राजनीतिराष्ट्रिय समाचार

राष्ट्रपति बन्न कसरत

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।

कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी पेस गरेका धेरैजसो नेताले विकल्पमा राष्ट्रपति बन्ने चाहना राखेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । नेताहरूका अनुसार आन्तरिक ‘पावर सेयरिङ’ गर्दा आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्रीका आकांक्षीमध्ये देउवा र थापाबाहेक अन्य नेता शीतलनिवास प्रवेशका लागि सम्झौता गर्न तयार देखिनुहुन्छ ।’

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने देउवाको योजना छ । प्रधानमन्त्री देउवा सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको स्रोतले जनाएको छ ।

माओवादीमा पनि राष्ट्रपतिका आकांक्षी धेरै छन् । माओवादीले राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने इच्छा उपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखद्वय अग्नि सापकोटा र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पेस गरेको स्रोतको भनाइ छ । दाहालले भने जस्तोसुकै संसदीय अंकगणित भए पनि माओवादीकै नेतृत्वमा सरकार गठनलाई प्राथमिकता दिएका छन् । विकल्प खोज्नुपरे पात्रमाथि छलफल गरिने उनको भनाइ छ । नेपालको राजनीतिमा अझै माओवादीसहित परिवर्तनकारी शक्तिको भूमिका निर्णायक रहेको भन्दै दाहालले सत्ता साझेदारीमा लिने सम्भावित अडानबारे पनि संकेत गरेका छन् । स्रोतका अनुसार आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकामा दाहाल बाबुराम भट्टराईप्रति नरम छन् । तर माओवादीको कोटामा राष्ट्रपति आए ‘तपाईं नै हो’ भनेर आश्वस्त पारेका छैनन् ।

प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापना र एमसीसीलगायतका राष्ट्रिय सरोकारका मुद्दामा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै दाहाल पूर्वसभामुख सापकोटाप्रति पनि उदार छन् । दाहाल र सापकोटाबीच सम्भावित राजनीतिक समीकरण र भूमिकाबारे लगातार संवाद भइरहेको छ । केही दिन अगाडि सिन्धुपाल्चोकको सुकुटेमा दाहाल र सापकोटा सँगै थिए । अर्कातर्फ दुई पटक उपराष्ट्रपति भएको र माओवादीबाट राष्ट्रपति बन्ने अवसर आए आफू स्वाभाविक दाबेदार रहने पुनको भनाइ छ । पदमै रहेकाले उनको देखिने दौडधुप छैन तर पार्टी नेतामार्फत सन्देश दाहालकहाँ पुर्‍याएका छन् । यसबाहेक आफूलाई ‘अन्यायपूर्ण’ तरिकाले हटाइएको, चुनावमा टिकट नदिइएको र समानुपातिकमा पनि नराखिएको भन्दै महराले पनि राष्ट्रपतिमा आकांक्षा देखाएका छन् । ‘महराजी पनि दौडमै देख्छु,’ माओवादीका एक पदाधिकारीले भने ।

सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपतिका लागि चर्चामा छन् । नेपाल आफैंले यस्तो दाबी नगरे पनि सबैको स्वीकार्यताका लागि एउटा विकल्पमा आफूलाई अगाडि सारेको गठबन्धनका एक शीर्ष नेताले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्‍याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टी राजनीतिमा सीमित पूर्वप्रधानमन्त्री खनालले पनि राष्ट्रपतिको इच्छा व्यक्त गरेका छन् ।

स्रोतका अनुसार कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँटमा तनाव हुँदा मध्यमार्गी विकल्पमा नेपाल वा खनाल राष्ट्रपति हुन सक्ने एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ । ‘एकीकृत समाजवादीले पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेको छैन । तर, पाँच वर्षको अवधिमा केही न केही स्थान चाहियो भन्ने कुरा छ । त्यो स्वाभाविक पनि हो,’ एक नेताले भने । उनले प्रधानमन्त्री जस्तै भावी राष्ट्रपतिलाई लिएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चासो र दबाब मुखरित हुन थालेको बताए ।

स्रोतका अनुसार शीर्ष नेतासँगको भेटमा अमेरिकी र भारतीय राजदूतले शक्ति बाँडफाँटमा राष्ट्रपति कांग्रेसले राख्दा काम गर्न सजिलो हुने सुझाव दिएका छन् । विकल्पका रूपमा उनीहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई समेत लिने गरेको राजनीतिक स्रोत बताउँछ । नेताहरूका अनुसार अबको सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ ।

त्यसैले राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेकै छन् । आकांक्षीमध्ये धेरैजसो नेता आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेकाले यस पटक सकेसम्म उच्च संवैधानिक पद प्राप्तिका लागि अन्तिमसम्म प्रयास गर्ने तयारीमा देखिन्छन् । ‘अहिलेको परिस्थितिमा एउटै पार्टीलाई पाँचै वर्ष नेतृत्व दिने कुरा सम्भव नहोला, त्यसकारण दलहरूबीच समझदारी बनाएर जानुपर्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘जिम्मेवारी बाँडफाँटबारे औपचारिक छलफल सुरु भएको छैन । प्रधानमन्त्रीको टुंगो लागेपछि मात्रै अरू विषय टुंगो लाग्छ ।’ माओवादी उपमहासचिव शक्ति बस्नेतले गठबन्धनमा भएका दलका आ–आफ्ना दाबी रहे पनि त्यसबारे गम्भीर छलफल नभएको बताए ।

कांग्रेस नेतृत्वको गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग निश्चित छ तर गठबन्धनको आकार प्रस्ट भइसकेको छैन । पाँचदलीय चुनावी गठबन्धनको बहुमत नभएकाले अन्य दललाई पनि समेट्ने कोसिस चलिरहेको छ । ‘दुई जना स्वतन्त्र मिलाउँदा गठबन्धनको बहुमत पुगेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउन खोजिरहेका छन् । त्यसकारण पावर सेयरिङका विषयमा औपचारिक रूपमा छलफल भएको छैन,’ गठबन्धनका एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *