समाचार

त्रिभुवन विमानस्थलमा ह्यांगर, एप्रोन र ट्याक्सी-वे ८ अर्ब २५ करोडमा बन्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १४ चैत्र २०७९ , मंगलबार

काठमाडौँ_त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एप्रोन, ह्यांगर र ट्याक्सी-वे बन्ने भएको छ।

धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बन्ने भएको हो। त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम सुरू भएको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ।

विमानस्थलमा हाल धावनमार्गको समानान्तर ट्याक्सी-वे छ। एक्जिट ट्याक्सी-वे पनि छ। तर यहाँ भएको समानान्तर ट्याक्सी-वेको लम्बाइ धावनमार्ग बराबर छैन।

यहाँ हाल एक हजार ९२५ मिटर लामो समानान्तर ट्याक्सी-वे छ। यसमा १२ सय मिटर थप्न लागिएको हो। हाल ट्याक्सी-वे थप्न लागिएको स्थान खाल्डो भएकाले माटो भरेर मात्रै बनाउनुपर्ने अवस्था छ।

समानान्तर ट्याक्सी-वे भनेको धावनमार्गको छेउमा हुने बाटो हो जहाँबाट विमान पार्किङ (ह्यांगर वा एप्रोन) सम्म पुग्छ। त्यस्तै जहाज धावनमार्गबाट बाहिरिएर समानान्तर ट्याक्सी-वेसम्म पुग्न बीचमा बनाइएको बाटोलाई एक्जिट ट्याक्सी-वे भनिन्छ। अब धावनमार्गको बराबर हुने गरी ट्याक्सी-वे बढाएपछि एक्जिट-वे पनि बढाउनुपर्ने हुन्छ।

धावनमार्गको लम्बाइअनुसार ठाउँठाउँमा एक्जिट ट्याक्सी-वे नहुँदा कतिपय अवस्थामा आन्तरिक एयरलाइन्सहरूले धावनमार्गको बीचबाटै चलाएर जहाज पार्किङसम्म पुर्‍याइदिन्छन्। अन्तर्राष्ट्रिय एयरलाइन्सहरूका भने जहाज ठूला हुने भएकाले यसरी घुस्दैनन्।

यसरी पार्किङमा जाने विमान पनि धावनमार्गको बीचबाटै कुद्ने समस्याले उडान क्रममा रहेका अरू विमान अड्किने र समयतालिका अनुसार उडान हुन नपाउने आयोजना निर्देशक श्रेष्ठ बताउँछन्। त्यस्तै अवतरण क्रममा रहेका जहाज पनि केही समय रोक्नुपर्ने अवस्था आइरहेको छ।

ट्याक्सी-वे निर्माणको जिम्मा चिनियाँ कम्पनी गान्सु मेकानाइजेसन कन्सट्रक्सन इञ्जिनियरिङले पाएको छ। यो कामका लागि नागरिक उड्डयन प्राधिकरणले चार अर्ब २५ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको हो।

ह्यांगर/एप्रोन निर्माण जिम्मा पनि चिनियाँ कम्पनीलाई नै छ। एभिक केडिएन सिसिइसिसी जेभीसँग प्राधिकरणले चार अर्ब रूपैयाँमा यसको ठेक्का सम्झौता गरेको हो।

ह्यांगर, एप्रोन र ट्याक्सी-वे निर्माणको कुल लागत ८ अर्ब २५ करोड रूपैयाँ हो। तीन वर्षभित्र बनाइसक्नुपर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *