समाचार

धरानको मुख्य बजार क्षेत्र वान वेए

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – धरानको मुख्य बजार क्षेत्रमा सोमबारदेखि सवारी आवागमनलाई एकतर्फी (वान वेए) गरिएको छ। भानुचोकस्थित बसपार्क र बजार क्षेत्रमा सवारी चापको कारण अस्तव्यस्त भएपछि व्यवस्थापन गर्न गठित कार्यदलले दिएको सिफारिसलाई कार्यान्वयन गर्न पहिलो चरणमा वान वे गरिएको हो।

सोमबारदेखि कोशी राजमार्गको भानु चोकदेखि उत्तरतर्फ मात्र सवारीसाधनहरु चल्न दिइएको छ भने उत्तरतर्फ लक्ष्मी चोकदेखि भानु चोकतर्फ आउँदा पृथ्वी चोक, पुरानो बजार, माछा भौडी हुँदै देशी लाइन भएर मात्र आउन पाइने भएको छ।

वान वेए लागु गराउन मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतो, वडा नं २ का अध्यक्ष रमेश राई, वडा १ का अध्यक्ष यज्ञमणी आचार्यलगायत पनि खटिएका थिए। भानु चोकदेखि लक्ष्मी चोकसम्मको बिचको क्रस हुने सडकहरुमा पनि कुनैमा जाने र कुनैमा आउने गरी मात्र आवागमन गर्न नदिइएको छ। तर ती क्रम हुने सडकमा पनि ठुला तथा मझौला गाडीहरु भने क्रस हुन पाउने छैन।

बढ्दो सवारीसाधानहरुको चापले गर्दा धरानको भानु चोकमा रहेको बसपार्क साँघुरिएको छ भने सडक पनि विस्तार हुन नसक्दा बजार क्षेत्र अस्तव्यस्त छ। धरानमा ट्याम्पो र सिटी सफारी अत्यधिक संख्यामा चलेका छन्। चालकहरुका अनुसार धरानमा चल्ने ट्याम्पोको र सफारीको संख्या ६ हजार भन्दा बढी छन्। सवारीको संख्या बढ्दै गएपनि मुख्य बजार क्षेत्रको सडक विस्तार हुन सकेको छैन भने सडकमै मोटरसाइकल, ट्याम्पो, सफारी पार्किङ गरिदा झन् साँघुरो हुने गरेको छ।

मुख्य बजार क्षेत्रमा सवारीसाधनको चापले अस्तव्यस्त भएपछि सरोकारवालाहरुलाई समेटेर वडा नं २ को वडाअध्यक्ष रमेश राईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले वान वेए सहित यातायात व्यवस्थापनको लागी सुझावहरु समेटेर प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा उल्लेखित सुझावमध्ये पहिलो चरणमा वान वे कार्यान्वयन गर्ने र अन्य सुझावलाई क्रमशः लागु गर्दै जाने निर्णय भएको थियो। ‘मुख्य गरी बजार क्षेत्रमा भिडभाड नहोस्, दुर्घटना नहोस् भनेर वान वे गरिएको हो। कसैलाई सास्ती दिनको लागी घुमाइराखेको होइन,’मेयर साम्पाङले भने,‘भानु चोक र आसपासको बजार क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप भयो। त्यसैले धनजनको क्षति होस् भन्ने उद्देश्य हो। सबैले वान वे पालना गरेर सफल बनाउन आग्रह गर्छु।’

मेयर साम्पाङले भद्रगोल अवस्थालाई सुधार गर्न केही समय लाग्ने र सुरुमा असहज हुने भएपनि बिस्तारै सबै ठिक हुने पनि बताए। सडकमै हुने पार्किङलाई पनि बिस्तारै कम गर्दै लैजाने र दिउँसो सामान लोडअनलोड गर्दा हुने जामलाई पनि मध्यनजर गर्दै क्रमशः व्यवस्थापन गर्दै जाने उनले बताए। प्रदेश १ ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोका अनुसार भानु चोकमा सबै सवारीसाधन एकत्रित हुँदा अस्तव्यस्त भएकोले सोही क्षेत्रबाट व्यवस्थापन गर्न थालिएको बताए। ‘भानु चोकलाई बस, सिटी सफारी, ट्याम्पो सबैको केन्द्र बनायौँ। व्यापारको केन्द्र पनि यही छ तर पार्किङ छैन,’उनले भने,‘त्यसैले यहीबाट व्यवस्थापन गर्न सुरुमा वान वे गर्ने निष्कर्षमा पुग्यौँ। कार्यदलको प्रतिवेदनलाई एकपछि अर्को कार्यान्वयन गर्दै जानेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *