आलेख/अग्रलेखराष्ट्रिय समाचारसमाचार

कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नारायण अधिकारी, चितवन, जेठ (रासस) :

दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो ।

राजधानी काठमाडौँलगायतका ठूला शहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र सहयोगी हातहरुको तादात्म्यताले स्थितिलाई सहजै आफ्नो काबुमा हिडाइँरहेको छ । केही दिन अघिसम्म अक्सिजन सिलिण्डर, अक्सिजन हाइफ्लो नोजल, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री अभाव हुने देखिएपछि यहाँका सहयोगी हातहरु जुर्मुराएर अघि बढेका छन् ।

विभिन्न सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, व्यक्तिलगायतका दाताहरुले मन खोलेर अस्पतालहरुमा सहयोग गरिरहेका छन् । उनीहरुले अस्पतालको आवश्यकताअनुसारका स्वास्थ्य सामग्री खरिद गर्दै हस्तान्तरण गरिरहेका छन् । यो क्रम निरन्तर चलिरहेको छ । जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, लायन्स क्लब, लियो क्लब, रोटरी, विदेशमा रहेका विभिन्न सङ्घसंस्थाहरु र अन्य साामाजिक सङ्घसंस्थाहरु यतिखेर कोरोना सङ्क्रमितहरुको उपचारमा सहयोग गर्न तलिन्न बनेका छन् ।

मुख्यरूपमा भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र स्थानीय तहहरुले सञ्चालन गरेका आइसोलेशनमा दाताहले सहयोग गर्दै आएका छन् । भरतपुर अस्पताललाई चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले रु १० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।
समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनमा अक्सिजनको अभाव भएपछि आफूहरु यसै बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ सहयोग सङ्कलन गरेर भरतपुर अस्पताललाई सहयोग ग¥यौँ ।”

उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्टे«टर अस्पताललाई हस्तान्तरण गरेको छ । रु आठ लाख बराबरको ती सामग्री अस्पताललाई हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा थप सहयोगका लागि हामी जुटिरहेका छौँ ।”

यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अस्पताललाई करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले पुनः एकपटक सिलिण्डर रिफिलसमेत आफैँले गरेर दिने जनाएको छ ।

भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने र उहाँको श्रीमती साइराम डेन्टल केयरका प्रबन्ध निर्देशक डा सरु थापा न्यौपानेले १० थान अक्सिजन सिलिण्डर, १०० थान पिपिइसहित ग्लोब्सलगायतका सामग्री अस्पताललाई उपलब्ध गराउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन र लायन्स क्लब इन्टरनेसनल ३२५ बीटुले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन् ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटु नेपालले भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको छ । उक्त क्लबले एरिया नं ३ का क्लब तथा लायन्सहरुबाट कोभिड अभियान गरी सङ्कलन रकमबाट ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो । यस्तै क्लबले एक महिनाका लागि निःशुल्क शववाहन सहयोग गरेको छ । शवको व्यवस्थापन गर्दै आएको कालीबहादुर गणलाई उक्त शववाहन हस्तान्तरण गरिएको छ । बीटुका इलेक्ट गभर्नर रामप्रसाद भट्ट देशभरका लायन्सकर्मीहरु अभियानमा जुटिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो नारा नै ‘हामी सेवा गर्छाैँ’ भन्ने छ । त्यसैले हरेक विपत्तिमा लायन्स सहयोगमा जुटिरहन्छ ।” थप सहयोगका लागि आफूहरु लागिपरेको उहाँले जानकारी दिनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । फाउन्डेसनको आकस्मिक हेल्प कक्षले सो सहयोग सामग्री हस्तान्तरण गरेको हो । रु आठ लाख ७५ हजार बराबरको उक्त सामग्री फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अस्पतालका कार्यकारी निर्देशक डा देज गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

सपना भिलेज सोसल इम्पयाक्टले जिल्लाका दुई अस्पतालमा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । इम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र इच्छाकामना गाउँपालिकालाई पाँच थान गरी १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।

चितवन उद्योग सङ्घ रत्ननगर, खैरहनी, कालिका, राप्ती एकाइ समितिको संयुक्त आयोजना एवं चितवन उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घ वाग्मती प्रदेशको संयुक्त सहकार्यमा पूर्वी चितवनका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पिपिइ २४ थान, सेनिटाइजर ८५० थान, फेस सिल्ड १९८ थान, मास्क चार हजार २०० थान, पञ्जा ४५० थान, पानी ४०० कार्टुनसहित रु दुई लाखभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

कुमारी बैंक सौराहा शाखाले बछौली स्वास्थ्य चौकीलाई पाँचच वटा पल्स अक्सिमिटर सहयोग गरेको छ । भरतपुरमा रहेका विभिन्न सङ्घसंस्थाले कोरोना कहरको समयमा भोकाहरुलाई निःशुल्क खाना अभियान सञ्चालन गरिरहेका छन् । अभियानका संयोजक दिवाकर राज श्रेष्ठका अनुसार सन्देश फाउण्डेसन, न्यू वे फाउण्डेसन, रिकभरङ्ग नेपाल, द युनाइटेड चितवन, युवा समाज भरतपुर, विश्व हिन्दू युवा सङ्घ चितवन र भरतपुर बजार व्यवस्थापन समितिको सहयोगमा दैनिक ९० जनालाई बिहान र बेलुकाको खाना खुवाउने गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा ६० र कमलनगर, पुलचोकलगायतका ठाउँमा गरी सो सङ्ख्याममा खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको आइसोलेशनलाई प्रदेशसभा सदस्य रामलाल महतोले रु ५० हजार उपलब्ध गराउनुभएको छ भने क्लिनिक नेपालले १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको । अटोमेकानिकल व्यवसायी सङ्घले पछि फिर्ता गर्ने गरी १६ थान सिलिण्डर उपलब्ध गराएको महानगरले जनाएको छ । यसका अतिरिक्त विभिन्न सङ्घसंस्था यो अभियानमा जुटेका छन् । ती संस्थाले सरकारी अस्पताल र पालिकाका आइसोलेशनलाई विभिन्न सहयोग गर्दै आएका छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी दाताहरुको सहयोगका कारण अस्पताललाई धेरै सहयोग पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अस्पतालमा अत्यावश्यक उपकरणमा दाताहरुले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।” अस्पतालले खरिद गर्दा धेरै समय लाग्ने भन्दै उहाँले आपत्कालीन रूपमा दाताहरुको सहयोगले धेरै सङ्क्रमितलाई बचाउन सकिएको जानकारी दिनुभयो ।

जिल्लामा अहिले सक्रिय सङ्क्रमित चार हजार ३८९ रहेका छन् । तीमध्ये २१३ जना अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् । चार हजार १६७ होम आइसोलेशनमा रहेका छन् भने नौ जना सार्वजनिक आइसोलेशनमा छन् । जिल्लामा हालसम्म १२ हजार ७२ कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १८२ को मृत्यु भएको छ ।

जिल्लाका अस्पतालहरुमा ५०० भन्दा बढी सङ्क्रमितको उपचार भएको छ । तीमध्ये २६० सघन उपचार कक्षमा उपचाररत छन् । यहाँ दैनिक १० देखि १५ जनाको मृत्यु हुँदै आएको छ । अस्पतालमा उपचारमध्ये ६० प्रतिशत बाहिरी जिल्लाका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *