अर्थराष्ट्रिय समाचारसमाचार

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कावासोती, जेठ (रासस) :

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताउनुभयो ।

कोरोना कहरकै बीच जिल्लामा यो सङ्ख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उहाँले बताउनुभयो ।

कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको सङ्ख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदासमेत यसतर्फको आकर्षण बढेको उहाँले बताउनुभयो । “राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसैले यसतर्फ नागरिकको आकर्षण बढदै गएको छ ।

कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पका रूपमा आफैँले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उहाँले बताउनुभयो । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ धेरैजसो यसतर्फ आकर्षित हुन थालेका छन् । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्नसमेत सहज हुँदा यस क्षेत्रमा लगानी बढेको प्रमुख सुवेदीले बताउनुभयो । “कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन्”, कार्यालय प्रमुख सुवेदीले भन्नुभयो ।

चालु आर्थिक वर्षको १० महिनामा ५१६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा ६९२ व्यवसाय नवीकरण भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । निधेषाज्ञाका कारण अहिले नयाँ उद्योग तथा व्यवसाय दर्ता नभएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । अवस्था सामान्य भएको भए नयाँ उद्योग तथा व्यवसाय थप हुने सङ्ख्या अझै बढ्नेमा निषेधाज्ञाका कारण पछिल्ला केही महिनामा दर्तामा कमी आएको उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल रु एक करोड १९ लाख ५२ हजार २७० राजश्व सङ्कलन गरेको छ । उद्योग तर्फबाट रु ६६ लाख ३५ हजार ९७५ र वाणिज्यतर्फ रु ५३ लाख १६ हजार २९५ राजश्व सङ्कलन भएको हो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *