राष्ट्रिय समाचारसमाचारस्वास्थ्यहेडलाइन

नमूना परीक्षण गराउनै सकस 

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सिद्धराज भट्ट सुदूरपश्चिम, २० वैशाख (रासस) :

आज बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा कोरोना परीक्षण गराउन चाहनेको लामो लाइन थियो । हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना जँचाउन नाम दर्ता गर्ने भन्दै सर्वसाधारणको भीड देखिन्थ्यो । भीडभाडले आफूमा कोरोना सङ्क्रमण हुने भन्दै कतिपय व्यक्ति नमूनाका लागि नाम दर्ता नगरी फर्किइरहेका थिए ।

लामो लाइन देखेर अस्पताल परिससरमा सुरक्षा व्यवस्थापनमा खटिएका अस्पतालका एक कर्मचारीले भन्नुभयो, “पिसिआर जाँचका लागि पचास जनाभन्दा बढीको नाम दर्ता हुँदैन, लाइनमा बस्नेले मात्र नाम दर्ता गराउन पाउँछ ।” लाइनमा नबस्नेले नाम दर्ता पनि गर्न नपाउने भनेपछि नमूना जँचाउन गएका स्थानीयवासीले भन्नुभयो, “अस्पताल प्रशासनले नमूना परीक्षण गर्ने गराउने कार्यलाई समेत उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा निकै समस्या भयो ।”

अस्पतालका कर्मचारीको भनाइपछि लाइनमा लागेकाहरु कतिपय अन्योलमा परेका थिए । भीड बढेपछि कतिपय स्वास्थ्यकर्मी धनगढी उपमहानगरपालिकाको स्वाब सङ्कलन केन्द्रमा जान सल्लाह दिइरहेका थिए । लाइनमा उभिनुभएका अर्का एक जनाले भन्नुभयो, “जनता पिसिआर जाँच गराउन सङ्क्रमणको जोखिम मोलेर भए पनि बिहानै ७ः०० बजेदेखि लाइनमा बस्नु प¥यो, अहिले आएर पचासभन्दा बढीको परीक्षण नहुनेभन्दा नमूना परीक्षण गर्नै समस्या भयो ।”

बिहान १०ः०० बजेपछि मात्र कोरोना परीक्षणका लागि नमूना दिन पाइने भए पनि बिहानै ७ः०० बजेदेखि ज्वरो आएका, टाउको दुखेकाहरु लाइनमा बसेका थिए । घण्टौँ लाइनमा बस्दा पनि पालो नपाइएको भन्दै कतिपय फर्किएका थिए । लाइन छाडेर घर फर्किरहेको भेटिनुभएका धनगढी–२ का एक व्यक्तिले सरकारी अस्पतालमा समेत पिसिआर टेष्ट गर्न निकै असहज हुँदा नमूना नदिई घर फर्किन बाध्य भएको बताउनुभयो ।

“नमूनाको पिसिआर जाँच गर्न भनेर दुई दिन अस्पताल पुगिसके नाम दर्ता गराउनै सकेन”, उहाँले भन्नुभयो, “नमूना दिन यत्रो समस्या आउँदा सङ्क्रमित भएछ भने कहाँ गएर उपचार व्यवस्थापन गराउने भन्ने चिन्ता लागेको छ ।” जिल्ला स्वास्थ्य कार्यालयले शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पिसिआर परीक्षणको काम सेती प्रदेशिक अस्पतामा हुने गरेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका प्रमुख रमेश शाहीले जनशक्ति अभावले दिनमा चारदेखि पाँच सयको हाराहारीका व्यक्तिको मात्र परीक्षण गर्न सकिएको बताउनुभयो ।

“जनशक्तिको अभावमा अस्पतालको एउटा पिसिआर मेशिन सञ्चालनमा आउन सकेको छैन”, शाहीले भन्नुभयो, “अर्को पिसिआर मेशिनबाट मात्रै दैनिक नमूना परीक्षणको काम हुने गरेको छ ।” नमूना परीक्षण गर्न सकस देखिएपछि कोरोनाको जस्तो लक्षण भएका धेरै व्यक्ति घरमै आइसोलेशनमा बस्न थालेका छन् । कोरोनाको जस्तो लक्षण देखिएका स्थानीय एक जनाले सहज रुपमा नमूना परीक्षण गर्ने गराउने वातावरण नभएपछि लक्षण देखिएका धेरै व्यक्ति यतिबेला होम आइसोलेशनमा बस्न बाध्य भइरहेको बताउनुभयो । होम आइसोलेशनमा बसेका व्यक्तिले टेलिफोनमार्फत स्वास्थ्यकर्मीसँग नियमित रुपमा स्वास्थ्य अवस्थाबारे परामर्श लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *