समाचारस्वास्थ्य

महिनावारीमा विद्यालय जाँदैनन् दृष्टिविहीन किशोरी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

‘प्रकाशित; शनिबार, पौष ०२, २०७९

विद्यालयले दिएको प्याडसमेत आवश्यक परेको बेला फेर्न पाइन्न, हामीले प्रयोग गर्ने छुट्टै शौचालय नभएसम्म हामी सुरक्षित छैनौं’

सुर्खेत — दैलेखको नौमुले गाउँपालिकास्थित द्वारीकी सीता सिंजाली मगर दृष्टिविहीन हुन् । सुर्खेतको वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १५ वर्षीया उनी महिनावारी भएको बेला विद्यालय जाँदिनिन् ।

‘विद्यालयमा अपांगमैत्री शौचालय छैन, त्यसैले महिनाको ५ दिन डेरामै बस्छु,’ उनले भनिन् ‘हामी आँखा देख्न सक्दैनौं, कसैले लुकेर हेर्छ कि भन्ने डर लाग्छ ।’

कालीकोटकी मनसुभा विकलाई पनि महिनावारी भएको बेला विद्यालय जान मन लाग्दैन । विद्यालयमा छात्रा शौचालय त छ तर अपांगमैत्री नहुँदा प्रयोग गर्न अप्ठेरो भएको उनको भनाइ छ । ‘सबै छात्राहरूले एउटै शौचालय प्रयोग गर्छौं, अरुबेला पनि त्यो शौचालय प्रयोग गर्न समस्या हुन्छ,’ उनले भनिन्, ‘शिक्षकहरूसँग प्याड माग्न पनि लाज लाग्छ, प्याड किन्न पर्याप्त पैसा पनि हुँदैन, त्यसैले महिनावारी भएको बेला दिनभरि एउटै प्याड प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

उक्त विद्यालयमा २३ जना अपांगता भएका बालबालिकाले अध्ययन गरिरहेका छन् । विद्यालयमा अध्ययन गरिरहेका १५ दृष्टिविहीन, बौद्धिक अपांगता भएका २ र शारीरिक अपांगता भएका ६ विद्यार्थीलाई अपांगमैत्री शौचालय नहुँदा प्रयोग गर्न समस्या भएको गुनासो छ ।

दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि १५ जना अपांगता भएका बालबालिका अध्ययनरत छन् । शारीरिक अपांगता भएका विद्यार्थीलाई शौचालयसम्म ह्विलचियर लैजान समस्या छ ।

दृष्टिविहीनहरूलाई आफूले शौच गर्दा कसैले बाहिरबाट हेरिरहेको छ कि भन्ने डर भइरहने कक्षा ६ मा अध्ययनरत कमला विकले बताइन् । उनका अनुसार अपांगता भएका र नभएकाहरूको एउटै शौचालय हुँदा प्रयोगमा समस्या भइरहेको हो । ‘विद्यालयले दिएको प्याडसमेत आवश्यक परेको बेला फेर्न पाइन्न,’ उनले भनिन्, ‘हामीले प्रयोग गर्ने छुट्टै शौचालय नभएसम्म हामी सुरक्षित छैनौं ।’

कर्णालीका अधिकांश सामुदायिक विद्यालय अपांगमैत्री नहुँदा विद्यार्थीको पठनपाठनमा पनि समस्या भइरहेको छ । वीरेन्द्रगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका स्रोत शिक्षक सुरेशकुमार खड्काले अपांगता भएकालाई भौतिक संरचनाकै अल्झन भएको बताए । भौतिक संरचना मैत्रीपूर्ण नहुँदा अपांगता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरबाट वञ्चित उनको भनाइ छ ।

‘अपांगता भएका व्यक्तिहरूमा पनि बौद्धिक क्षमता छ भन्ने सरोकारवाला निकायले थाहा पाउनुपर्‍यो,’ ५ वर्षदेखि विद्यालयमा पढाइरहेका उनले भने, ‘अपांगता भएका व्यक्तिको आवश्यकता हेरेर विद्यालयमा पढ्ने वातावरण बनाइदिए अपांगता भएका बालबालिकाहरू खुल्दै जाने थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *