स्वास्थ्य

राकम कर्णालीमा एक सय शय्याको अस्पताल बन्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

१० फाल्गुन २०७९ बुधबार

जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टर सहितको एक सय बेडको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ। २०७६ फागुन १० गते नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको  शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।

नगरपालिका र प्रतिष्ठान बीचको सम्झौता अनुसार राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माण हुनेछ। अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ।

शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ जाक्सिमा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफलको जग्गा व्यवस्थापन भइसकेको नगरप्रमुख तर्कबहादुर बडुवालले बताए। उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ। अस्पताल निर्माणको लागि डिपिआर  निर्माणको काम भइरहेको नगरप्रमुख बडुवालले बताए। अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भइसकेको छ।

हाल नगरले राकम कर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रदान गरिरहेको छ। उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा प्रतिष्ठानले चिकित्सक खटाएको छ। अस्पतालमा आधारभूत भौतिक व्यवस्थापनहरु एक्सरे,भिडियो एक्सरे,इसिजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष तयार तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगर उप–प्रमुख कल्पना थापाले बताइन्।

२०७८ माघ १६ गते नगरप्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारबीच भएको सम्झौता अनुसार प्रतिष्ठानले हालको आधारभुत अस्पतालमा थप विशेषज्ञ सेवाका लागि जनशक्ति परिचालन गर्ने नगरले बजेट व्यवस्थापन गर्न बाँकी छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाहले राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए।

पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण भइसक्ने बताइन्। उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृश्य वा अदृश्य रुपमा निरन्तर उठाउने बताइन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए। डा. रावलले आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याईने दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *