खेलकुद

बार्सिलोनाले जित्यो सुपर कप, जाभीको पहिलो उपाधि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ माघ २०७९, सोमवार

काठमाडौं –  चीर प्रतिद्वन्द्वी रियल मड्रिडमाथि सहज जितसँगै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । क्लबका पूर्वमहान खेलाडी जाभीले प्रशिक्षक संहालेयता बार्सिलोनाले पहिलो उपाधि जितेको हो ।

साउदी अरबमा खेलिएको यो एल क्लासिकोमा ला लिगा लिडर बार्सिनोलाले रियललाई दबाबमा राखेको थियो । १८ वर्षीय गाभीले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गरेपछि ३३औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको हो ।

पहिलो हाफ सकिनु केही मिनेटअघि गाभीको पासमा लेवान्डोस्कीले गोल गरी अग्रता बढाए । दोस्रो हाफमा पेड्रीले गरेको गोलका लागि पनि गाभीले नै बल उपलब्ध गराएका थिए ।

रियल मड्रिडका लागि करिम बेन्जेमाले इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।

रियलले गाभीको शानदार प्रदर्शनलाई नियन्त्रण गर्न नसक्दा हार बेहोरेको हो । गाभीले एक गोल गरे भने दुई गोलका लागि पास मिलाए । उनी सुपर कपमा गोल गर्ने कान्छो खेलाडीसमेत बनेका छन् । यो कीर्तिमान उनले अहिलेका प्रशिक्षक जाभीबाट आफ्नो नाममा सारेका हुन् ।

यो सिजनको पहिलो एल क्लासिको गत अक्टोबरमा आयोजना भएको थियो । त्यतिवेला रियल ३-१ ले विजयी थियो ।

तर, त्यसयता बार्सिलोना ला लिगामा लगातार राम्रो लयमा देखिन्छ । अहिले उनीहरु अंकतालिकाको शीर्ष स्थानमा छन् । रियलभन्दा प्रष्ट ३ अंकले अगाडि छन् ।

योसँगै सबै प्रतियोगितामा गरेर बार्सिलोनाले अपराजित खेलको शृंखला ९ पुर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *