अर्थ

ढोरपाटनको प्रचारका लागि ‘मिडिया मिसन’   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 बलेवा, २१ असार (रासस) ः

पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो । 

पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “पर्यटकीय क्षेत्रको प्रचार र सञ्चारमाध्यमको सबलीकरण दुवै लक्ष्य राखेका छौँ”, नेपाली भन्नुहुन्छ, “हाम्रो विकासको आधार कृषि र पर्यटन नै हो ।” नगरभित्रका पर्यटकीयस्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमसँग आवश्यक सहकार्य गरिने उहाँले बताउनुभयो । नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले वृत्तचित्र तयार गर्ने योजना बनाएको छ । 

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय सङ्घसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ । नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये महत्वपूर्ण गन्तव्य रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रम कार्यान्वयनमा ल्याइने नेपालीले बताउनुभयो । 

यस्तै कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिने नीति नगरले बनाएको छ । सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका मेलाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास नगरको छ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपूर्णस्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदलमार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ । 

ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवं आयआर्जनसँग जोड्न विभिन्न वडामा सञ्चालित घरबास (होमस्टे) लाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने भनिएको छ । ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं ४ स्थित रिखुवा, महखोला झरनालगायतका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ । नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थानमा पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिने नगरले जनाएको छ । 

  
–––

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *