समाचारस्वास्थ्य

रामेछापमा बिहेभोज खाएपछि ३४ जना बिरामी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

रामेछाप — रामेछाप नगरपालिका ५ रामपुरको साइटारस्थित विवाहको भोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी परेका छन् । भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाई विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा लगिएको छ ।

जिल्ला अस्पताल रामेछापका अनुसार बिरामी परेकामध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अरु २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।

जिल्ला अस्पतालमा पुगेका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सबै बिरामीमा इहिस्टोलाइटीका नामको किटाणु फेला परेको छ । उक्त किटाणुले आउँ र पखाला गराउने उनले बताए । पेट दुख्ने र तत्कालै आउँसहितको पखाला लाग्ने समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिएपछि क्रमिक सुधार हुँदै गएको उनले बताए ।

रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार रामपुरको साइटारका प्रदीप मगरको सोमबार भएको विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको थियो । अरु सामान्य बिरामी प्राथमिक उपचारपछि घर फर्केका छन् । सोमबार विवाहको भोजको रुपमा उनीहरूले बंगुरको मासु खाएको बताइएको छ ।

यसैबीच विवाह भोज खाएर बिरामी परेकाहरूको घर दैलोमै पुगेर उपचार गर्ने उद्देश्यले जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मी टोली मंगलबार अपराह्न त्यसतर्फ लागेको छ । डा. यादवले गाउँमा पुगेपछि थप बिरामीहरुमा देखा परेका समस्याबारे अनुसन्धान गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *