समाचार

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; बुधवार, २० पौष २०७९

काठमाडौं-यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ।

प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन।

काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मंगलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो।

सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने ५ र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न २ गरी ७ जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुना यातायात व्यवस्था कार्यालय र काठमाडौँको ठूलोभर्‍याङ तथा चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो।

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्‍यायाइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उनले बताए।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए।

यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *