कला-साहित्य

आई प्रमिस, म तिमीबिना बाँच्नै सक्दिनँ!

Advertisements
MAHABAI RURAL MUNICIPALITY

अब म पनि विदेशिँदै छु! विदेशिएर मलाई रहर पूरा गर्नु छैन, बाध्यता पूरा गर्नु छैन; तर सधैं निराश र औचित्यहीन भएर मलाई यहाँ बस्नु पनि छैन…

***

‘आई प्रमिस, म तिमीबिना बाँच्नै सक्दिनँ!’, ऊ पिलपिल देखिन्थी।

म पनि त बाँच्नै सक्थिनँ नि ऊबिना!

म नजिक गएर उसलाई अँगालो हाल्थेँ। मैले छुनेबित्तिकै कस्तो लत्र्याक-लुत्रुक पर्थी ऊ! अहिलेको जस्तो खुला जमाना थिएन त्यो। सबैसँग लुकेर एकान्तमा भेट्नुपर्थ्यो; सबै कुरा भनेरै नभ्याइने, चिठीपत्र लेख्नुपर्थ्यो!!

प्रत्येक भेटमा उसले दिने गर्थी एउटा खाम – घर गएर सुत्न अगाडि मात्र पढ है। नत्र मार्दिन्छु।

Esewanic
म त उसको लागी मर्न तयार रहेको मान्छे। घर पुग्नु अगाडि नै कुनै एकान्त ठाउँ खोजेर खोल्थेँ उसको खाम, खामभित्र हुन्थ्यो एउटा गुलाब, अनि सँगै हुन्थ्यो एउटा लामो पत्र – ‘…यो गुलाब तिमीलाई दिन आफैंले गमलामा उमारेकी…’। अनि मैले पनि हुर्काएको थिएँ प्रेमको एउटा कोपिला।

बेलुका घरका सबै सुतेपछि आफ्नो कोठाको टुकीमा सुरू हुन्थ्यो मेरो प्रतिउत्तर – ‘…तिम्रो चिठी पढिरहँदा एकछिन भए पनि तिम्रो नियास्रो मेटिन्छ, अनि यो गुलाबमा पनि तिम्रै सुगन्ध भेटिन्छ…’, – भो यहाँ बताउँदिनँ सबैकुरा। त्योबेलाका आफ्ना शब्द र सायरी हेर्दा आज आफैंलाई लाज लागेको छ।

अर्को भेटमा फेरि अर्को चिठी दिन्थी ऊ – ‘… म त तिमीबिना मरे बाँच्दिनँ! घरकाले मानेनन् भने भाग्नुपर्छ है?…’

अनि त्यस्तो परिस्थिति सम्झिँदामात्र पनि कुडिण्थ्यो मेरो मन।

बा’ले दाह्री फाल्न ल्याएको एउटा ब्लेड झिक्थेँ मैले र काट्थें दाहिने हातको थोरै चोर औंला। रगत निचोरेर लेख्थेँ हाम्रा नाम र रगतले नै एउटा पानको पात बनाएर घेर्थें ती नामलाई।

लाग्थ्यो रगतले लेखेका नाम कहिल्यै छुटिँदैनन्। एक्लै हुँदा बात मार्न भनेर उसले आफ्ना फोटाहरू पनि राखिदिएकी थिई त्यो खामभित्र। बुढीऔंला काटेर रगतले उसका फोटोमा सिन्दुर पनि हालेको थिएँ मैले र त्यो रात झम्के-बिहानीसम्मै बात मारेका थियौं हामीले।

तर भर्खर किशोरअवस्थामा प्रवेश गर्न थालेका हामी घर-समाजमा बिहे गर्ने उमेर नै भएको थिएन। केबल प्रेममा डुबेरै झण्डै एक दशक बितायौं हामीले।

कहिलेकाहीँ पढाइको सिलसिलामा घरदेखि टाढा जानुपर्दा पनि कहिल्यै चिसो पसेन हाम्रो मनमा। जब भेटिन्थ्यौं, कुकुरले मालिकलाई झम्टेजस्तै एकअर्कालाई झम्टिन्थ्यौं।

…अब चिठीपत्र पनि रगतले लेख्नुपरेन। फेसबुक र म्यासेन्जरमै राता, हरिया, पहेँला पानका पात पठायौं। उसले फोटै पनि पठाउनुपरेन, भिडिओ कलमा एकअर्कालाई हेरेर सँगै सुतेको कल्पनामा निदायौं र देख्यौं एउटा सपना – ‘एउटा सानो घरभित्र खेल्नेछन् हाम्रा एउटा छोरा र एउटी छोरी…’

पढाइ, समय, सपना, देश, जागिर र परिस्थितिलाई सँगै मिसाएर उसले विदेश जाने कुरा गरी – ‘सँगै प्रोसेस गरम। उता गएपछि उतै बिहे गर्ने। त्यसो गरेपछि घरमा पनि खासै अप्ठेरो हुँदैन।’

हामी दुबैले अष्ट्रेलियाको सपना देख्यौं, तर दु:खद संयोग उसको मात्र भिसा लाग्यो। त्यो दिन आफ्नो भिसा लागेकोमा ऊ कत्ति खुसी भइन। रोएरै बिताई एउटा सिंगै रात! निकै सम्झाउन खोजें मैले – ऊ गएर मलाई बोलाए भैहाल्यो नि, होइन र?

उसले त्यहाँ गएर काम र पढाइ भन्दै गरेको दु:ख देख्दा लाग्थ्यो कि मैले संसारका सबै खुसी दिन्छु भन्ने वाचामात्र गरेँ। म उसँगै भएको भए त पक्का हामी निकै खुसी हुन्थ्यौं हुँला अनि कसिलो अंगालोमा बेरिएर फेरि सपनाका कुरा बुन्थ्यौं हुँला। तर यो लामो दूरीमा बिचरी काम र पढाइको बाध्यताले धित मरुन्जेल गफ गर्न पनि पाउँदिनथी। ऊ धेरै व्यस्त हुँदै गई, कुराकानीहरू थोरै पातला भए।

यस्तैमा एकदिन उसको म्यासेज आयो – ‘प्रकाश!’ – मलाई म्यासेन्जरमा बोलाउँदा सधैं ‘बाबु’ भनेर बोलाउने बानी परेकी उसले मेरो नाम लिएर बोलाउँदा मलाई अचम्म लाग्यो।

‘हजुर नानु!’

‘मैले संसारमा तिमीजस्तो बुझ्न सक्ने मान्छे कहिल्यै भेटेकी छैन!’

‘तिमी नभएको भए म यस्तो हुने थिइनँ। म जे छु, जस्तो छु तिमीले नै त बनाएकी हौ नि, होइन र?’

‘सुन न! खै किन हो किन मलाई आजकल यो माया-प्रेम भन्ने कुरामा केही फिलिङ्स नै आउँदैन।’

‘मतलब?’

‘मजस्तीसँग तिमीले कसरी जीवन बिताउँछौ जस्तो लागेर आउँछ। यु डिजर्भ बेटर! ’

‘के भन्या?’

‘के भन्या?’

‘के भन्या?’

त्यसपछिका संवादहरूमा ‘के भन्या?’ मैले बुझ्नै सकिनँ।

मेरो कथा पढिरहनुभएको छ भने सोच्नुभएको होला के अधुरो कुरा गर्या। दश वर्षअगाडि चिठी लेख्ने जमानादेखिको त्यस्तो प्रेम यसरी दुई चार लाइनमा ‘फिस्स’ सकिन्छ?

हो, म आफैं अचम्मित छु ती बाचा र ती कसम सम्झेर। ती बयरघारीमा च्यातिएका सल र अंगालोमा बिताएका पल सम्झेर! समय एक चुट्कीमै शून्य भैदियो!

अन्तिम पटकको कुराकानीमा ऊ नेपाल आउन नमिल्ने, नेपालबाट कसैलाई बोलाउन नसक्ने र केटीको उमेरले नेटो काटेपछि अप्ठेरो हुने भएकाले उस्तैपरे अष्ट्रेलियामै बिहे गर्न चाहेको जनाएकी थिई सलिनाले।

अन्तिममा ‘यू डिजर्भ बेटर एण्ड आई सुड नट किप ए गुड म्यान लाइक यु ह्यांगिङ!’ लेख्न पनि उसले कहिल्यै छुटाइन। मकैबारीका र गाई चराउँदाका काठे सायरी लेख्ने ऊ कति छिट्टै अंग्रेजी जान्ने भई! आजकल त उसको फेसबुक पनि‘डियाक्टिभ’ छ!

तर, फेसबुक हराउँदैमा सम्बन्ध नहराउँदा रहेछन्। फेसबुकका ‘मेमोरी’ मेटाउँदैमा मानसपटलमा गडेका यादहरू पनि मेटिँदा रहेनछन्।

तिमीलाई साँच्चिकै याद छैन र नानु-सँगै काठमाडौं जाँदा असनको भिडभाडमा समाएका हातहरू र तिमी अष्ट्रेलिया जानेबेला सुन्धाराको लजमा ननिदाई रातभर अंगालोमा रोएर बिताएका साथहरू? आज लाग्दैछ मलाई देख्दा साथी-भाइले मात्र होइन, यहाँका प्रत्येक ढुंगा, माटो र चराचुरुङ्गीले पनि प्रश्न गरिरहेका छन् – ‘नानु खोई? …साँच्ची तिमीहरूको बीचमा के भएको?’

तर जवाफ दिन मसँग केही छैन। सायद कहिल्यै नसोचेको घटना भयो– तिमीबिना बाँच्नै सक्दिनँ भन्नेलाई मबिनाकै जिन्दगी गज्जबको लाग्न थाल्यो!

***

…अब त यो परिवेशमा बस्दा पनि विधुर बनेर बसेजस्तै लागिरहेको छ मलाई। त्यसैले म पनि विदेशिँदै छु! विदेशिएर मलाई रहर पूरा गर्नु छैन, बाध्यता पूरा गर्नु छैन। तर सधैं निराश र औचित्यहीन भएर मलाई यहाँ बस्नु पनि छैन। मैले जेलाई आफ्नो संसार मानेको थिएँ ऊ नै अब मसँग छैन। आफैं रित्तिएपछि गुमाउनलाई यहाँ केही बाँकी पनि नहुँदो रहेछ। त्यसैले म जाँदैछु एउटा फरक देश, एउटा नितान्त फरक परिवेश। एउटा यस्तो एकान्त, जहाँ मेरो मनलाई बाहेक कसैलाई मबारे थाहा नहोस्।

मसँग अब सम्पत्तिको नाउँमा छ जतनसाथ चाबी लगाएको एउटा पुरानो बाकस। बाकसभित्र उसले लेखेका प्रत्येक ‘आई लभ यू’ लाई मेरो रगतले पानको पात बनाएर घेरेका एक सय पन्ध्र वटा चिठीहरू छन्। अनि त्यही बक्सामै छ हामीले पहिलोपटक जुठो खाएको चकलेटको खोल पनि– हाम्रो सानो घरको बैठकमा फ्रेमभित्र हालेर सम्झनाको रूपमा सजाउन राखेको मैले! कस्तो अचम्म है प्रेमको अस्तिस्व, कसैको झुत्रो रुमालदेखि सिरबाट झरेको रौंसम्म पनि यति प्यारो हुनसक्दो रहेछ मानिसलाई!

तर अब कहाँ छाडेर जाऊँ ती सयौं चिठीहरू र सिउँदो रंगाएका फोटोहरू?

ठिकै छ…; भर्नेछु पुराना यादहरूले र बोक्नेछु एउटा नयाँ सुटकेस। नमरून्जेल हजारौंपटक पढ्नेछु उसका प्रत्येक चिठीहरू! उसले पो सायद बिर्सन सकी एउटा अतित, म त न अतित बिर्सन सक्छु न त उसले देखाएका अधुरा सपना!

तर, कसैकसैलाई बिर्सदाको फिक्कापन भन्दा त सम्झँदा चह्र्याउने मन नै निकै मिठो!

ननिदाइकन आवाज सिरानीमा दबाएर कसैलाई सम्झिँदै मनदेखि रूँदा साँच्चि कस्तो मजा आउँदो रहेछ।

अनुभव छ कसैलाई? राति एक्लै सुतेर पराइलाई सम्झिँदै सिरानी भिजाउँदा कस्तो मिठोसँग दुख्दो रहेछ यो मुटु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *