनन् । डेलिभरी हुने तीन दिनअघिसम्म पनि उनी आफ्नो व्यवसायको बोर्ड मिटिङमा उनी व्यस्त रहिन् ।

‘मलाई गाह्रो भयो, आराम चाहिन्छ भनेर म चुप लागेर बसिनँ । काममा सक्रिय नै थिएँ,’ श्वेता सुनाउँछिन् ।

 

सिजरियनबाटै बच्चा जन्माउने योजना

श्वेताले बच्चा जन्माउन सिजरियन नै रोजेकी थिइन् । उनलाई प्रसव पीडा निकै दुखाइपूर्ण हुने र ज्यान नै जोखिममा हुन्छ भन्ने लाग्थ्यो । ‘मैले बच्चादेखि नै धेरै यस्ता केस देखेको छु जुन सम्झिंदा अहिले नै जीउ सिरिङ्ग हुन्छ,’ उनले भनिन्, ‘लामो प्रसव पीडापछि ज्यान नै गुमाएको महिला पनि देखेकाले पहिलादेखि नै सिजरियन नै गराउँछु भन्ने लाग्थ्यो ।’

आफूले बनाएको फिल्म ‘कान्छी’ पनि सोही दर्दनाक प्रसव पीडालाई आधार बनाएर बनाएको उनी सुनाउँछिन् ।

 

डाक्टरले दिएको मितिभन्दा दुई साताअघि नै डेलिभरी

कात्तिक १२ गते श्वेताको दही-चिउरा कार्यक्रम गरियो । १४ गते राति उनलाई असहज भएको जस्तो भयो, सुत्न सकिनन् । बिहान हुने बित्तिकै घरमा थाहा नै नदिई उनी र उनका श्रीमान अस्पताल गए ।

डाक्टरले ‘लेभर पेन’ सुरु भएको जस्तो छ, शल्यक्रिया गर्ने भए ढिला नगरौं भने । त्यसपछि उनीहरु घरमा सल्लाह गर्छौं र तयार भएर आउँछु भनेर घर गए । सबैको सल्लाह भइसकेपछि उनी र उनका श्रीमान आवश्यक सरसामान बोकेर ग्रान्डी अस्पताल पुगे ।

‘अस्पतालमा सबै तयारी अवस्था नै थियो । अप्रेसन सुरु गर्नुअघि घडी हेरिरहेको थिएँ । ६ मिनेटमा सिजरियन विधिबाट बच्चा निकालियो । तर पाठेघरमा दुईवटा ट्युमर पनि रहेछ, जसले गर्दा अलि ढिला भयो,’ उनी सुनाउँछिन् ।

शल्यक्रियापछि सबैभन्दा कठिन उठ्नु रहेको श्वेता बताउँछिन् । ‘केही खान दिइएको हुँदैनथ्यो । त्यो शल्यक्रियाअघिदेखि सुई दिएको दुखाइ त सामान्य हो । त्यसपछि पेटमा भ्याकुम लगाएको सबै अनुभव भयो । सबैभन्दा बढी दुखाइ त तब भयो जब सबै शल्यक्रिया सकेपछि उठ्न लगाउँदा निकै दुख्ने रहेछ,’ उनी भन्छिन्, त्यो बेला चाहिं नर्मल डेलिभरी गराएको नै ठीक हुन्थ्यो भन्ने एक मनमा लाग्यो ।’

 

छोरी जन्मिएको क्षण

‘ग्रान्ड़ी अस्पतालमा सबैको भीड थियो । डाक्टरहरु सुपरस्टार जन्मियो भन्दै हुनहुन्थ्यो । तर मलाई भने बेचैनी थियो,’ श्वेता भन्छिन्, ‘मैले एक सेकेन्डमा सबै हेरें, हातखुट्टा, ज्यान पूरै छोरी सही सलामत छ छैन भन्ने सोच आयो । अनुहार हेरें मेरो आँखाबाट आँसु बगिरह्यो । बच्चाको स्पर्श र बच्चाको हेराइले मलाई आनन्द भयो ।’

आमा हुनु भनेको प्रकृतिभन्दामाथिकै बरदान जस्तो अनुभव गरेको उनी बताउँछिन् । ‘फुर्सदमा छोरीलाई बनाइदिएको भन्दै भगवानलाई धन्यवाद दिएँ,’ श्वेता भन्छिन् ।

सन्तान आँखा अगाडि हुँदा पनि बेचैन विजयेन्द्र 

ट्युमर पनि निकालेको कारणले श्वेतालाई अप्रेसन कक्षबाट ल्याउन केही समय लागेको थियो । छोरी बाहिर ल्याइसक्दा पनि एक घण्टासम्म श्रीमती देख्न नपाउँदा श्वेताका श्रीमान विजयेन्द्र सिंह रावतलाई उकुसमुकुस भइरहेको थियो ।

‘छोरीलाई हेर्दा पनि उहाँलाई खुसी मिलिरहेको रहेनछ । मलाई किन बाहिर निकालेन, के भयो भनेर प्रश्न गर्दा जवाफ नदिंदा उहाँलाई हार्ट फेल नै होला जस्तो भयो रे,’ श्वेता सुनाउँछिन् ।

 

छोरीको नामाकरण

धर्मकर्म र पूजापाठमा आस्था राख्ने श्वेताको परिवारले शुभकार्य गर्दा हेराएर नै गर्ने गरेका छन् । विजयेन्द्रले पनि श्वेताको गर्भमा छोरी छ भन्ने थाहा भएपछि ज्योतिषलाई केबाट राख्दा शुभ हुन्छ भनेर हेराएका थिए । ज्योतिषले ‘ब’बाट नाम राख्ने सुझाव दएिपछि दम्पती छोरकिो नाम सोच्न लागे । सबैले राखिसकेको नाम उनीहरुलाई राख्न मन थिएन । उनीहरुले नाम फेला पारे, ब्रिआना ।

‘पछि उहाँले र मैले ब्रिआना नाम राख्ने निर्णय गर्‍यौं । जसको अर्थ हो उच्च, नवीन र श्रेष्ठ । स्ट्रोङ एसेन्डिङ वमन ।’

 

सन्तान भएपछि तन-मन नै त्यतै मात्र

अहिले श्वेताकी छोरी डेढ महिनाकी भइसकेकी छन् । छोरीले अलिअलि आमा चिन्न थालिसकेको श्वेता बताउँछिन् । ‘ब्रिआनाले आमा चिन्न थालिसकिन् । बच्चा भइसकेपछि आफ्नो भन्दा उसकै मात्र चिन्ता हुँदो रहेछ । सुतिरहँदा श्वास चलेको छ कि छैन भनेर हेर्न मन लाग्ने हुँदो रहेछ,’ उनी भन्छिन्, ‘बच्चा रुँदा आफैंलाई तनाव हुने, कसैले लुगा लगाइदिंदा यसरी गर्नु भनेर सिकाउन मन लाग्ने, आफ्नो बच्चाको स्याहार आफैं गर्दा मात्र चित्तबुझ्दो रहेछ । जुन पछि सहज हुँदै गयो ।’

श्वेताको ट्युमर र सिजरियन गराउँदा ठूलो घाउ भएकाले जन्मिने बित्तिकै स्तनपान गराउन मिलेन । ‘मैले पहिला स्तनपान गराउन सकिनँ । पछि राम्रोसँग आएन पनि । पछि खुवाइदिंदा राम्ररी खान मानिन,’ उनी भन्छिन् ।

बच्चालाई पुग्नेजति दूध नआएकाले उनले डाक्टरको सल्लाहमा फर्मूला दूध खुवाइरहेकी छन् ।

 

अब छोरीलाई धेरैभन्दा धेरै समय

श्वेता अहिले आफ्नो बच्चा हेरेपछि सबै तनाव भुलेको महसुस गर्छिन् । ‘अहिलेको सबै समय उनलाई दिनुपर्छ भन्ने लाग्छ । पछि धेरै व्यस्त भइन्छ, अहिले त एकछिन पनि छाड्न मन लाग्दैन,’ श्वेताको अबको योजना सुनाउँछिन्, ‘मेरो काखमा आउँदा रमाउने, आनन्दले निदाउने देख्दा मनमा एउटा शान्ति मिल्दो रहेछ । उसले नाटक गरेर रोएको, खुसी हुँदा लाडिएको, पीडा हुँदा रोएको सबै खालको भावना बुझ्दो रहेछु । यो आभास  छुट्टै छ । शब्दमा बयान गर्न नसकिने अनुभव हो यो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *