समाचार

बसाइँ सर्ने चरा पछ्याउँदै अस्ट्रेलियाबाट नेपाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; २१ पुष २०७९, बिहीबार

कपिलवस्तु — ठूलो पानीगौंथलीले अस्ट्रेलियाबाट भारतमा आएर प्रजनन गर्छ । झन्डै ४ हजार ८ सय ४८ माइल आकाशीय दूरी पार गर्दै दक्षिण भारतका विभिन्न ठाउँमा ओथारो बसेर उसले बचेरा हुर्काउने गरेको छ । अस्ट्रेलियाका ६५ वर्षीय डा. पिटर न्युबेरीलाई गौंथलीले कस्तो वातावरणमा प्रजनन गर्छ भन्ने जिज्ञासा लाग्यो । थाहा पाउन उनी वातावरण विज्ञानको विद्यार्थी बने । अहिले गौंथली अध्ययन गर्दै उनी नेपाल आएका छन् ।

न्युबेरी सेवानिवृत्त चिकित्सक हुन् । एमबीबीएस गरेका उनले ४० वर्ष सरकारी र निजी अस्पतालमा काम गरे । न्युबेरी अहिले चिकित्सकीय औजार छाडेर वातावरण विज्ञान तथा व्यवस्थापन विषयमा स्नातक स्तरको अध्ययन गरिरहेका छन् । अस्ट्रेलियाको ठूलो पानीगौंथली संरक्षण गर्न भारतका सिमसार क्षेत्रको योगदान छ । प्रजननको राम्रो वातावरण भएन भने पानीगौंथली संकटमा पर्छ । वातावरणमा नराम्रो प्रभाव पर्छ । त्यसैले चरा संरक्षण कुनै एउटा देशको मात्र नभई विश्वकै दायित्वभित्र पर्ने उनी बताउँछन् । ‘नेपाल–भारतका सीमा क्षेत्रमा सिमसार हेरें,’ उनले भने, ‘त्यो देखेपछि कस्तो क्षेत्रमा गौंथलीले प्रजनन गर्छ भन्ने थाहा पाएँ ।’

न्युबेरीले पानी गौंथलीका बारेमा चराविद् हेमसागर बरालसँग धेरै सोधखोज गरेको बताए । उडान, आनीबानी, रहनसहन, खानपानका बारेमा बरालसँगै बुझेको उनले सुनाए । ‘लामो यात्रा गरेर नेपाल आएपछि मेरा केही जिज्ञासा पूरा भए,’ उनले भने, ‘अब पानीगौंथलीबारे थप खोज अनुसन्धान गर्नेछु ।’

न्युबेरीका अनुसार विश्वको १ प्रतिशत पनि भूभाग नओगटेको नेपालमा विश्वका १० प्रतिशत भूभागमा पाइने चरा हेर्न पाइन्छ । त्यसका लागि पनि आफू यहाँ आउन लालायित रहेको उनले सुनाए । उनीजस्तै अस्ट्रेलियाका १३ विद्यार्थी जैविक विविधता, वन्यजन्तु र चराको अध्ययनका लागि अहिले नेपालमा छन् । अस्ट्रेलियाको पाँचौं ठूलो चार्ल्स स्टट विश्वविद्यालयका वातावरण विज्ञानमा स्नातक तह अध्ययनरत विद्यार्थी एक महिनाका लागि आएका हुन् ।

उनीहरूले गण्डकीको अन्नपूर्ण संरक्षण क्षेत्र, घान्द्रुक र बुद्ध जन्मस्थल लुम्बिनीको सिमसार क्षेत्रको दुई साता लगाएर अध्ययन अवलोकन गरेका छन् । त्यसपछि कपिलवस्तुस्थित जगदीशपुर तालको अध्ययन अवलोकन गरेको उनीहरूले सुनाए । तराईबाट हिमाल, पानी र घाँसे मैदानमा पाइने चरा, उभयचर र सरिसृप अवलोकन गरेका उनीहरूले चरा र पर्यापर्यटनलाई स्थानीयले जीविकोपार्जनको माध्यम बनाएको सुनाए । अहिले उनीहरू चितवन र नवलपरासीको राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अध्ययनमा छन् । ७ छात्रा र ५ छात्र सय पूर्णाङ्कको अन्तर्राष्ट्रिय प्रयोगात्मक अनुभव अध्ययनका लागि नेपाली संरक्षण क्षेत्रको काम, अनुभव र सफलतालाई अध्ययन गर्न यहाँ आएका हुन् । उनीहरूका साथमा विश्वविद्यालयका एसोसिएट प्रोफेसरसमेत छन् ।

नेपाल आएपछि सोचेभन्दा बढी संरक्षणको काम देखेर खुसी भएको विद्यार्थी एस्ली बेकरले बताइन् । ‘नेपालको जैविक विविधता, हिमाल, पहाड र तराईको संरक्षणमैत्री काम, हिमालको मनमोहक दृश्य र चरा तथा वन्यजन्तुको आकर्षणले सबैलाई लोभ्याएको छ,’ उनले भनिन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थानीय जनताको सहभागितामा हिमाली र पहाडी क्षेत्रका वन्यजन्तु, चरा र जैविक विविधता संरक्षणसँगै भइरहेको जीविकोपार्जन निकै राम्रो लागेको उनीहरूले बताएका छन् । उनीहरूले रूपन्देही र कपिलवस्तुको जैविक विविधता, पर्यापर्यटन, मानव र चराको सम्बन्ध उदाहरणीय लागेको बताए ।

नेपालभन्दा अस्ट्रेलिया ५३ गुणा ठूलो छ तर थोरै समयमै हिमाल, पहाडदेखि तराईका फाँट, वन्यजन्तु, चरा र सिमसार क्षेत्र अवलोकन गर्न पाउनु सहज भएको विश्वविद्यालयकी एसोसिएट प्रोफेसर मेलानी मासारोले बताइन् । ‘जैविक विविधताका लागि अनौठो छ नेपाल,’ उनले भनिन्, ‘त्यही भएर यता आएका हौं ।’ विद्यार्थी हेलन थम्सनले नेपाल भ्रमण फलदायी भएको बताइन् । ‘नेपाली धर्म संस्कृतिले चरा र सरिसृप संरक्षण गरेको देख्दा मन पर्‍यो,’ उनले भनिन्, ‘यसले काग, कुकुर, सर्प र कछुवाको संरक्षणमा निकै सहयोग पुगेको छ ।’

अस्ट्रेलियाको पहिलो कार्बन न्युट्रल विश्वविद्यालय चार्ल्स स्टटमा ४० विषयमा अध्ययन अध्यापन हुन्छ । विश्वविद्यालयमा विश्वका एक सयभन्दा बढी मुलुकका ४३ हजार विद्यार्थी अध्ययरत छन् । यस्तो प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थीले अध्ययनका लागि नेपाल छनोट गर्नुले यहाँको पर्यापर्यटन र संरक्षणमा सकारात्मक सन्देश दिने चराविद् हेमसागर बरालले बताए । अध्ययनपछि विद्यार्थीले प्रकाशन गर्ने अनुसन्धानमूलक पुस्तक र अनुभव आदानप्रदानले यहाँका पर्यटकीय विकास र आकर्षण उजागरका लागि गतिलो विज्ञापनको काम गर्ने उनले बताए । पर्यटन इलमीविक्रम पाँडेकाजीले पनि विदेशी विद्यार्थीले अध्ययनका लागि नेपाल छान्नु गौरवको विषय भएको बताए । ‘यसले विदेशमा बीबीसी र सीएनएनले गर्नेभन्दा बढी पर्यटन प्रवर्द्धन गर्छ,’ उनले भने, ‘पर्यटन बोर्डले पनि सहजीकरण गरेर सक्दो बढी विदेशी विद्यार्थी ल्याउन पहल गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *