राष्ट्रिय समाचारसूचना-प्रविधि

निर्वाचनमा ५.०६ प्रतिशत मत बदर (मंसिर ४ गतेको निर्वाचनमा सबैभन्दा बढी मत बदर सुदूर्पश्चिममा र सबैभन्दा कम मत बदर वाग्मतीमा भयो)

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ ।

सोमबार निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताएका हुन् । यस क्रममा प्रदेशसभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी ६.५५ प्रतिशत बदर भएको भट्टराईले बताए ।

त्यस्तै सबैभन्दा कम मत बदर प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भएको उनले जानकारी दिए । प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उनले बताए ।

त्यस्तै सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले बताए । उपसचिव भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वाग्मती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ ।

‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षाभन्दा कम मतदान भएको हामीले पायौँ । समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो । सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भयो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधि सभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो । हामीले कुल खसेको मतलाई सदर र बदर भनेर पनि हामीले तथ्यांक निकालेका छौँ । कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको हाम्रो तथ्यांकले देखाएको छ । त्यसमा सबैभन्दा बढी प्रदेश सभाको समानुपातिक तर्फ सबैभन्दा बढी मत बदर भएको देखिन्छ,’ भट्टराईले भने ।

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *