समाचार

सराङकोटको प्याराग्लाइडिङ अब रिभानमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; शनिबार, पौष ०२, २०७९

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उडान नजिकिँदै गर्दा यहाँको प्रमुख पर्यटकीय आकर्षण प्याराग्लाइडिङलाई सिधा असर पर्ने निश्चित भएको छ।

प्याराग्लाइडिङ विस्थापित हुने चिन्तामा रहेका पर्यटन ब्यवसायीलाई अब केही हदसम्म राहत हुने भएको छ।

प्याराग्लिइडिङका लागि पोखरानै उत्कृष्ट स्थान भएकाले यहाँको पहिचान गुमाउन नहुने भन्दै व्यवसायीहरू विकल्पको खोजीमा छन्।

यसैबीच पोखराको पर्यटनलाई मध्यनजर गर्दै पोखराबाट नजिकै रहेको माछापुच्छ्रे गाउँपालिकाको रिभान गाउँमा अब ब्यवसायिक रूपमा प्याराग्लाइडिङ शुरू हुने भएको हो।

समुद्री सतहबाट करिब १ हजार ९०० मिटर उचाईमा रहेको रिभान गाउँलाई विगतमा पनि सराङकोटको विकल्पका रूपमा हेरिएको थियो। यहाँबाट धेरै पटक प्याराग्लाईडिङ उडान भइसकेकोले यो एक मात्र विकल्प भएको स्थानीय युवा गंगा गुरूङले भने।

‘पोखरा उपत्यकासँगै माछापुछ्रे हिमालको काखैमा हुने उडानले पर्यटकलाई अझै बढी रोमान्चक बनाउने छ’, उनले भने, ‘यहाँबाट पोखरा उपत्यकासँगै माछापुछ्रे, मर्दी, धौलागिरीलगायतका हिमश्रृंखलासँग प्रत्यक्ष साक्षात्कार गर्न सकिन्छ।’

पूर्वाधार निर्माणको काम तिब्र रूपमा भइरहेकाले नागरिक उडड्यन प्राधिकरणबाट औपचारिक स्वीकृतीको पर्खाईमा रहेको स्थानीय समाजसेवी मीन गुरूङले जानकारी दिए।

‘स्थानीयस्तरमा हामीले पूर्वाधार निर्माण गरिसकेपछि नागरिक उडड्यन प्राधिकरणबाट औपचारिक स्वीकृतीको अन्तिम चरणमा पुगेका छौ। अब चाडै ब्यवसायीलाई सार्वजनिक आह्वान समेत गरिनेछ’, उनले भने।

पोखराबाट हेम्जा हुँदै ४० मिनेटको यात्रामा पुगिने रिभान मुल गाउँस्थित लेस्काने डाँडाबाट पहिले पनि उडान हुने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल बहादुर भट्टराईले बताए।

सारङकोटबाट अब पहिलेको जस्तो उडान गर्न नसकिने भएकोले ब्यवसायीहरू वरिपरीको उत्कृष्ट स्थानको खोजीमा रहेको उनले बताए।

अहिलेको स्थानमा अब चार वटा एयर बक्समध्ये एउटाबाट मात्र उड्न मिल्ने र त्यसमा पनि समय र उचाईको लिमिटेसन क्यानले तोकिदिएकोले अब धेरैले साराङ्गकोटको एयरस्पेस छोड्नुपर्ने बाध्यतामा पुगेको भट्टराईले बताए।

२५ वर्ष अघि सन् १९९६ मा शुरू भएको प्याराग्लाइडिङमा हालसम्म ६० वटा कम्पनीले पोखराको साराङकोटबाट उडान भर्दै आएका छन्।

पोखराकै गाउँमा साराङ्गकोटको उत्कृष्ट विकल्प सहितको उडान भर्न पाउने भएपछि पर्यटन ब्यवसायीमा खुशी पलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *