अन्तर्राष्ट्रिय समाचारविज्ञानस्वास्थ्य

नयाँ उपचार विधिले हट्यो ‘निको नहुने क्यान्सर

Advertisements
MAHABAI RURAL MUNICIPALITY

लन्डन — एउटा नयाँ प्रकारको उपचार विधिले एक किशोरीको निको नहुने भनिएको रक्त क्यान्सर शरीरबाट हटेको छ । ल्युकेमियापीडित बेलायतको लेस्टरकी १३ वर्षीया अलिसालाई निको पार्न यसअघि प्रयोग गरिएका अन्य सबै उपचारहरू असफल भएका थिए ।

उनका लागि लन्डनस्थित ग्रेट ओर्मन्ड स्ट्रिट अस्पतालका चिकित्सकहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस एडिटिङ’ विधि प्रयोग गरी नयाँ औषधि बनाएका बीबीसीले उल्लेख गरेको छ । उक्त औषधि प्रयोग गरेको ६ महिनापछि अलिसाको शरीरमा क्यान्सर नभेटिएको र उनी थप निगरानीमा रहेकी चिकित्सकहरूले जनाएका छन् । अलिसामा गत वर्षको मेमा टी–सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया पत्ता लागेको थियो । मानव शरीरमा हानि पुर्‍याउन खोज्ने तत्त्व खोजेर नष्ट गर्ने टी–सेलहरू मानव शरीरको रक्षक मानिन्छन् । तर अलिसाको शरीरमा नियन्त्रण नै नहुने गरी वृद्धि भइरहेका टी–सेलहरू नै उनका लागि खतरा बनेका थिए । चिकित्सकहरूका अनुसार परीक्षणका क्रममा उनको क्यान्सर निकै घातक खालको रहेको पुष्टि भएको थियो । किमोथेरापी र त्यसपछि बोनम्यारो प्रत्यारोपण गरिएको भए पनि उनको शरीर क्यान्सरमुक्त भने हुन सकेको थिएन । परीक्षणका लागि तयार गरिएको औषधिको प्रयोगबाहेक अलिसालाई निको बनाउन अन्य कुनै विकल्प बाँकी थिएनन् ।

‘अन्ततः म मर्ने थिएँ,’ अलिसाले बीबीसीसँग भनिन् । गत वर्षको क्रिसमस नै छोरीसँग मनाउने अन्तिम सोचेको उनकी आमा किवोनाले बताइन् । त्यसलगत्तैको छोरीको १३ औं जन्मदिनमा आफू रोएको किवोनाले बताइन् । तर त्यसपछि आनुवंशिक क्षेत्रको अविश्वसनीय प्रगतिद्वारा जे सम्भव भयो त्यो केही वर्ष अघिसम्म अकल्पनीय नै थियो । ग्रेट ओर्मन्ड स्ट्रिट बाल अस्पतालको टोलीले ६ वर्षअघि मात्र आविष्कार गरेको ‘बेस एडिटिङ’ प्रविधिले नै यो सम्भव भएको हो । बेस (आधार) मानव जीवनका आधारभूत तत्त्वहरू हुन् । एडिनिन (ए), साइटोसिन (सी), गुआनिन (जी) र थाइमाइन (टी) गरी चार प्रकारका बेसहरू हाम्रो आनुवंशिक कोड निर्माण गर्ने ब्लक हुन् । जसरी वर्णमालाका अक्षरबाट अर्थपूर्ण शब्दहरू निर्माण हुन्छ, त्यसरी नै मानव शरीरको डीएनएमा रहेका अर्बौं बेसले निर्देशन पुस्तिका वर्णविन्यास निर्धारण गर्ने गर्छन् ।

 

बेस एडिटिङमार्फत वैज्ञानिकलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गरी अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ । चिकित्सक तथा वैज्ञानिक सम्मिलित एक टोलीले यो उपकरणलाई नयाँ प्रकारको टी–सेल बनाई अलिसाको क्यान्सरग्रस्त टी–सेललाई सिकार गर्न र मार्नका लागि प्रयोग गर्‍यो । टोलीले सुरुमा दाताले दिएका स्वस्थ टी–सेलको प्रयोग गरे र त्यस्ता सेललाई परिमार्जन गर्नका लागि आधार तयार पारे । पहिलो बेस एडिटिङले टी–सेललाई लक्षित गर्ने संयन्त्रलाई असक्षम बनाइदिएपछि अलिसाको शरीरमा आक्रमण गर्न सकेनन् । दोस्रो बेस एडिटिङले टी–सेलहरूमा हुने रासायनिक चिह्न ‘सीडी–७’ हटाइदियो । तेस्रो बेस एडिटिङले भने किमोथेरापीबाट सेललाई मर्नबाट बचाएको थियो ।

आनुवंशिक परिमार्जनको अन्तिम चरणले ‘सीडी–७’ चिह्न लगाइएका जुनसुकै कुराको खोजी गर्न र उनको शरीरका क्यान्सर भएकासहित प्रत्येक टी–सेललाई नष्ट गर्न निर्देशन दियो । शरीरका क्यान्सरयुक्त टी–सेललाई नष्ट गरेपछि अलिसालाई नै असर गर्न नदिन भने उक्त चिह्नलाई थेरापीबाट हटाइयो । अब थेरापीले काम गरेको खण्डमा अलिसाको प्रतिरक्षा प्रणाली नयाँ टी–सेलसहित दोस्रो बोनम्यारो प्रत्यारोपणसँगै पुनर्निर्माण हुनेछ । यो उपचार विधिबारे चिकित्सकहरूले बुझाएपछि अलिसाकी आमाले ‘तपाईंहरूले यो सक्नुहुन्छ ?’ भन्ने सोचिन् ।

‘यो प्रविधिबाट उपचार गर्ने अलिसा पहिलो बिरामी हुन्,’ यूसीएल र ग्रेट ओर्मन्ड स्ट्रिटका प्राध्यापक वासिम कसिमले भने । विज्ञानको क्षेत्रमा आनुवंशिक हेरफेर द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ । यसको माध्यमबाट क्यान्सर मात्र नभई अन्य धेरै रोगहरूको उपचार व्यापक सम्भावना रहेको कसिमले बताए । संक्रमण देखिएको एक महिनापछि अलिसा शिथिल बन्दै गएकी थिइन् । प्रतिरक्षा प्रणाली वृद्धि बोनम्यारो प्रत्यारोपण गरेपछि उनले १६ साता अस्पतालमा बिताइन् । तीन महिनापछिको परीक्षणमा उनमा फेरि क्यान्सरको लक्षण देखिएपछि चिन्ता बढेको थियो । तर हालै गरिएका दुई वटा अनुसन्धानबाट उनको शरीरमा क्यान्सर नभएको स्पष्ट भएको छ । ‘म अहिले यहाँ छु र म निकै आभारी छु,’ उनले बीबीसीसँग भनेकी छन्, ‘यो अचम्मको कुरा हो । मैले यो अवसर पाएँ । यसका लागि म धेरै आभारी छु र यसले आगामी दिनमा अन्य बालबालिकालाई पनि सहयोग पुग्नेछ ।’ अलिसाको परिवारले अब उनमा कहिल्यै क्यान्सर नफर्कने आशा गरेको छ । हाल परीक्षणकै क्रममा रहेको विधिबाट औषधि दिइएका १० जनामध्ये अलिसा पहिलो हुन् । यस विधिबाट वर्षमा कम्तीमा एक दर्जन मानिसहरू लाभान्वित हुने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *