राष्ट्रिय समाचारसमाचार

निषेधाज्ञामा पनि धमाधम बन्दै सिटीहल   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चितवन, १४ जेठ (रासस) :

जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए ।

गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ । सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग महानगरले गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले तोकेको समयमा काम सम्पन्न गर्नुपर्छ । जे आवश्यक पर्छ सहयोग गर्छाैँ भनेका छौँ ।” यो आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । निर्माण कम्पनीले हालसम्म समयमै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा परियोजना पारेर जग्गाको व्यवस्थापन गर्न ठूलो मेहनत परेको भन्दै उहाँले यो गौरवको आयोजना समयमा सम्पन्न गर्न महानगरले सबै खालका सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्माण परिसरमा कामदार कर्मचारी रहने गरी निषेधाज्ञामा काम गर्न भनिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको उहाँको भनाइ छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो । जेभीका परियोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले स्थानीय प्रशासनको सहयोगका कारण काम रोक्नु नपरेको बताउनुभयो । भरतपुर महानगरपालिका र जिल्ला प्रशाासन कार्यालयसँग समन्वय गरेर बिहानदेखि साँझ अबेरसम्म काम गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजनाअन्तर्गत सिटीहल निर्माण भइरहेको हो । दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्टकक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । जिल्लामा ठूलो सभाहल नहुँदा महत्वपूर्ण कार्यक्रम हुन सकिरहेको छैन । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *