पुरुष शक्तिशाली कि महिला?

कल्पना गर्नुहोस्, तपाईंको आँखैअगाडि एक महिला र पुरुषबीच झगडा चलिरहेको छ। निमेषभरमै त्यहाँ हिंसा सुरू हुन्छ।

नशामा बत्तिइरहेको पुरुषलाई सुरूमा महिलाले छाता प्रहार गर्छिन्। छाता दुई टुक्रा हुन्छ। टुक्रिएको छाताको डन्डी भयावह देखिन्छ। अचानक पुरुषलाई ज्यानको माया लागेर आउँछ, अलिकति नशा उत्रिन्छ। ऊ कुदेर भाग्न थाल्छ।

तर दस पाइला नपुग्दै उसको पुरुष अहंकार जाग्छ- श्रीमतीसित डराएर भागेँ भने भोलि भट्टीमा मेरो इज्जत के हुन्छ?

राँकिँदै भुइँमा हेर्दा उसले एउटा चुच्चे ढुंगा फेला पार्छ, पछि फर्किन्छ र सम्पूर्ण बल लगाएर महिलातिर प्रहार गर्छ। ढुंगाको चुच्चो महिलाको एउटा आँखामा रोपिन्छ। फुटेको आँखाबाट तातो तरल पदार्थ रगतमा मिसिएर भुलुलु उनको गाला हुँदै बग्छ। उनी थचक्क बस्छिन्।

अनि पुरुष शान र सन्तुष्टिपूर्वक त्यहाँबाट बाहिरिन्छ।

यो मुठभेडमा को शक्तिशाली निस्कियो?

सही गलतको कुरा अलग हो, तर शक्तिशाली त पुरुष नै निस्कियो- हामीलाई यस्तै लाग्छ।

अनि हामी व्याख्या गर्छौं- पुरुष अग्लो र बलिष्ठ थियो। उसका मांसपेशी पुष्ट थिए। तिनलाई प्रयोग गरेर उसले महिलामाथि हिंसा गर्‍यो। महिला घाइते भइन्। त्यसपछि उसलाई खेदेर बदला लिन सकिनन्। त्यसैले यो भीडन्त जित्ने पुरुष नै शक्तिशाली निस्कियो!

यस्ता करोड वटा घटना र भाष्य एक ठाउँमा राखेर हेर्‍यो भने निश्कर्ष निस्कन्छ- बाँकी जे होस्, तुलनै गर्ने हो भने महिलाभन्दा शक्तिशाली चाहिँ पुरुष नै हुन्छन्!

त्यसमा केहीले थप्छन्- संसार शक्तिशालीहरूकै हो। त्यसैले यहाँ पुरुषले राज गर्नु स्वाभाविक वा प्राकृतिक कुरा हो!

अरू केहीले थप्छन्- प्रकृतिले महिलालाई पाठेघर दियो, पुरुषलाई दिएन। त्यसैले बच्चा जन्माउनुपर्दा महिला कमजोर बन्न पुगे!

फेरि कसैले थप्छन्- कमजोर भएकैले महिलाहरू पुरुषको संरक्षणमा रहनुपर्छ!

अरूले भन्छन्- नियन्त्रणबिनाको संरक्षण सम्भव हुँदैन। त्यसैले महिलाको खानपिन र वेशभूषाजस्ता कुराकानी पुरुषले तय गर्न पाउनुपर्छ। उनीहरूको आवागमन पनि पुरुषले नियन्त्रण गर्न पाउनुपर्छ!

अनि सिर्जना हुन पुग्छ पितृसत्तात्मक व्यवस्था।

यो व्यवस्थाका तर्कहरूलाई धूलो चटाउने गनेरै नसकिने कृतिहरू छन् संसारमा। तर नेपालमा त्यस्तो साहित्यको खडेरी छ। हालै एउटा किताब भने त्यसको अपवाद बनेर आएको छ- डा. नवराज केसीको ‘शून्यको मूल्यः सास, साहस र स्नेहका कथा’।

माथिको उदाहरण मैले डा. केसीले असाध्य मधुर भाषामा गरेको एउटा वास्तविक घटनाको वर्णनबाट जस्ताको तस्तै उठाएको हुँ।

त्यो घटनाबारे पढेपछि हामी धेरैलाई लाग्न सक्छ- त्यस्ता घटना त हाम्रो छिमेकमै भइरहेका हुन्छन्। समाचारमा दैनिक जस्तो भेटिन्छन्। त्यसमा नौलो नै के छ?

किताबमा नौलो कुरा भनेको डा. केसीको तर्क छ- उल्लिखित झडपमा पुरुष शक्तिशाली होइन, कायर छ। महिला निरीह होइन, शक्तिशाली छन्। हामीले त्यो कुरा बुझ्न र बुझाउनमा गल्ती गरेका कारण कायर अपराधीहरूले बहादुरको संज्ञा पाए र आफ्ना कुकर्महरू दोहोर्‍याइरहे।

बहादुरीपूर्वक जीवनका लडाइँमा उत्रिने महिलाहरूलाई सधैंभर यसरी ‘तिमीहरू लाचार र कमजोर हौ’ भनियो कि उनीहरूमध्ये धेरै आफैं त्यसलाई पत्याउने अवस्थामा पुगे।

परिणाम- सिंगो सामाजिक संरचना एउटा झुटमा खडा हुन पुग्यो जहाँ त्यो झुटलाई बचाइराख्न पनि विभेद र हिंसा आवश्यक पर्न गयो।

फुटेको आँखामाथि फोहोर टालो अँठ्याएर रगत रोक्न छट्पटाइरहेकी एउटी महिला कसरी शक्तिशाली हुन सक्छिन्?

त्यसका लागि डा. केसीले मुगुको विकट गाउँमा पुगेर खोजेकी कर्किनी बज्यै नामक फेरि कहिल्यै भुल्न नसकिने पात्रको जीवनकथा अलि विस्तारमा जान्नुपर्छ।

अरू धेरै कर्णालीबासीझैं उनको जोडी पनि हातमुख जोड्ने उपाय खोज्दै भारतको कालापहाड पुग्यो। साथमा थिए दुई साना छोरी। अस्थायी बासमा बसेको उनीहरूको परिवारबाट बुढो चाहिँ मन लागे काम गर्थ्यो, मन नलागे जाँड खाएर दिन काट्थ्यो। कर्किनी बज्यै दिनभर काममा फहरिएर छोरीहरूका लागि दुई छाक जुटाउँथिन्। घरमा ठूली छोरी सानीलाई फुल्याएर बस्थिन्।

एक दिन बुढोले ठूली छोरीमा अवसर देख्यो। उनलाई होटलमा लगेर ‘काम’ लगाइदियो। बदलामा आफूले टिल्ल हुने गरी जाँड धोक्यो।

साँझ कामबाट फर्किँदा घरमा रोइरहेकी सानी छोरी मात्रै देखेर कर्किनी बज्यै छाँगाबाट खसेजस्तै भइन्। ‘खै दिदी’ भन्दा भन्दै बाउछोरीको प्रवेश भयो, बाउ धङधङाउँदै, छोरी रूँदै।

छोरीले घटना विवरण सुनाएपछि आगो भएकी कर्किनी बज्यै माथिको दृश्यमा झैं बुढोमाथि जाइलागिन्। बदलामा सदाका लागि एउटा आँखा गुमाइन्।

दुईमध्ये को चाहिँ शक्तिशाली भन्ने प्रश्नमा अब एकचोटि फर्कौं।

एकतिर पुरुष छ जसले आफ्नो नशाको आवश्यकता पूरा गर्न बालिका छोरीमाथि जघन्य हिंसाको अवस्था सिर्जना गरेको छ।

अर्कातिर महिला छिन् जो छोरीहरूको सास जोगाउन मात्रै होइन, तिनको स्वाभिमान र आत्मसम्मानको रक्षाका लागि आफूसित भएका सबै हतियार लिएर लड्न तयार छिन्। हतियार नहुँदा खाली हात, आफ्नै ज्यान जोखिममा पारेर लड्न पनि तयार छिन्।

अब विचार गरौं, चुच्चे ढुंगाले हानेर श्रीमतीको आँखा फोडिदिने पुरुषका बलिष्ठ पाखुरालाई शक्तिशाली मान्ने कि आफूपछिको पुस्ताको अस्तित्व र स्वाभिमानका लागि ज्यान दिन तयार हुने महिलालाई शक्तिशाली मान्ने?

त्यो घटनापछि उक्त पुरुष कता पुग्यो, कहिलेसम्म कसरी जाँड खाएर बाँच्यो वा मर्‍यो, कर्किनी बज्यैलाई पनि थाहा छैन। तर त्यसै दिन उनको जिन्दगी बदलियो।

पहिले आँखा रहेको खोपिल्टोबाट रगत र पीपको धारा बगेसँगै कालापहाडमा बसेर मजदुरी गरिरहन सम्भव भएन। मजदुरी असम्भव हुनु भनेको खाना खान असम्भव हुनु थियो। त्यो भनेको आफ्नो र छोरीहरूका लागि जीवनै असम्भव हुनु थियो।

तर त्यो विकल्प कर्किनी बज्यैलाई स्वीकार्य थिएन।

आँखाको घाउले उनलाई अचेतप्रायः बनायो। तर त्यही अर्ध–बेहोसीमा पनि छोरीहरूको अस्तित्व रक्षाबाट उनी चुकिनन्। कहिले सानीलाई त कहिले दुवैलाई बोक्दै, गालामा निरन्तर बगिरहने रगत र पीप पुछ्दै उनी नेपालको बाटो हानिइन्। दिन के, रात के, उनी खाली हिँडिरहिन्।

एक दिन साथमा रहेको आखिरी दस रूपैयाँले छोरीहरूलाई दूध र दुनोट खुवाएपछि बज्यै बेखर्ची भइन्।

नेपालमा एकाध वर्षमा छोराछोरीलाई मारेर अन्तमा आफैं आत्महत्या गर्ने महिलाहरूबारे समाचार आइरहन्छन्।

तर कर्किनी बज्यैले त्यसको उल्टो बाटो रोजिन् र पसलकी साहुनीलाई सोधिन्- मलाई घरसम्म पुग्ने बाटो खर्च जुटाउनु छ। भाँडा माझ्ने काम दिनुहुन्छ?

त्यहाँको भाँडा मझाइ उनका लागि जीविकाको विश्वविद्यालय बन्न पुग्यो। पसलमा कसरी दूध आइपुग्थ्यो, कसरी चिनी र चियापत्ती आइपुग्थ्यो, त्यसबाट कसरी चिया बन्थ्यो र त्यसको व्यापार हुन्थ्यो, यो सबैको मेसो पाइन् उनले।

आँखाबाट पीप रोकिएर घाउ निको हुने बेलासम्म बज्यैको नयाँ जीवन सुरू गर्ने सबै तयारी सकिइसकेको थियो। त्यहाँबाट बिदा भएर गाउँ पुगेपछि कालापहाडको मजदुरी बिर्साउने गरी उनले बाटो छेउमा चिया पसल खोलिन्। छोरीहरू हुर्काइन्।

अब फेरि एकचोटि विचार गरौं- बज्यैको आँखा फोडिदिने पुरुष बलियो कि फोडिएको आँखा लिएर दुई छोरीलाई जीवन दिने, तिनको स्वाभिमान रक्षा गर्ने, आफैं पनि बाँकी जीवन आत्मसम्मानपूर्वक बाँच्ने महिला बलियो?

डा. केसीले दूरदराजसम्म पुगेर नखोतलेको भए सायद कर्किनी बज्यैको अदम्य साहसको कथा हामी कसैले सुन्न पाउने थिएनौं। तर यो टिप्पणीमा मैले ‘पुरुष शक्तिशाली कि महिला?’ भनेर सोध्नुको कारण बज्यै एक्लै होइनन्।

किताबमा दर्जन जति यस्ता महिला पात्र छन् जसबारे पढेपछि ‘महिलाभन्दा पुरुष शक्तिशाली हुन्छन्’ भन्ने भनाइ एउटा भद्दा मजाक प्रतीत हुन्छ। अनि पितृसत्ताले छरेको त्यस्तो भ्रम कति निम्छरो छ भन्ने पनि महसुस हुन्छ।

दुई बसाइमा किताब पढिसकेपछि मलाई लाग्यो- नेपालको सबभन्दा ठूलो व्यावहारिक ज्ञानको विश्वविद्यालय त कर्णालीमा पो रहेछ! हाम्रा लागि प्राध्यापकले भन्दा बढी सिकाउन र प्रेरणा दिन सक्ने महिलाहरू त त्यहाँ रहेछन्!

हार्वर्ड विश्वविद्यालयकी अध्येता एरिका चेनोवेथको अध्ययनले देखाउँछ- समाज बदलिन त्यहाँका आधा वा चौथाइ मानिसहरू आन्दोलनको मोर्चामा उत्रिनु पर्दैन, खाली जनसंख्याको ३.५ प्रतिशत मानिसहरू सक्रिय रूपमा अहिंसात्मक आन्दोलनमा उत्रिए पुग्छ।

मलाई लाग्छ, नेपालको जनसंख्याको ३.५ प्रतिशत अर्थात् १० लाख मानिसहरूले यो किताबको सन्देश ग्रहण गर्ने हो भने नेपालमा पितृसत्ता सजिलैसित धर्मराउनेछ।

अनि बाबुआमाले छोरीलाई ‘तिमी कमजोर छौ, शिर झुकाएर, बचेर बस्नू, लुक्नू, छोपिनू’ भन्नुको सट्टा भन्नेछन्- सृष्टि तिमीहरूकै काँधमा अडिएको छ, कसैसित नडराउनू। शिर ठाडो पारेर हिँड्नू।

आफूलाई विकास गर्दै लैजानू, शारीरिक र मानसिक रूपमा बलियो हुँदै जानु तर आफ्नो शक्तिलाई चिन्नू पनि। नाजायज फाइदा उठाउन कसैलाई नदिनू। हिंसाको कसैले संकेत मात्रै गर्छ भने त्यहीँ प्रतिकार सुरू गर्नू। असमानता र विभेद कहिल्यै नसहनू।

परिवारदेखि न्याय प्रणालीसम्मको आवश्यक सहयोग लिनू तर त्यहाँ अवरोध हुन्छ भने ती संस्थाकै विरूद्ध संघर्ष गर्नू।

अनि छोराहरूलाई भन्नेछन्- ‘पुरुषार्थ’ भन्ने कुनै कुरै हुँदैन। आँट र साहस सबैमा हुन सक्छ, हुनुपर्छ, त्यो कुनै लिंगमा सीमित हुन्छ भनेर नबुझ्नू। विभेद र हिंसाले तिमीलाई शक्तिशाली होइन, कायर बनाउँछ। शक्तिशाली बन्नु छ भने ठूलो जिम्मेवारी उठाऊ, लगनशील बन, आफैंलाई विकास गर्दै जाऊ।

नातीनातिनीका लागि कर्किनी बज्यैले त्यसो भन्न थालेको धेरै भइसक्यो- छोरीहरूलाई त मैले पढाउन सकिनँ तर तिमीहरू पढ, बढ र संसार जित।

बज्यैलाई यस्ता शब्द प्रयोग गर्न आउँदैन तर उनको आशय यस्तो हो- पितृसत्ताले मस्तिष्कमा विभेद र हिंसाको विष भरिदिएको एउटा पुरुषसित संघर्ष गर्दैखेरि मेरो जीवन गयो। उसैका कारण छोरीहरूले पनि पढ्ने, सिक्ने, संसार देख्ने मौका पाएनन्। तर म र छोरीहरूको संघर्षले तिमीहरूलाई स्वतन्त्रता र अवसरका पखेटा लगाइदिएको छ। तिनलाई प्रयोग गरेर उड र जीवनमा मानिसका लागि सम्भव हुने जति सबै कुराहरू हासिल गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *