अर्थसमाचार

झोलुंगे पुल मर्मत नहुँदा सास्ती

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

काठमाडौं —  कालिकोटको शुभकालिका गाउँपालिका– ६ स्थित हाउडीखोला झोलुंगे पुल मर्मतमा कसैको ध्यान नपुग्दा विद्यार्थी र स्थानीयले सास्ती भोग्नु परिरहेको छ। तीन वर्षपहिले निर्माण गरिएको करिब १९ मिटर लामो झोलुंगे पुलमा लगाइएको लट्ठा असोज १९ देखि ५ दिनसम्म परेको वर्षापछि आएको बाढीपहिरोले बगाएको र त्यसयता काठको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय।

जीर्ण पुलबाट विद्यार्थीलाई पनि आवतजावत गर्न समस्या भएको छ। गाउँपालिका अध्यक्ष गोविन्द आचार्यको वडामा यस्तो समस्या हुनु लज्जास्पद भएको स्थानीय बताउँछन्। दैनिक १५–२० जना विद्यार्थी ज्यान जोखिममा पारेर चन्द–सूर्य माध्यमिक विद्यालयमा अध्ययनका लागि आउने गरेको विद्यालयका एक शिक्षकले बताए।

उनले भने, ‘म र हाम्रा विद्यार्थीले ज्यान जोखिममा पारेर ओहोर–दोहोर गर्नुपर्छ। स्थानीय सरकारले चासो नदेखाउँदा हामीले सास्ती खेपिरहेका छौं।’ घाँस–दाउराका लागि खोलाबाट वारपार गर्दा समस्या भएको स्थानीय बताउँछन्।

यता हप्ता दिनभित्र पुल मर्मत गर्ने प्रतिबद्धता दिएका वडाध्यक्षसमेतको ध्यान पुल मर्मतमा नगएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार पुल मर्मत नभएपछि जोखिम मोलेर काठबाट हिँड्नुपरेको बाध्यता छ। स्थानीय सरकार गाउँमै आयो अब त विकास हुन्छ। भनिरहँदा झन् कालिकोटका नागरिकले सास्ती पाउने गरेका छन्।

कात्तिक १४ मा पनि जिते बजारको पुलमा स्थानीयले भर्‍याङ बनाएर आवतजावत गर्दा त्यो पुल भाइरल बनेको थियो। स्थानीय सरकारले नागरिकका विषयमा राम्रो काम नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *