समाचारस्वास्थ्यहेडलाइन

डोटीमा आज रातिबाट निषेधाज्ञा   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

डोटी, २१ वैशाख (रासस) :

जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।

बागलुङमा आजदेखि निषेधाज्ञा

बलेवा– कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।

समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आउनुभएकी उहाँको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उहाँको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उहाँको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँ गाउँ कार्यपालिका सदस्य हुनुहुन्थ्यो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *