समाचार

प्रहरीमा ३० वर्षे सेवावधि हटाउने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ५ चैत्र २०७९ ,आइतबार

काठमाडौँ- प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका कारण वर्तमान नेतृत्व बिदा भएर नयाँ नेतृत्व आउने बेलामा सरकारले उक्त व्यवस्था हटाउने योजनासहित नयाँ प्रहरी ऐन ल्याउन लागेको हो।

३० वर्षे सेवावधि हटाउन सर्वोच्च अदालतको फैसला बाधक भएका कारण मौजुदा प्रहरी ऐन प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा तयार गरिएको हो। ‘नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा बनेको छ। यसलाई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘अर्थले सहमति दिएपछि कानुन मन्त्रालयमा पठाउनुपर्छ। कानुनले रायसुझाव दिएपछि लोकसेवा आयोगमा पठाउनुपर्छ। अर्थ, कानुन मन्त्रालय र लोकसेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेस हुन्छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसद्मा प्रस्तुत गर्नुपर्ने भएकाले केही समय लाग्छ।’

सहसचिव बस्नेतका अनुसार ऐन संशोधन मस्यौदामा नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाइएको छ। ‘अहिलको सेवावधि वैज्ञानिक छैन भन्ने आवाज धेरैतिरबाट आएकाले हटाउन प्रस्ताव गरिएको छ’, उनले भने।

केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएका बेला २०७६ सालमा पनि ३० वर्षे सेवावधि हटाउने प्रस्तावसहित नेपाल प्रहरी ऐन संशोधन मस्यौदा संसद्मा पेस गरिएको थियो। त्यसबेला उक्त मस्यौदा संसद्ले फिर्ता पठाएपछि ऐन संशोधन हुन सकेको थिएन। गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी नियमावली, २०७१ को दफा १२७ मा आइजिपीको पदावधि ४ वर्ष उल्लेख भए पनि ऐन संशोधन मस्यौदामा पदावधि तीन वर्ष हुने व्यवस्था गरिएको छ। मस्यौदामा अहिले कायम रहेको आइजिपीको उमेरहद ५८ वर्ष यथावत् राखिएको छ। संशोधन मस्यौदामा एआइजिपीको उमेरहद र पदावधि थपघट गरिएको छ।

प्रहरी नियमावलीअनुसार अहिले एआइजिपीको उमेरहद ५६ र पदावधि ५ वर्ष छ। तर ऐन संशोधन मस्यौदामा एआइजिपीको उमेरहद एक वर्ष बढाएर ५७ र पदावधि एक वर्ष घटाएर चार वर्ष बनाउन प्रस्ताव गरिएको छ। त्यस्तै ऐन संशोधन मस्यौदामा एआइजी र डिआइजीको उमेरहद र पदावधि संशोधन गर्न प्रस्ताव गरिएको छ।

अहिले प्रहरी नियमावलीअनुसार एआइजी र डिआइजीको पदावधि पाँच वर्ष र उमेरहद ५६ वर्ष छ। ऐन संशोधन मस्यौदामा एसएसपी उमेरहद ५६ र पदावधि ६ वर्ष प्रस्ताव गरिएको छ। एसपीको उमेरहद ५६ वर्ष र पदावधि १० वर्ष प्रस्ताव गरिएको छ। ऐन संशोधन मस्यौदामा कार्यालय सहयोगीको उमेरहद भने ५५ वर्ष नै कायम गरिएकोे छ। नेपाल प्रहरी ऐन मस्यौदा, २०७९ संसद्बाट पारित भएपछि प्रहरी ऐन, २०१२ खारेज हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *