राष्ट्रिय समाचारसमाचार

चाँगुनारायणमा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम प्रभावकारी   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

लक्ष्मी गारु भादगाउँ, १९ असार (रासस ) ः

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत सुनीता झाङ्गजुको पनि सोही बैंकमा रहेको खातामा त्यतिनै रकम जम्मा भएको छ । सो माविकै कक्षा ८ मा अध्ययनरत सन्ध्या बस्नेतको पनि अनामिका र सुनीताको जस्तै बैंक खातामा रकम जम्मा भएको छ ।

अनामिका, सुनीता र सन्ध्याको मात्र होइन नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययनरत नगरवासी छात्राहरुको बैंक खाता खोलिएको छ । खातामा सबैको चार हजार बढी रकम जम्मा भइसकेको छ । यसवर्ष चार हजार थपिनेछ । यो क्रम छात्रा १२ कक्षा उत्तिर्ण नभएसम्म चलिरहनेछ । अनि १२ कक्षा उत्तिर्ण भएपछि एकमुष्ट व्याजसहित झिकेर कुनै व्यवसाय वा थप उच्च शिक्षा अध्ययन गर्न उनीहरुले लगानी गर्न सक्नेछन् ।

नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने नगरवासी छात्राहरुको बैंक खाता हुनु र सो खातामा वर्षेनी कम्तिमा चार हजार रुपैंया जम्मा हुनुको कारण हो नगरपालिकाको ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम । सामुदायिक विद्यालयमा अध्ययनरत छोरीहरुको शिक्षामा पहुँच अभिवृद्धि, गुणस्तरीय शिक्षा प्रदान, बालविवाह निरुत्साहित गर्ने, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाले नर्सरीदेखी कक्षा १२ अध्ययनरत ९३७ छात्राको बैंक खाता खोल्नुका साथै प्रत्येकको खातामा चार हजारका दरले ३७ लाख ६८ हजार रुपैंया जम्मा गरिसकेको शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले जानकारी दिनुभयो । नगरका ३५ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयमा अध्ययनरत नर्सरीदेखी १२ कक्षासम्म अध्ययनरत ९३७ छात्राहरुले यो सुविधा प्राप्त गरेको अर्यालले बताउनुभयो । तीन वटा विद्यालयमा भने स्थानीयवासीको छोरीको सङ्ख्या शून्य भएकोले ती विद्यालयमा यो कार्यक्रम लागु हुन सकेको छैन ।

कार्यक्रममा सहभागी हुन नगरवासी र नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने मापदण्डका कारण तीन वटामा सो सङ्ख्या शून्य भएको हो ।

कार्यक्रम शुरु भएको वर्ष कक्षा १ मा हुने छात्राले १२ कक्षा पुग्दा नगरपालिकाबाट ४८ हजार पाउँछन् । अहिले कक्षा ११ मा पढ्नेले दुई वर्ष रकम पाउँनेछन् । कार्यक्रम शुरु हुँदा कक्षा ५ मा हुने छात्राले ८ वर्षको ४८ हजार पाउँछन । त्यसमा व्याज वापतको रकम थप हुनेछ । कार्यविधिमा ‘आर्थिक वर्ष २०७७÷०७८ देखि चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत कार्यक्रममा सहभागी हुन चाहने नगरपालिकाका स्थायी वासिन्दा छोरीहरुलाई लक्षित वर्ग सम्झनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ ।

नगरप्रमुख सोम मिश्रले पनि चाँगुनारायणका नगरवासीले तिरेको कर वापतको रकम चाँगुनारायण बासीको हितमा खर्च गर्ने नीतिका कारण यस्तो नीति बनाउनु परेको बताउनुभयो । ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम नगरपालिकाले निश्चित उद्देश्यका साथ लागु गरेको उहाँको भनाइ छ । यसले छोरीहरुले पढ्दापढ्दै विद्यालय छोड्ने समस्या हट्ने र उनीहरुले कम्तिमा १२ कक्षासम्म अध्ययन गर्ने वातावरण निर्माण हुने मिश्रले बताउनुभयो । त्यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने, छोरीहरुको उमेर २० वर्ष नपुग्दै हुने विवाह रोक्ने र जम्मा भएको रकमले भविष्यमा केही गर्न सकियोस भन्ने उद्देश्य नगरपालिकाले लिएको छ । छात्राले १२ कक्षा उत्तिर्ण नगर्दै बीचमा पढाइ छाडेमा, स्थायीरुपमा अन्यत्र बस्न गएमा, १२ कक्षा उत्तिर्ण नहुँदै वा २० वर्ष नपुग्दै विवाह गरेमा भने खाताको रकम पाउने छैनन् । यसले बालिका शिक्षामा ठूलो फड्को मार्ने विश्वास नगरपालिकाले लिएको छ ।

समाजमा विद्यमान लैङ्गिक विभेदका कारण छोरालाई निजी तर छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउने प्रवृत्ति हावी हुने जोखिम रहेपनि त्यसलाई निरुत्साहित गरिने नगरपालिकाले जनाएको छ । “समाजको विकाससँगै छोरा छोरीबीचको विभेद हट्दै आएको छ । शिक्षामा यस्तो प्रवृत्ति अत्यन्त कम छ । कार्यक्रममा सहभागी विद्यार्थी र विद्यालयका प्रधानाध्यापकले कार्यक्रम सकारात्मक भएको जनाएका छन् । उनीहरुले कार्यक्रमले छोरीहरुको भविष्य सुनिश्चित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले नगरपालिकाले जम्मा गरिदिएको रकमले १२ कक्षा भन्दा माथि अध्ययन गर्न उपयोगी हुने बताएका छन ।

आर्थिक अवस्था कमजोर भएकी अनामिको भनाइ छ, “कक्षा १२ सम्म जसोतसो गरी पढे पनि त्यो भन्दा माथिको पढाइ नपाले जम्मा गरिदिएको पैसाले पढ्न सजिलो हुने भयो । म धेरै खुशी छु । यसले गर्दा मेरो परिवारलाई पनि केही हदसम्म आर्थिक भार कम हुने विश्वास गरेकी छु ।” नगरपालिकाले यो कार्यक्रम ल्याएर छोरीहरु माथि ठूलो गुन लगाएको कक्षा दशमा अध्ययनरत सुजिताको धारणा छ । “कक्षा १२ भन्दा माथि पढ्न नपाले खोली दिएको खाताको पैसाले पढ्न पाउनेमा अधिकांश छात्रा खुशी छन् । घरमा बुबाआमा पनि निकै खुशी हुनुहुन्छ ”, सुजिताले भनिन् । देवी माविमै कक्षा ८ मा पढ्ने सन्ध्याले उच्च शिक्षा हासिल गर्न कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बुबा आमाको कमाइ राम्रो छैन । सामान्य खेतीपाती हो । यसले गर्दा पछि क्याम्पस पढ्नलाई हामीलाई सजिलो हुने भयो ।”

देवी माविका प्रधानाध्यापक राजाराम छुंकाले कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि राहत पु¥याएको बताउनुभयो । “यो कार्यक्रम गत वर्ष मात्र नपाले ल्याएको हो । एक वर्षमै हाम्रो विद्यालयमा यसको सेवा लिने ९० जना विद्यार्थी पुगे । यसले गर्दा विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गरेको छ”, उहाँले भन्नुभयो । मापदण्ड भित्र नपरेका विद्यार्थीका अभिभावकहरुको भने आफ्ना छोरीहरु कार्यक्रममा नपरेको भन्दै गुनासो गरेको उहाँले बताउनुभयो । यसवर्ष शैक्षिक सत्र शुरु भएसँगै छात्राको सङ्ख्या बढ्ने सङ्केत देखिएको जानकारी उहाँले दिनुभयो । गणेश माविका सहायक प्रधानाध्यापक सानुभाइ रावतले अधिकांश विद्यार्थीहरु बाहिर जिल्लाका भएका कारण कार्यक्रमबाट लाभ लिन बञ्चित भएकोले नगरपालिकाले विभेद गरेको गुनासो आएको बताउनुभयो । आफ्नो विद्यालयमा १६ छात्रा कार्यक्रममा सहभागी भएको र अझै बढ्ने उहाँको भनाइ छ । ———

Leave a Reply

Your email address will not be published. Required fields are marked *