राष्ट्रिय समाचारसमाचार

मेलम्चीलाई काभ्रेलीको सहयोग   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काभ्रेपलाञ्चोक, असार (रासस) :

गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन् ।

पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप रु १० लाख आर्थिक सहयोग गरेको छ । बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई रु १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “छिमेकी जिल्लामा दुःखद् घटना हुँदा नगरको सहयोगले मेलम्चीमा केही राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो । “मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ, त्यसैले सहयोग ग¥यौँ”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो ।

मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पु¥याएको थियो । पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ भने मेलम्ची बजारका दर्जनाँै घर डुबानका परेका छन् । दर्जनभन्दा बढी मानिस हराइरहेको जनाइएको छ । स्थानीय सार्वजनिक संस्था क्षतविक्षत भएका छन् ।

टोखाले २० लाख सहयोग गर्ने

काठमाडौँ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले यही असार २ गते राति गएको बाढी तथा पहिराबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिराले पु¥याएको क्षति तथा उद्धारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको राससलाई जानकारी दिनुभयो । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ”, उहाँले भन्नुभयो ।

टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ । बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *