अर्थसमाचार

बुद्ध एयरका मालिक बस्नेतले ५० करोडमा खोलेको धान मिल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतले मोरङको बेलबारीमा ५० करोड लगानीमा धानमिल सुरू गरेका छन्।

छोरी आरजु बस्नेतको नाममा खोलिएको ‘आरजु राइस मिल’ ले किसानलाई धानको उचित मूल्य दिने उनको दाबी छ।

भारतबाट सस्तोमा चामल आयात हुँदा नेपाली किसान मर्कामा परेको भन्दै सञ्चालक बस्नेतले चामलको आत्मनिर्भरताका लागि समयसापेक्ष प्रविधिको मिल सञ्चालन गरेको बताए।

‘हामी नेपाली किसानको मात्र धान किन्छौ, नत्र मिल चलाउँदैनौं,’ बस्नेतले भने, ‘निर्वाहमुखी कृषिलाई औधोगिकरण गर्न यो हाम्रो २० वर्षको योजना हो।’

बस्नेतले धानखेती सुधारको लागि रोप्ने मेसिन ल्याउने, विकासे धानको बिउ किसानलाई दिने तथा सहकारीबाट कम मूल्यमा कृषि उपज दिने जस्ता काम गरेको बताए।

‘नेपालमा कृषि क्षेत्रको समस्याको चुरो किसानले धानको सही मूल्य नपाउनु रहेछ। यो देखेपछि धानमिल खोल्ने निर्णय गरेँ’, बस्नेतले भने, ‘नेपालको कृषिलाई औधोगिकरण गर्न पनि किसानले धानको उचित मूल्य पाउनुपर्छ।’

नेपालकै सफल उड्डयन व्यवसायी बस्नेतले धान मिलमा धान कुट्ने र बेच्ने मात्र होइन नेपालमै पहिलोपटक कृषकबाट प्रत्यक्ष धान किन्ने र तुरून्त पैसा दिने बताए। किसानबाट किनेको धान तुरून्त सुकाउन स्वचालित यन्त्रहरूबाट सुकाई भण्डार र व्यवस्थापन गर्ने, सफा गर्ने प्रविधि समेत नयाँ मिलमा छ।

आरजु मिलमा अहिले अगनी धान (मंसिर, पुसमा दाउनी हुने धान) १४ हजार टन र चैते वा भदौरे धान ८ हजार टन भण्डारण गर्ने क्षमता रहेको छ।

अघनी धानको आवश्यकता करिब १४ हजार टन हो जुन करिब थप १५०० बिगाहा हो। मिललाई आवश्यक पर्ने धान उब्जनीका लागि वार्षिक ३५०० बिगाहा पर्न आउँछ। २२ हजार टन धान भनेको १४ हजार टन चामल र २ हजार टन कनिका हो।

यही महिनादेखि उत्पादन सुरु गर्ने तयारी रहेको राइस मिलमा अहिले धान थुप्रिएको छ। यो धानमिल अत्याधुनिक र अटोमेटिक मेसिनबाट सन्चालन हुनेछ।

मिलबाट उत्पादन भएको चामल सीधै उपभोक्तालाई बेच्न देशभरका मुख्य शहरमा वितरण केन्द्र खुल्ने भएका छन्। प्रबन्ध निर्देशक बस्नेतका अनुसार विद्युतीय भुक्तानी लिएर घरमै चामल डेलिभरी गर्ने प्रणाली पनि अपनाइने बताए।

आरजु राइस मिलले तदारूकताका साथ कार्यहरू गरिरहेको छ। २०७९–८० सालसम्ममा पूर्ण रूपले स्थापित भइसकेपछि आगामी ५ वर्षभित्र आत्मनिर्भरको बाटोमा राष्ट्रलाई डोर्‍याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बस्नेतले दाबी गरे।

धानको उत्पादकत्व बढाएर नेपाल धानमा आत्मनिर्भर हुने, भोकमरी हुन नदिने, धान–चामल निर्यात गर्ने र देशको आर्थिक वृद्धिदर बढाउने एउटा प्रमुख माध्यम धान नै हो। अब कर्मकाण्डी सोचाइलाई त्याग्न जरूरी छ। खेतीकिसानीका लागि सबैको सद्भाव र सहयोग अनिवार्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *