अन्तर्राष्ट्रिय समाचार

महँगी र हड्तालले चौपट बन्दै बेलायती अर्थतन्त्र

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

अहिलेको हड्तालले कुन रूप लिने र त्यसले असर पार्ने सबै क्षेत्र पुन: चुस्तदुरुस्त हुन कति समय लाग्ने हो, त्यो हेर्न बाँकी नै छ। देशको आर्थिक स्थितिले गर्दा राजनीतिक अस्थिरता पनि देखिसकिएको छ।

सन् २०१९/२० को एक तथ्यांक अनुसार बेलायतमा १०० देखि २ लाख ५० हजारभन्दा बढी सदस्यता भएका विभिन्न क्षेत्रमा काम गर्नेहरूको ट्रेड युनियन संख्या ११५ को हाराहारीमा थियो। १६ वटा युनियन चाहिं १०० भन्दा कम सदस्य भएका थिए। बेलायतमा साढे २ लाख सदस्य भएकादेखि १०० को संख्यामा सदस्य रहेका ट्रेड युनियनहरू छन्।

बेलायत आएको २६ वर्षमा पहिलो पटक यति धेरै हड्ताल हुँदै गरेको सुन्दा अचम्म लागेर केही आफूभन्दा पाका यहींकै रैथानेहरूलाई प्रश्न गरें। उनीहरूले पनि खासै सम्झिन सकेनन्। बेलाबखत वातावरणप्रेमीहरूले विभिन्न विषयमा विरोध जनाउँदा कतिपय अवस्थामा सार्वजनिक असुविधा हुने गरेको देखिन्थ्यो, सुनिन्थ्यो। तर केही समयदेखि बेलायतमा तेल उत्खनन नगरियोस् भन्दै मुख्य सडकहरू नै बन्द हुने गरी धेरै प्रदर्शनकारी सहभागी भइरहेका छन्।

उनीहरूले प्रहरीले सजिलै हटाउन नसकियोस् भनेर ग्लु दलेर सडकमा सुतेर समेत यो अभियानलाई बढीभन्दा बढी प्रभावकारी बनाउने गर्दै आएका छन्। पक्राउ पर्नेहरूलाई जेल सजाय हुने भनिए पनि यो क्रम झन्‌झन्‌ बढ्दै गइरहेको देखिन्छ। फाट्टफुट्ट विभिन्‍न मागहरू, विशेषत: तलब बढाउने माग राखेर बस, रेलहरू पनि बन्द हुने गरेका छन्। पछिल्लो पटक ३० नोभेम्बर २०११ मा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूले पेन्सनको विषयमा आमहड्ताल गरे। त्यसमा करिब २० लाख सार्वजनिक क्षेत्रका कर्मचारीहरू सहभागी भएपछि सबै क्षेत्रमा असर पारेको थियो।

महामारीको त्रासदीले थला पारेको संसार तंग्रिन नपाउँदै फेरि युक्रेन र रसियाको लडाईंले मर्माहत बनायो। प्रायः सबै विकसित देशहरू यो लडाईंमा अप्रत्यक्ष रूपमा सहभागी भए। ती देशहरूको ठूलो बजेट त्यतातिर खर्च हुने नै भयो। इन्धन आपूर्तिमा कमी भएपछि चौतर्फी महँगी आकाशिनु स्वाभाविक नै थियो। बेलायतमा पनि ४० वर्षपछि यति धेरै मुद्रास्फीति भयो।

बजार भाउ वृद्धि जस्तै पारिश्रमिक पनि स्वत: बढ्ने विषय होइन। यद्यपि यसबारे सन् १८९८ देखि नै आवाज उठ्न थालेको हो। बढ्दो खर्चको कारण आफूले पाउने तलब कम महसुस गर्नु स्वाभाविक नै हो। केही समय अगाडि यहाँका सिकारु अपराध कानुनका वरिष्ठ अधिवक्ताहरूले सुरू गरेको हड्ताल निकै चर्चाको विषय बनेको थियो। दुनियाँलाई न्याय दिन काम गर्ने वकिलहरू नै आफूलाई साह्रै थोरै तलब पाउने गरेकाले कडा विरोधसँगै आन्दोलनमा उत्रेका थिए। त्यसलगत्तै सरकारले अहिलेलाई कानुनी सहायता शुल्कमा १५ प्रतिशत वृद्धिको शीर्षकमा थप ३० मिलियन पाउण्ड छुट्याउने सहमति भएपछि १० अक्टोबर २०२२ मा उक्त हड्ताल रोकिएको थियो।

सुरेन्द्र नेपाल श्रेष्ठ
अहिले विभिन्न क्षेत्रका कर्मचारीहरूले आफ्नो मासिक तलब बढ्नुपर्ने मागसहित क्रिसमस जस्तो महत्वपूर्ण समयमा काम नगर्ने घोषणा गरेका छन्। यो हड्ताल भन्ने विषय नै सकेसम्म धेरैलाई प्रभाव परोस्‌ र त्यसपछि उनीहरूले उठाएको विषयले महत्व पाउनेछन् भन्ने सिद्धान्तमा आधारित हुने रहेछ। यहाँको रेल युनियन आरएमटीले केही समयदेखि हड्ताल गर्दै आएका छन्। उनीहरूले चाडपर्वको अवधि क्रिसमसको पूर्वसन्ध्यामा नै रेल सेवा बन्द गर्ने भएका छन्। यो महिनाका केही दिनमा निजामती कर्मचारी, नर्स, हुलाक कर्मचारी, बस चालक, एम्बुलेन्स चालक, रेस्टुरेन्ट पब, कफिन निर्माताहरूले पनि वाक्आउट गरिरहेका छन्।

अहिले रेडियो, पत्रपत्रिका जताततै यही हड्‌तालबारे चर्चा परिचर्चा हुने गर्छ। एलबीसी टुनाइट विथ एन्ड्रयू मारमा यसबारे गज्‍जबले चित्रण गरिएको थियो। दुई जनाको संवाद यस्तो थियो—

‘यदि यो क्रिसमसमा घर परिवार भेट्न रेल चढेर जाने सोचमा भए त्यो बिर्सनु, जताततै हड्ताल छ।’

‘मलाई केही फरक पर्दैन बसमा जान्छु।’

‘बस चलाउनेहरूलाई पनि तलब पुगेन रे।’

‘ए त्यसो भए गाडीमै जानुपर्ला।’

‘हाइ वे बनाउन थालेकाहरूले पनि काम नगर्ने भएकाले कतिपय मुख्य बाटोहरूमा लामो समय कुर्नुपर्ने होला फेरि।’

‘हो र त्यसो भए यो हड्ताल नै हड्ताल हुने देश केही दिन छाडेर जहाज चढेर विदेश जानुपर्छ जस्तो पो लाग्यो त !’

‘त्यहाँ पनि काउण्टरमा बस्ने ब्याग ह्याण्डलिङ्ग गर्नेहरू पालैपालो हड्तालमा जाँदैछन्।’

त्यसो भए युरो ट्रेन वा बसमा जानु पर्ला नि त ?’

‘बोर्डर फोर्सका प्रहरीहरूले काम नगर्ने भनेका छन् नि चेक प्वाइण्टमै बास पर्ने हुन सक्छ।’

‘यी सबै कुराले ब्लडपेसर बढेर अस्पताल जानुपर्ने जस्तो पो भयो त ?’

‘एम्बुलेन्स लामो समय पर्खनुपर्छ भाग्यले अस्पताल पुगिहाल्यो भने उपचार गर्ने नर्सहरू प्रायःजसो हड्तालमा सहभागी हुँदैछन्।’

‘ह्या त्यसो भए कतै ननिस्केर घरकै सोफामा बसेर बियर पिउने, टिभी हेर्ने गर्नुपर्ला।’

‘ग्रीन किंग वाला बियर पिउने आदत भए ब्रुअरी कर्मचारीहरू हड्‌तालमा छन् अरु कुनै ब्याण्ड ल्याउनुपर्छ नि। फेरि सोफामा निदाएर भान्साको धुवाँले अलार्म बज्यो भने ? दमकल चलाउनेहरू पनि हड्तालमै छन्। धत्तेरिका सबै कुरा सोच्दा-सोच्दै क्रिसमस कार्ड नै पो पठाउन भुलेछु। लौ अब फेरि हुलाक पनि बन्द छ। यसपालि यो पनि ढिलो पुग्नेभयो। यो तालले त मरिन्छ कि क्या हो ? पख पख अहिले नै नमर, लास राख्ने कफिन बनाउने एउटा मात्र कारखानाका कामदारहरूले पनि काम गर्नै छाडेकाले कफिन बनाउन थालेपछि मात्रै मर्नु!’

पहिला हाम्रोमा लोडसेडिङ कालमा जस्तो यहाँ अहिले यो डिसेम्बर महिनाभर र त्यसपछि कुन-कुन दिन कसको हड्ताल छ भन्ने तालिका नै सार्वजनिक भएको छ। रेल, मेरीटाइम र ट्रान्सपोर्ट (आरएमटी) युनियन, युनाइट, नेटवर्क रेल, यातायात तलब कर्मचारी संघ (टीएसएसए) लगायत १४ वटा रेल अपरेटिङ कम्पनीहरूमा काम गर्नेहरूको युनियनका ४० हजारभन्दा बढी सदस्यहरूले ४८ घण्टाको श्रृंखलाबद्ध हड्ताल गरे। उक्त हड्ताल डिसेम्बर १३, १४, १६, १७ तथा २४ बेलुकीदेखि २७ को बिहान ६ बजेसम्म र त्यसपछि पनि गर्ने निर्णय गरेका छन्। यसबाट राजधानी लण्डनलगायत देशका प्रायः सबै भागमा प्रत्यक्ष असर पार्नेछ।

त्यस्तै लण्डनभित्र बस सञ्‍चालनमा रहेका अबेलियो र मेट्रोलाइनका विभिन्न रुटहरूमा डिसेम्बर ८, ९, १०, १६, १७ र सन्डरल्याण्डमा २०० भन्दा बढी स्टेजकोच बस चालकहरूले २३, २४, २६, २७ डिसेम्बरमा काम नगर्ने घोषणा गरेका छन्।

गत अक्टोबरमा भएको सम्‍झौतानुसार हुलाक सेवा (रोयल मेल)ले आफ्नो कर्मचारीहरूको तलब दुई प्रतिशतले वृद्धि नगरेकाले सञ्चार मजदुर युनियन (सीडब्ल्युयु) ले डिसेम्बर १४, १५, २३ र २४ मा आफ्नो सेवा बन्द गर्नेछन्। वर्षमा सबैभन्दा बढी व्यस्त हुने यस समयमा गरिने हड्‌तालको कारण कम्पनी तथा सेवाग्राहीहरूलाई निकै ठूलो नोक्सानी हुनेछ।

रोयल कलेज अफ नर्सिङ (आरसीएन)ले १५ र २० डिसेम्बरमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म हड्‌तालको घोषणा गरेका छन्। यो इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका नर्सहरूले एनएचएस इतिहासमा पहिलो हड्‌ताल हो। स्कटल्याण्डमा भने त्यहाँको सरकारले हड्ताल गर्नेहरूसँग सकारात्मक रूपमा वार्ता अगाडि बढेकाले हाललाई स्थगित गरिएको छ।

अब छिट्टै सुँडेनी र जुनियर डाक्टरहरूले पनि हड्‌तालको सहारा लिन सक्ने देखिन्छ। त्यस्तै १० हजारभन्दा बढी एम्बुलेन्स कर्मचारीहरूले इंग्ल्याण्ड र वेल्समा हड्‌ताल गर्नका लागि गरिएको निर्वाचनमा ९२ प्रतिशत सदस्यले हुन्छ भनेर मतदान गरेका थिए। यसैगरी दक्षिण पश्चिम, दक्षिण पूर्व, उत्तर पश्चिम, दक्षिण केन्द्रीय, उत्तर पूर्व, पूर्वी मिडल्याण्ड, पश्चिम मिडल्याण्ड्स, वेल्स एम्बुलेन्स र योर्कशायर एम्बुलेन्स सेवा पनि २१ डिसेम्बरमा बन्द हुनेछ। त्यसपछि २८ तारिख प्यारामेडिक्स, आपत्कालीन हेरचाह सहायक, कल ह्यान्डलर र अन्य कर्मचारीहरू पनि काममा आउने छैनन्।

हिथ्रोका ब्यागेज ह्यान्डलरहरू १६ डिसेम्बर बिहान चार बजेदेखि ७२ घण्टा हड्‌तालमा उत्रने भएका छन्। यो हड्तालले एयर क्यानडा, अमेरिकी एयरलाइन्स, लुफ्थान्सा, स्वीस एयर, एयर पोर्चुगल, अस्ट्रियन एयरलाइन्स, क्वान्टास, इजिप्ट एयर, एर लिंगस, फिन एयरका ग्राहकहरूलाई बढी असर पार्नेछ।

स्कटल्याण्डमा, हाइल्याण्ड्स एण्ड आइल्याण्ड्स एयरपोर्टस् लिमिटेडका सदस्यहरूले पनि १९ र २२ डिसेम्बरमा आह्वान गरिएको हड्तालले ११ क्षेत्रीय एयरपोर्टहरूमा अवरोध पुग्ने चेतावनी दिइएको छ। त्यस्तै यूरोस्टारका सुरक्षा कर्मचारीहरूले डिसेम्बर १६, १८, २२ र २३ गते गर्ने हड्‌तालको कारण युरोप आवतजावत गर्ने ग्राहकहरूको लागि निकै अप्ठ्यारो पर्ने देखिन्छ। पब्लिक एण्ड कमर्सियल सर्भिसेज युनियन (पीसीएस) का सदस्यहरू राष्ट्रिय राजमार्ग, सीमा बल र निवृत्तिभरण विभागका धेरै कार्यालयहरूमा काम गर्ने सरकारी तथा वाणिज्य सेवाका कर्मचारीहरूले पनि डिसेम्बर १९ देखि ३१ सम्म हड्ताल गर्ने निर्णय गरेका छन्। त्यस्तै ड्राइभिङ परीक्षक र ग्रामीण भुक्तानी एजेन्सीका कर्मचारीहरूले डिसेम्बर १३ मा काम गरेनन्।

बेलायतमा औद्योगिक क्रान्तिको सुरूवातसँगै मजदुरहरूको चेतनामा पनि आफ्नो हकअधिकारको लागि संगठित हुनुपर्ने, आन्दोलन गर्नुपर्ने भन्ने मान्यता पनि स्थापित हुन थाल्यो। सन् १८३९ मा लण्डन वर्किङ मेन्स एसोसिएसन (एलडब्ल्यूएमए) मा नेतृत्व गर्नेहरू विलियम लोभेट र फ्रान्सिस प्लेसले अन्य सदस्यहरूसँग परामर्श गरे। उनीहरूले ६ वटा मागहरूसहित एउटा बडापत्र तयार गरेर करिब १३ लाख मानिसहरूको हस्ताक्षरसहित संसद्‌मा (हाउस अफ कमन्समा) प्रस्तुत गरेका थिए। तर त्यसलाई अस्वीकार गरियो। सन् १८४२ मा दोस्रो पटक ३० लाखभन्दा बढी मानिसहरूले हस्ताक्षर गरेर पेश गर्दा पनि सुनुवाई भएन।

पुन: अप्रिल १८४८ मा तेस्रो र अन्तिम पटक याचिका प्रस्तुत गरियो। पटक पटकको प्रयासपछि सन् १९१८ सम्ममा पाँच वर्षमा एक पटक होइन, हरेक वर्ष संसदीय निर्वाचन हुनुपर्छ भन्ने बाहेक पाँच मागहरू पूरा भएका थिए। ती मागहरू हुन्-

१. सबै पुरुषहरूलाई मतदान गर्न (सार्वभौमिक पुरुषत्व मताधिकार),

२. गोप्य मतदानबाट मतदान हुनुपर्छ,

३. निर्वाचन क्षेत्र समान आकारको हुनुपर्छ,

४. संसदका सदस्यलाई तलब दिनुपर्छ,

५. सांसद बन्नको लागि सम्पत्तिको योग्यता खारेज गर्नुपर्छ। यसलाई बेलायतको इतिहासमा चार्टिस्ट आन्दोलन भनिन्छ।

विगतमा ठूलाठूला आन्दोलनका कारण बेलायती समाजमा निकै महत्व राख्ने परिवर्तनहरू भएका छन्। सन् १८९८ मा वेल्सको कोइला कारखानामा मुद्रास्फीति भए पनि मजदुरको क्रयशक्ति कायम राख्न मूल्यवृद्धि हुँदा स्वत: तलब वृद्धि हुनुपर्छ (स्लाइडिङ ज्याला स्केल) भन्ने माग अगाडि सारियो। त्यतिबेलाको आन्दोलन पूर्ण सफल हुन सकेन तर पाँच प्रतिशत ज्याला भने बढ्यो। यो आन्दोलनसँगै दक्षिणी वेल्समा कोइला मजदुरहरूको संस्था ‘द साउथ वेल्स माईनर्स फेडेरेशन’ छोटकरीमा ‘द फेड’को जन्म भएको थियो। यो आन्दोलनमा एक करोड ५२ लाख ५७ हजार घण्टा बराबरको काम नोक्सानी भएको अनुमान गरिएको थियो।

सन् १९१२ मा न्यूनतम पारिश्रमिक तोकियोस् भनेर बेलायतमा पहिलो पटक राष्ट्रिय रूपमा कोइला मजदुरहरूले हड्ताल गरेका थिए। करिब एक लाख मजदुरहरू सहभागी भएको यो आन्दोलन ३७ दिन चलेर अप्रिल ६ तारिखका दिन सरकार र आन्दोलनकारीबीच सम्झौता भयो। यही आन्दोलनको परिणामस्वरूप कोइलाखानी (न्यूनतम ज्याला) ऐन १९१२ निर्माण भएको थियो। उक्त आन्दोलनका कारण चार करोड आठ लाख ९० हजार घण्टा बराबरको काम नोक्सानी भएको थियो।

पहिलो विश्वयुद्ध समाप्त भएको ८२ दिनपछि शुक्रबार ३१ जनवरी १९१९ मा स्कटल्याण्डमा ग्लासगो शहर प्रहरी र हड्ताल गर्ने ग्लासगो कामदारहरूबीच जर्ज स्क्वायरको वरिपरि भिडन्त भएको थियो। यो आन्दोलनपछि मजदुरहरूले हप्ताको ४७ घण्टा काम गरे पुग्ने ग्यारेन्टी भएको थियो।

त्यस्तै, सन् १९२१ अप्रिलमा लामो समय काम गर्नुपर्ने र तलब घटाउने सरकारी निर्णय विरुद्धमा भएको आन्दोलन, सन् १९२६ मा भएको राष्ट्रिय हड्ताल, सन् १९७२ मा भएको आमहड्ताल, सन् १९७९ मा भएको सरकारी सेवाका कर्मचारीको हड्ताल, सन् १९८४ मा भएको कोइलाखानीमा काम गर्नेहरूको हड्तालहरूले महत्वपूर्ण परिवर्तनहरू भएका छन्।

बेलायतको कानुनमा हड्‌ताल गर्न पाउने भन्ने स्पष्ट अधिकार छैन। यद्यपि मानवअधिकार सम्बन्धी युरोपेली महासन्धिको धारा ११ अन्तर्गत सबैलाई शान्तिपूर्ण भेलाको स्वतन्त्रता र आफ्नो हितको रक्षाका लागि ट्रेड युनियनहरू गठन गर्ने अधिकार भने छ। ट्रेड युनियन र श्रम सम्बन्ध (एकीकरण) ऐन १९९२ मा तोकिएको नियमहरूको अधीनमा रही निश्चित प्रक्रिया पूरा गरेपछि मात्रै हड्ताल गर्न पाउँछन्। जसलाई जतिखेर मन लाग्यो आफूखुसी गर्न पाइँदैन।

सम्बन्धित युनियनका सदस्यहरूले आफ्नो रोजगारदाता विरुद्ध आन्दोलनमा जानुपर्‍यो भने त्यसको औचित्यसहित अनिवार्य मतदान गराउनुपर्दछ। बहुमत सदस्यहरूले हुन्छ भने मात्र सम्बन्धित पक्षलाई पूर्ण जानकारी दिएपछि मात्रै हड्तालका कार्यक्रमहरू सञ्‍चालन गर्न सक्नेछ।

विकसित देशहरूमा सबै विषय व्यवस्थित हुने तर स्थापित प्रक्रियामा कहीं कतै अवरोध आयो भने चारैतिर त्यसको गम्भीर असर पर्न जाने हुन्छ। त्यसलाई दुरुस्त पार्न झन् कठिन हुनसक्छ। एकातिर काम गर्नेहरूले आफ्नो तलब बढाउने मागसहित आम हड्तालमा उत्रिरहेका छन् भने अर्कोतिर चौतर्फी मूल्य वृद्धिका कारण सामाजिक सुरक्षाको भरमा मात्र जिउनुपर्नेहरूको अवस्था झन् दयनीय हुँदैछ। घरबारविहीनहरूको संख्या धेरै नै माथि पुग्ने निश्चित छ।

अहिलेको हड्तालले कुन रूप लिने र त्यसले असर पार्ने सबै क्षेत्र पुन: चुस्तदुरुस्त हुन कति समय लाग्ने हो, त्यो हेर्न बाँकी नै छ। देशको आर्थिक स्थितिले गर्दा राजनीतिक अस्थिरता पनि देखिसकिएको छ। यो कहाँसम्म पुग्ने हो त्यो पनि अनिश्चित नै देखिन्छ।

त्यसो त यो बेलायतको मात्र समस्या होइन। यूरोपका धेरै देशमा यस्तो समस्या देखिन्छ। यसले युरोप र वैश्विक रूपमा कस्तो प्रभाव पार्ला र यसको समाधान कसरी होला, सर्वत्र जिज्ञासा छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *