कोरोना भाइरसको टाइमलाइन र उपचार विधि

डा. म्याथ्यु वर्गिस

यस्तो अवस्थामा सबैले अस्पतालमा ठाउँ पाउनु सहज छैन । तर, कोरोना संक्रमणको विभिन्न चरण र त्यसको उपचारविधि थाहा नपाउँदा घरमै उपचार गरी निको हुनसक्ने बिरामी पनि जोखिमपूर्ण अवस्थामा पुगेका छन् 

कोरोना संक्रमणको टाइमलाइन कस्तो हुन्छ, उपचारका लागि कुन दिन के गर्नुपर्छ, कस्तो औषधि कुन बेला प्रयोग गर्ने आदि विषयमा भारतको नयाँदिल्लीस्थित सेन्ट स्टेफेन अस्पतालका वरिष्ठ चिकित्सक म्याथ्यु वर्गिसले निकै सरल भाषामा बताएका छन् ।

प्रस्तुत छ वर्गीसको युट्युबमा अपलोड गरेको झण्डै २० मिनेट लामो यो भिडियो  नेपालका कोरोना संक्रमित, उनीहरूका परिवार र चिकित्सकका लागी उपयोगी हुने ठानेर नेपालीमा अनुवाद  गरी प्रकाशित गरेका छौ।

कोरोना भाइरसको टाइमलाइन

विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरू भएको साढे एक वर्ष भइसकेको छ । जति त्रास शुरुमा थियो, त्यो अहिले पनि कम भएको छैन । तर कोरोनाबारे आजको दिनमा हाम्रो बुझाइ राम्रो छ । हामीले कोरोनाभाइरस के हो ? संक्रमणका कारण मानव शरीरमा के कस्तो जटिलता उत्पन्न हुनसक्छ ? कुन बेला के गर्नुपर्छ ? जस्ता विषयमा हामी जानकार छौं ।

तर, यो हामीलाई थाहा हुँदैन कि कुन बिरामीको स्वास्थ्य बिग्रिएर भेन्टिलेटरमा जान्छ ? को जाँदैन ? यो पत्ता लगाउने कुनै उपाय पनि छैन । त्यसैले हामीले कोरोना संक्रमण भएपछि के हुन्छ भन्ने जान्न जरूरी छ ।

श्वासको माध्यमबाट भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । त्यो हाम्रो कोषिकाभित्र जान्छ, अनि कोषिकाकै अंश बन्छ । यो बेलामा औषधिले पनि काम गर्दैन, किनकि भाइरसलाई होेइन, कोषिकालाई मार्नुपर्छ । कोषिकालाई मार्नु भनेको घर जलाएर आगो ताप्नु जस्तै हो । त्यसैले कोरोनाभाइरसको हामीसँग कुनै औषधि छैन ।

भाइरस एक पटक शरीरमा प्रवेश गरेपछि दुई/चार/आठ गर्दै छोटो समयमा लाखौं भाइरस बनाउँछ । एक वा दुई दिनमा संक्रमित कोषमा लाखौं भाइरस बन्न सक्छ । यदि घाँटीमा भाइरस बस्यो भने त्यहीं करोडौं भाइरस बन्छ । घाँटी खसखसाउन थाल्छ, खोकी लाग्छ । हाम्रो शरीरमा भएको रोग प्रतिरोधी क्षमताले भाइरस आयो भन्ने थाहा पाउँछ । हाम्रो शरीरले एन्टिबडी बनाउँदै त्यसविरुद्ध लड्न थाल्छ ।

यो सामान्य प्रक्रिया हो कि हाम्रो शरीरलाई आक्रमण गर्ने कुनै पनि भाइरसलाई औषधिले नभई हाम्रो शरीरको आफ्नै प्रतिरोधी क्षमताले मात्र हराउन सक्छ । यो प्रक्रिया सामान्य रुघाखोकीमा पनि लागू हुन्छ र अन्य भाइरल रोगमा पनि ।

आफूमा पहिलो लक्षण कहिले देखियो भन्नेमा ध्यान दिनुहोस् । पहिलो लक्षण देखिंदा तपाईंलाई घाँटी खसखसाउने, खोकी लाग्ने, ज्वरो आउने, जीउ चिलाउने, टाउको दुख्ने वा कहिलेकाहीं पखाला चल्ने जस्ता समस्या देखिन सक्छ । यीमध्ये कुनै वा सबै लक्षण पनि देखिन सक्छ ।

कोरोनाको हकमा हाम्रो शरीरमा भाइरस प्रवेश गरेको तेस्रो/चौथो दिन भाइरसहरू उल्लेख्य संख्यामा बनेका हुन्छन् र हाम्रो शरीरमा एन्टिबडी पनि पर्याप्त मात्रामा हुन्छ । त्यसपछि यी दुईको बीचमा लडाइँ शुरु हुन्छ । यो लडाइँको क्रममा हाम्रो रगतमा साइटोकिन्स नामक रसायन उत्पन्न हुन्छ ।

यो रसायनका कारण हाम्रो शरीरको तापमान बढ्छ । मांसपेशी दुख्ने, शरीर चिलाउने जस्ता समस्या पनि देखिन थाल्छ । यदि घाँटीमा संक्रमण भएको छ भने घाँटी सुन्निन्छ किनकि घाँटीमा अत्यधिक भाइरस हुन्छ । खोकी पनि लाग्छ । त्यसैले यी सबै कुरा हाम्रो शरीरमा ठूलो मात्रामा कोरोनाभाइरस देखिएको र शरीरको प्रतिरक्षा प्रणालीसँग लडिरहेको अवस्थामा देखिएको परिणाम हो ।

संक्रमण शुरू भएको दिन कसरी पत्ता लगाउने ?

भाइरसको इन्कुबेसन अवधि अर्थात् भाइरस हाम्रो शरीरमा प्रवेश गरेदेखि पहिलो लक्षण देखिंदासम्मको औसत अवधि करीब पाँच दिनको हुन्छ । यसमा दुई दिन अघिपछि हुन सक्ला । तर, अहिले कोरोना संक्रमण बढिरहेको अवस्थामा कसैले पनि कहाँबाट संक्रमण आफूमा सरेको हो भन्ने थाहा पाउन सक्दैन ।

पहिलो लहरका बेला अधिकांश मानिसलाई आफू विवाह पार्टी, कुनै जमघट वा अन्य स्थानमा गएकाले संक्रमण भएको थाहा हुन्थ्यो । तर, अहिलेको महामारीमा भने कसैले पनि कहाँबाट भाइरस आयो भनेर यकिन गर्न गाह्रो छ । त्यसैले तपाईंले इन्कुबेसन अवधि अर्थात् कुन दिन तपाईंको शरीरमा भाइरस सर्‍यो भनेर यकिनसाथ भन्न सक्नुहुन्न ।

त्यसैले अहिले इन्कुबेसन अवधिलाई एकातिर राख्नुहोस् र आफूमा पहिलो लक्षण कहिले देखियो भन्नेमा ध्यान दिनुहोस् । पहिलो लक्षण देखिंदा तपाईंलाई घाँटी खसखसाउने, खोकी लाग्ने, ज्वरो आउने, जीउ चिलाउने, टाउको दुख्ने वा कहिलेकाहीं पखाला चल्ने जस्ता समस्या देखिन सक्छ ।

यीमध्ये कुनै वा सबै लक्षण पनि देखिन सक्छ । यसरी लक्षण देखिएको दिनलाई तपाईंले कोरोना संक्रमणको कारण आफूलाई लक्षण देखिएको पहिलो दिन हो भनेर बुझ्नुपर्ने हुन्छ ।

धेरै मानिसलाई तपाईंले पहिलो लक्षण के थियो भनेर सोध्दा अधिकांशले आफूलाई सबैभन्दा धेरै दुःख दिएको लक्षण मात्र ख्याल गर्छन् । सबैभन्दा दुःख दिने किसिमको लक्षण देखिएको दिनलाई नै आफ्नो पहिलो लक्षण मान्छन् । कसै कसैले भन्छन्– मलाई गत साता लक्षण देखिएको थियो ।

तर, हरेक साना लक्षणलाई ध्यान दिनु जरूरी हुन्छ । पहिलो लक्षण देखिएको समयको गणना सही हुनु जरूरी छ । सातामा नभई दिनकै हिसाबले गणना गर्नुपर्छ । लक्षण देखिएको दिन कुन हो भन्ने कुरा एक वा दुई दिन तल–माथि पर्दा तपाईंले कोरोनालाई सजिलै जित्ने कि भेन्टिलेटरमा पुग्ने भन्ने कुराको फरक पर्छ ।

घाँटी दुःखेको दिन सामान्य ज्वरो आउन सक्छ । भोलिपल्ट ज्वरो अलि बढी हुन्छ र तेस्रो दिन पनि यो कायम रहन्छ । तर, चौथो दिन भने ज्वरो घटेर ९९ वा ९८.४ फरेनहाइटमा आउन सक्छ । यो मानव शरीरको सामान्य तापमान नै हो ।

८० प्रतिशत संक्रमितहरूमा यो नै संक्रमणको अन्तिम अवस्था हो । कोरोनाबाट संक्रमित हुने ८० प्रतिशत मानिसमा निकै सामान्य लक्षण मात्र देखिन्छ । जुन लक्षणहरू तीनदेखि चार दिनसम्ममा हराएर जान्छ । त्यसपछि उनीहरू निको हुन्छन् ।

तर कोरोना संक्रमण भएका १० देखि १५ प्रतिशत वा २० प्रतिशतसम्म मानिसमा गम्भीर असर देखिन्छ । उनीहरूमा संक्रमण भएको ५ दिनपछि नयाँ मोड आउँछ ।

गम्भीर लक्षणका संकेतहरू

१५/२० प्रतिशत मानिसमा संक्रमणले खतरनाक रूप लिन्छ । यस्तो अवस्थामा निको भइसकेको ज्वरो पुनः फर्किनसक्छ । ज्वरो नरोकिई जारी रहन पनि सक्छ वा सुक्खा खोकी पनि देखिन सक्छ ।

कोरोना संक्रमण गम्भीर वा घातक बन्दै गइरहेको भनेर चेतावनी दिने तीन प्रमुख संकेतहरूमध्ये एउटा ज्वरो हो । ज्वरो बढ्दै गएको छ वा पहिला ज्वरो थिएन तर ज्वरो आयो र यो ज्वरो पनि १०० डिग्रीभन्दा धेरै पनि हुनसक्छ ।

खतराको अर्को लक्षण छाती दुख्ने वा श्वासप्रश्वासमा समस्या हुनु हो । तेस्रो लक्षण सुक्खा खोकी लाग्नु हो । यसले पनि तपाईंलाई गाह्रो बनाउन सक्छ ।

तपाईंलाई जब दोस्रोपटकको जोखिमपूर्ण लक्षण देखिन थाल्छ, यस्तोमा तपाईंले यो लक्षण भाइरसको कारण देखिएको होइन भन्ने बुझ्नु जरूरी हुन्छ । धेरै मानिसलाई भाइरसको कारण निमोनिया हुन्छ भन्ने लाग्छ ।

कोरोनाबाट संक्रमित हुने ८० प्रतिशत मानिसमा निकै सामान्य लक्षण मात्र देखिन्छ । जुन लक्षणहरू तीनदेखि चार दिनसम्ममा हराएर जान्छ । १५/२० प्रतिशत मानिसमा संक्रमणले खतरनाक रूप लिन्छ । खतरनाक रूप लिएको अवस्थामा ज्वरो बढ्दै जान्छ वा पहिला ज्वरो थिएन भने अब ज्वरो आउँछ । अर्को लक्षण छाती दुख्ने वा श्वासप्रश्वासमा समस्या हुन्छ । तेस्रो लक्षण सुक्खा खोकी लाग्नु हो । यसले तपाईंलाई गाह्रो बनाउन सक्छ ।

शुरुमा कोरोना महामारी फैलिंदा गरिएको सबैभन्दा ठूलो गल्ती यही थियो । एक्सरे गरेर हेर्दा पनि यो निमोनिया जस्तै देखिन्थ्यो ।

तर, इटालीमा गरिएको पोस्टमोर्टमको रिपोर्टले त्यो निमोनिया नभई रक्तनलीमा रगत जमेको हो भन्ने पत्ता लगायो । भाइरसका कारण हाम्रो शरीरमा जुन एन्टिबडी बनेको थियो, त्यसले त्यस्तो भएको हो ।

कोरोना संक्रमणको जोखिमपूर्ण चरण

यो कसरी हुन्छ त ? भाइरसको सतहमा निकै पातलो प्रोटिन हुन्छ, जसलाई हाम्रो शरीरको एन्टिबडीले चिन्छ । र, आक्रमण गर्न शुरु गर्छ । तर देख्दा उस्तै देखिने र संरचना पनि उस्तै भएका केही कोष फोक्सोको रक्तनलीमा पनि हुन्छन् । यस किसिमका कोष आन्द्रा, कलेजो र मिर्गौलामा पनि देख्न सकिन्छ ।

तर, फोक्सोको रक्तनलीमा देखिने भाइरससँग मिल्दोजुल्दो कोषलाई हाम्रो शरीरको एन्टिबडीले भाइरस सम्झेर आक्रमण गर्छ । एन्टिबडीको आक्रमणबाट रक्तनलीका ती कोषहरू मर्छन् । यसरी रक्तनलीको कोषहरू मरेपछि उक्त रक्तनलीबाट पहिलाको जस्तो सामान्य तरिकाले रगत प्रवाह हुन सक्दैन ।

त्यसपछि रक्तनलीको भित्री सतह पनि पहिलाको जस्तो सरल हुँदैन । यस्तो अवस्थामा रगतभित्र रहेका कोषहरू त्यसमा टाँसिन थाल्छ र छोटो समयमा त्यसमा रगत जम्छ । यसले रक्तनलीमा हुने रगत प्रवाहमा अवरोध पुग्छ ।

फोक्सोले हावाबाट अक्सिजन लिएर रगतसम्म पुर्‍याउँछ । तर फोक्सोमा यो समस्या देखिएपछि रगतसम्म अक्सिजन पुर्‍याउन सक्दैन । जसको कारण रगतमा अक्सिजनको मात्रा कम हुन्छ र श्वासप्रश्वासमा कठिनाइ हुन थाल्छ । श्वासप्रश्वासमा कति कठिनाइ हुन्छ भन्ने कुरा फोक्सो कति खराब भएको छ भन्ने कुरामा निर्भर गर्छ ।

यदि दम, मधुमेह लगायतका अरू दीर्घरोग पनि छ भने अझ खतरा बढ्छ । र, कोरोनाले कुनै पनि बेला जित्न सक्छ । यो अवस्थामा नपुग्नका लागि हामीले पहिलो खतरनाक मोडमा पुग्दा नै पत्ता लगाउनुपर्छ, रोक्नुपर्छ ।

सम्भावित क्षति र रोकथाम

केही मानिसहरूमा यस किसिमको असर निकै घातक बन्न सक्छ । हामीलाई अहिलेसम्म पनि किन केही मानिस कोरोना संक्रमणबाट धेरै प्रभावित हुन्छन् भन्ने थाहा छैन । वंशानुगत गुण र वातावरणीय कारण वा दुवैको कारण यस्तो भएको हुनसक्छ । यद्यपि वास्तविकता भने केही मानिसहरू अन्य मानिसको तुलनामा धेरै प्रभावित भएका छन् ।

यदि शरीरको रक्तनलीमा धेरैभन्दा धेरै रगत जम्यो भने बाह्य रूपमा अक्सिजन दिनुपर्ने अवस्था आउँछ । यसो गर्दा अक्सिजनको प्रवाह हुने दर बढ्छ र मानिसको दिमागले आफ्नो काम गर्न नसक्दासम्म अक्सिजन दिइराख्नुपर्ने हुन्छ । त्यसका लागि २–३ लिटरदेखि ६० लिटरसम्म अक्सिजन चाहिन सक्छ । यदि तपाईंलाई ६० लिटरसम्म अक्सिजन चाहिन्छ भने त्यो अवस्थासम्म व्यवस्था गर्न सकिन्छ ।

त्यसपछि भने बाइपाप्स, सीपाप्स र त्यसपछि भेन्टिलेटर आवश्यक पर्छ । त्यसैले यो निकै जोखिमपूर्ण बाटो हो, जसको बारेमा सचेत हुनु जरुरी छ । यदि तपाईं समयमा नै यसबारेमा सचेत नहुने हो भने यसलाई रोक्न पनि सक्नुहुन्न ।

भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका १५ देखि २० प्रतिशत संक्रमितहरू भाइरसको कारण नभई मानिसको स्वचालित एन्टिबडीले आफ्नै शरीरको कोषलाई मारेका कारण उक्त अवस्थामा पुग्ने गर्छन् । शुरुआती चरणमा नै यो कुरालाई बुझ्ने हो भने पाँचौं वा छैटौं दिनमा ज्वरो उच्च छ, खोकी लागिरहेको छ र श्वासप्रश्वासमा समस्या देखिएको छ भने तपाईंले साइटोकाइन्सको कारण यस्तो भएको छ भन्ने बुझ्दै त्यसलाई रोक्ने उपाय खोज्नुपर्छ ।

साइटोकाइन्सलाई ठूलो संख्यामा विस्तार हुनबाट रोक्नका लागि हामीसँग निकै पुरानो औषधि छ । उक्त औषधिको नाम स्टेरोइड हो । यो औषधिलाई मुखबाट वा नसाबाट बिरामीलाई दिन सकिन्छ । यो औषधिले शरीरमा विकास हुने साइटोकाइन्सलाई रोक्न सक्छ । जसको कारण साइटोकाइन्स ठूलो संख्यामा विस्तार हुन सक्दैन । यसबाट अहिले हामीले देखिरहेको ठूलो क्षतिलाई पनि रोक्न सकिन्छ ।

यद्यपि स्टेरोइडले मात्र फोक्सोको रक्तनलीमा रगत जम्नबाट भने रोक्न सक्दैन । त्यसैले तपाईंले रगत पातलो बनाउन एन्टिकोग्लेट पनि लिनु जरूरी हुन्छ । त्यसैले यो अवस्थामा हामीले लिन सकिने दुई औषधिहरूमा एउटा एन्टिकोग्लेट र अर्को स्टेरोइड हो । यद्यपि ध्यान राख्नुपर्ने कुरा के हो भने स्टेरोइड र एन्टिकोग्लेन्टहरू त्यतिकै लिन मिल्दैन । त्यसैले यी औषधि लिनुपूर्व डाक्टरसँग परामर्श लिनु जरूरी हुन्छ । स्टेरोइडको जोखिमबारे तपार्ईंले आफ्नो डाक्टरसँग पनि सोध्न सक्नुहुन्छ ।

स्टेरोइटको लागि समय महत्वपूर्ण हुन्छ । यो औषधि कोरोनाको शुरुआती लक्षण देखिने बित्तिकै लिनुहुँदैन । कोरोनाको लक्षण देखिएको पहिलो दिनदेखि करीब तीन–चार दिनसम्म भाइरस विस्तार हुने क्रम जारी हुन्छ । भाइरसले आक्रमण गरिरहेको भए पनि एन्टिबडी पनि सोही हिसाबले बढिरहेको हुन्छ ।

यदि तपाईंले लक्षण देखिने बित्तिकै स्टेरोइड लिनुभयो भने यसरी भाइरस र एन्टिबडीको विस्तार हुने समयावधि पनि बढ्छ र तपाईंको रोग पनि लामो समयसम्म जान्छ । त्यसैले यो गल्ती नगर्नुहोस्, यसले तपाईं आफैंलाई हानि पुर्‍याउँछ । यसले शरीरलाई भाइरसलाई परास्त गर्न पनि रोक्छ ।

त्यसैले स्टेरोइड शुरु गर्नका लागि समय निकै महत्वपूर्ण हुन्छ । लक्षण देखिएको शुरुको पाँच दिनसम्म स्टेरोइड शुरू गर्नुहुँदैन ।

एकपटक कोरोनाको शुरुआती लक्षण देखिने क्रम सकिएपछि एन्टिबडीले स्वचालित रूपमा प्रतिक्रिया दिन शुरु गर्छ । स्टेरोइड लिने यो उत्तम समय हो । त्यसैले यस किसिमको अवस्था पाँचौं वा छैटौं दिनमा शुरू हुन्छ ।

यदि दोस्रो चरणको कुनै पनि लक्षण देखिएको छैन भने तपाईंले कुनै चिन्ता लिनुपर्दैन । दोस्रो चरणको लक्षण देखिएको छ भने तपाईंले स्टेरोइड औषधि लिनुहोस् र यसलाई एन्टिकोग्लेन्टको साथमा लिनुहोस् । स्टेरोइड लिंदा रक्तनलीमा रगत जम्ने समस्या नहराए पनि त्यसलाई एन्टिकोग्लेन्टले रोक्न सक्छ ।

धेरै मानिस एस्पिरिनको माध्यमबाट पनि रगत पातलो बनाउन सकिन्छ भन्दै उक्त औषधि लिइरहेका छन् । यो औषधि लिने मानिसहरूले ध्यान दिनुपर्ने कुरा के हो भने यसले काम गर्दैन ।

यदि तपाईं बिरामीको प्लेटलेट्स गणना गर्नुहुन्छ भने यस्ता बिरामीको रगतमा प्लेटलेट्सको मात्रा निकै कम हुन्छ । यसले रगत जम्ने समस्या रोक्नुको सट्टामा अझै पनि निरन्तर रगत जम्ने समस्या देखिइरहेको हुन्छ । त्यसैले एस्पिरिनको प्रयोगले काम गर्ने सम्भावना निकै कम हुन्छ ।

तपाईंले एन्टिकोग्लेन्टको प्रयोग गर्नु जरूरी हुन्छ । यो औषधि पनि निरन्तर तीन सातासम्म दिनुपर्ने हुन्छ । स्टेरोइड जस्तो १० दिनसम्म दिंदा किन हुँदैन त ? किनभने रगत जम्ने समस्या दुईदेखि तीन सातासम्म रहनसक्छ । त्यसैले तीन सातासम्म यो औषधि दिनाले उक्त समस्या आउन पाउँदैन ।

माथि उल्लिखित उपाय अपनाउनुभयो भने तपाईंले रोगलाई बिग्रिन र अवस्था थप खराब हुनबाट बचाउन सक्नुहुन्छ । यो प्रक्रियाबाट उपचार गर्दा अधिकांश बिरामीको नतिजा राम्रो आएको छ ।

जब दोस्रो पटकको जोखिमपूर्ण लक्षण देखिन थाल्छ धेरै मानिसलाई भाइरसका कारण निमोनिया हुन्छ भन्ने लाग्छ । शुरूमा कोरोना महामारी फैलिंदा गरिएको सबैभन्दा ठूलो गल्ती यही थियो । तर, इटालीमा गरिएको पोस्टमोर्टमको रिपोर्टले त्यो निमोनिया नभई रक्तनलीमा रगत जमेको हो भन्ने पत्ता लगायो ।

अहिले भारतमा मात्र नभई विश्वभर नै भइरहेको गल्ती के हो भने हामीसँग साधारण रूपमा दुई वटा फोक्सो हुन्छ । एउटा मिर्गौलाले काम नगर्दा अर्को मिर्गौलाले काम गरेको जस्तै टीबी, फोक्सोको क्यान्सर भएका बिरामीमा पनि एउटा मात्र फोक्सोले पूर्णरूपमा काम गर्छ ।

तर, समस्या के हो भने बिरामीहरूले डिजिटल सेन्सर (अक्सिमिटर जस्ता उपकरण)को आधारमा उपचार लिने गर्छन् । यस्तोमा उनीहरू शरीरमा अक्सिजनको मात्र कति छ भनेर हेर्ने गर्छन् । तर, मानिसको फोक्सोले काम गर्ने दुई तिहाइभन्दा धेरै क्षमता नष्ट हुँदासम्म शरीरमा अक्सिजनको मात्रा कम भएको हुँदैन ।

मानिसहरू अक्सिजनको मात्रा नघटेसम्म घरमा बसेर प्रतीक्षा गर्छन् । त्यसपछि मात्र उनीहरू अस्पताल जान्छन् । त्यतिबेलासम्म उनीहरूलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता परिसकेको हुन्छ । जसको कारण निकै डरलाग्दो अवस्था आउँछ । त्यसैले यो गल्ती नगर्नुहोस् । यद्यपि अहिले भइरहेको प्रयोग पनि गलत होइन । तर, यो तरिका अस्पताल जाने हो भने मात्र ठीक हो ।

स्टेरोइडका सम्भावित साइड इफेक्टहरू

यद्यपि स्टेरोइड प्रयोग गर्दा पनि दुई वटा कुरालाई ध्यान दिन जरूरी हुन्छ । स्टेरोइडले मानिसको प्रतिरोधी क्षमता घटाउँछ । त्यसैले पाँचौं वा छैटौं दिनमा मात्र यो औषधिको प्रयोग गर्नुपर्छ ।

त्यसपछि एन्टिकोग्लेन्टको पनि प्रयोग शुरु गर्दा नाटकीय रूपमा अवस्थामा सुधार आउँछ । भोलिपल्ट ज्वरो र खोकी पनि कम हुन्छ । बिरामीले सहज महसूस गर्छ । विशेषगरी वृद्धावस्था र मधुमेह भएका मानिसलाई यो औषधिले राम्रो गर्छ । साथै कमजोर प्रतिरोधी क्षमता भएका मानिसमा पनि यो प्रभावकारी हुन्छ ।

स्टेरोइड लिन थालेको चौथो दिन पुनः ज्वरो आउँछ । यो भाइरसको कारण भने होइन । फोक्सोमा सामान्य ब्याक्टेरिया र प्रतिरोधी क्षमताबीचको लडाइँको कारण ज्वरो आएको हो । ब्याक्टेरियाको कारण ब्याक्टेरियल निमोनिया हुन्छ । त्यसैले कोरोना संक्रमणको यो चरणमा एन्टिबायोटिक्स चलाउनुपर्ने हुन्छ ।

त्यसैले स्टेरोइडको प्रयोगमा पुनः जोड दिंदै म के भन्छु भने जीवन बचाउने मामिलामा यो निकै फाइदाजनक छ तर यसको कमजोरी पनि छ । किनकि यसले हाम्रो फोक्सोमा मौकाको खोजीमा रहेका ब्याक्टेरियालाई आक्रमणको लागि प्रेरित गर्छ । जसको कारण एन्टिबायोटिक्सको प्रयोग गर्नु जरूरी हुन्छ । एन्टिबायोटिक्सको प्रयोग गर्ने एकमात्र चरण यही हो ।

यदि तपाईंले शुरुआतमा नै एन्टिबायोटिक्सको प्रयोग गर्नुभयो भने यसले भाइरसलाई हटाउन कुनै सहयोग गर्दैन । यो त्यतिबेला प्रभावहीन बन्छ । तर, ब्याक्टेरियल निमोनिया भएको अवस्थामा भने यो निकै प्रभावकारी बन्छ ।

ब्याक्टेरियल निमोनिया स्टेरोइडको प्रयोग गरेको चार वा पाँच दिनपछि हुन्छ । त्यसैले उनीहरूको समयावधि राम्रोसँग जान्नु आवश्यक हुन्छ ।

स्टेरोइडको कारण मधुमेहको समस्या पनि देखिन सक्छ । यसको प्रयोगले शरीरमा मधुमेहको मात्रा २५० सम्म पनि पुग्न सक्छ । यो अवस्थालाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर डाक्टरसँग परामर्श लिनुहोस् ।

मधुमेहको समस्या छ भने अवस्था जटिल पनि बन्न सक्छ । त्यस्तै मिर्गौलाको समस्या देखिएका मानिसका लागि पनि यो औषधिले समस्या उत्पन्न गर्छ सक्छ । त्यसैले स्टेरोइड जीवन बचाउन सक्ने औषधि हो । तर, यसको प्रयोग पूर्ण रूपमा सचेत भएर गर्नुपर्छ ।

सारांश

यसको माध्यमबाट मैले दिन खोजेको मुख्य सन्देश के हो भने तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईं कोरोनाको परीक्षणमा पोजेटिभ आयो वा नेगेटिभ आयो भन्ने कुराको वास्ता नगर्नुहोस् । तपाईं आफूलाई सबैभन्दा पहिला लक्षण कहिले देखियो भन्ने कुरामा ध्यान दिनुहोस् ।

पाँचौं वा छैटौं दिनमा ज्वरो उच्च, खोकी लागिरहेको र श्वासप्रश्वासमा समस्या देखिएको छ भने साइटोकाइन्सको कारण यस्तो भएको भन्ने बुझ्नुपर्छ । साइटोकाइन्सलाई ठूलो संख्यामा विस्तार हुनबाट रोक्नका लागि हामीसँग निकै पुरानो स्टेरोइड औषधि छ । यो औषधिलाई मुख वा नसाबाट दिन सकिन्छ । जसको कारण साइटोकाइन्स ठूलो संख्यामा विस्तार हुन सक्दैन । यसबाट अहिले हामीले देखिरहेको ठूलो क्षतिलाई रोक्न सकिन्छ ।

पाँच दिनमा तपाईंको सबै लक्षण हरायो भने सम्झनुहोस् तपाईंले कोरोनालाई जित्नुभयो । तपाईंले त्यसपछिको पाँच दिनसम्म पनि आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुहोस् उक्त समयमा तपाईंलाई सामान्य खोकी वा अन्य सामान्य लक्षण देखिन सक्छ । यसबाट आत्तिनुपर्दैन ।

यद्यपि तपाईं कोरोना संक्रमणको जोखिमपूर्ण चरणमा प्रवेश गर्नुभयो भने तपाईंले स्टेरोइट र एन्टिकोग्लेन्ट दिएर साइटोकाइन्सलाई रोक्ने प्रयास गर्नुहोस् । स्टेरोइड १० दिनसम्म दिनुपर्छ भने एन्टिकोग्लेन्ट तीन सातासम्म दिनुपर्छ ।

यी औषधि डाक्टरको परामर्शमा लिंदा राम्रो हुन्छ । डाक्टरसँग परामर्श लिंदा यी दुवै औषधिको कारण हुनसक्ने साइड इफेक्टबाट पनि बच्न सकिन्छ । किनकि यी दुवै औषधि राम्रोसँग लिन नजान्दा जोखिमपूर्ण बन्न सक्छन् । त्यसैले डाक्टरको परामर्शमा मात्र यी औषधि लिनुपर्छ ।

त्यसैले यी समयावधिलाई बुझ्दै पहिलो लक्षण देखिएको पाँच दिनसम्म चाहेको अवस्थामा केही भिटामिन खान सकिन्छ तर अरू केही औषधि नलिनुहोस् । रेम्डिसिभिर, आइभरभ्याक्सिन औषधि तथा प्लाज्मा थेरापीको प्रयोग गरेर पनि अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ तर यी औषधिले कोरोना निको पार्छ भन्ने कुनै पनि प्रमाण भेटिएको छैन ।

शुरूको पाँच दिनमा एन्टिबायोटिक्सको कुनै पनि भूमिका हुँदैन । एन्टिबायोटिक्सको प्रयोग दोस्रो चरणको पाँचौं दिनमा मात्र आउँछ । यदि यो कुरालाई तपाईंले राम्रोसँग बुझ्न सक्नुभयो भने तपाईंले कोरोना संक्रमणलाई घरमा नै निको पार्न सक्नुहुन्छ । यद्यपि तपाईंले डाक्टरसँग परामर्श भने लिनुपर्छ । यसो गर्दा कुनै किसिमको जटिलता पनि आउँदैन । तपाईंले कोरोना संक्रमणको समयतालिका र जोखिमपूर्ण चरणलाई चिन्न सक्नुभएन भने तपाईं अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउँछ । तपाईंले यो सूचनाको आधारमा कोरोना संक्रमणको टाइमलाइनलाई बुझ्न र सहयोग लिन सक्नुहुन्छ ।

यो पछिल्लो समय पत्ता लागेको कोरोनाको उपचार विधि हो । यो विधिको प्रयोग गरेर हामीले धेरै मानिसलाई सुरक्षित रूपमा अक्सिजन दिनुपर्ने अवस्थामा नपुर्‍याई निको पारेका छौं र यो तरिकाबाट धेरै मानिसले कोरोनालाई जितेका छन् ।

 

हेर्नुहोस् भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *