विचार

‘अफलाइन बार्गेनिङ’ ले कता लैजाँदैछ पठाओलाई?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौं |’पठाओ चाहिने हो?,’ गत आइतबार बुटवलबाट काठमाडौं, सीतापाइला ओर्लिएका उदीप मगरलाई मोटरसाइकल गुडाउँदै आएका एक व्यक्तिले सोधे।

रातको १० बजेको थियो। त्यहाँबाट उनलाई आफ्नो डेरा गोंगबु, पवित्रनगर पुग्नु थियो।

अरू समयमा गाडीले गोंगबु बसपार्कसम्मै पुर्‍याउँथ्यो। त्यहाँबाट डेरासम्म त हिँडेरै पुग्थे। त्यो दिन भने गाडी बिग्रिएको भन्दै सीतापाइलामै रोकिदियो।

राति अबेर भइसकेकाले उदीप हिँडेर जाने अवस्था थिएन।

‘ट्याक्सीमा धेरै भाडा पर्ने भयो भन्ने सोच्दै थिएँ। पठाओ त दिमागमै आएको थिएन। सुनेको मात्रै हुँ। चलाउन जान्ने भए पो!,’ काठमाडौंमा प्लम्बिङको काम गर्ने उनले भने, ‘एक सय ६० रूपैयाँ भाडा हो, डेढ सयमै पुर्‍याइदिन्छु भने, गएँ।’

अनलाइनबाटै पठाओको मोटरसाइकल राइड लिने हो भने राती १० बजेको समयमा सीतापाइलाबाट पवित्रनगर पुग्न एक यात्रुले १५७ रूपैयाँ तिर्नुपर्छ।

अनलाइनमार्फत् यात्रु लैजाँदा चालकले कम्पनीलाई २० प्रतिशत कमिसन पनि बुझाउनुपर्छ हुन्छ। कमिसन बुझाउँदा १२५ रूपैयाँ मात्रै चालकको हातमा पर्छ। त्यसो हुँदा कमिसन नतिर्न चालकले बठ्याँइ गर्न सक्छ। अफलाइन बसेरै यात्रु बोक्न सक्छ।

पठाओ चालकले अफलाइन यात्रु बोक्नु अचेल नयाँ घटना होइन।

केही समयअघि नयाँ बानेश्वर बस्ने सैलजा अधिकारीलाई त एक चालकले मुखै फोरेर भने।

सोमबार बिरामी आफन्त भेट्न पुतलीसडकस्थित क्यापिटल हस्पिटल पुग्न पर्ने थियो उनलाई। राती साढे ९ बजेको थियो। पठाओ बाइक राइडका लागि रिक्वेस्ट गरिन्। करिब पाँच मिनेटपछि मात्रै राइडर भेटेको उनले बताइन्।

उनका अनुसार त्यहाँसम्मको भाडा १०४ रूपैयाँ देखाएको थियो। बानेश्वर चोक पुग्दा चालक त्यहीँ पर्खिरहेका रहेछन्। नजिकै पुगेपछि चालकले ‘रिक्वेस्ट क्यान्सिल गरिदिनुस् न’ भने।

सैलजाले किन भनेर सोध्दा चालकले रिक्वेस्ट रद्द गरे एपमा देखाएभन्दा कम भाडामा गन्तव्यमा पुर्‍याइदिने भनेछन्।

‘चालक मैले क्यान्सिल गरेँ भने कम्पनीले फाइन लगाउँछ, तपाईंले गर्नुभयो भने कम्पनीलाई कमिसन तिर्नु पर्दैन, बरू तपाईंलाई ९० रूपैयाँमै लगिदिन्छु भने,’ चालकका भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘आफूलाई कति बेला पुग्नु भन्ने थियो। मैले पनि त्यसै गरेँ।’

सैलजालाई अफलाइन राइड लिँदा असुरक्षित हुन्छ भन्ने थाहा नभएको होइन। बीमा लगायत कम्पनीका तर्फबाट दिइने सुविधा पाइँदैन। सबै थाहा हुँदाहुँदै पनि हतारमा आफूले रिक्वेस्ट क्यान्सिल गरेको उनी बताउँछिन्।

पछिल्लो समय खासगरी साँझको समयतिर उपत्यकाका चोकचोकतिर यस्तो अफलाइन बार्गेनिङ भइरहेको देखिन्छ।

कलंकी, बाफल, स्वयम्भु, बसपार्क, सामाखुसी, विमानस्थल, कोटेश्वर लगायत मानिसको धेरै चहलपहल हुने क्षेत्रमा यात्रुसँग बार्गेनिङ गर्दै बसेका प्रशस्तै दुईपांग्रे चालक देख्न सकिन्छ। उनीहरूले आफूहरूलाई पठाओ भन्दै अफलाइन बार्गेनिङ गरिरहेका हुन्छन्।

पेट्रोलको भाउ महँगिएको तर पठाओको शुल्क पुरानै भएका कारण आफूहरू अफलाइन विकल्प रोज्न बाध्य भएको एक पठाओ चालक बताउँछन्।

आइतबार साँझ बल्खुबाट कलंकी जाने सडक छेउमा भेटिएका एक पठाओ चालकले कम्पनीलाई कमिसन बुझाउनुभन्दा अफलाइन बसेर पाँच/दस रूपैयाँ सस्तोमै यात्रु बोक्नु फाइदा भएको बताए।

‘यस्तो चिसोको समयमा पनि खटेर काम गर्नुपर्छ। उठेको पैसा पेट्रोल र कम्पनीलाई तिर्दै सकिन्छ। अनि के गर्नु, हामीले खानु परेन?,’ उनले उल्टै प्रश्न तेर्स्याए।

यो प्रश्न उनको मात्रै होइन, उनीजस्ता अधिकांश पठाओ चालकको हो। पछिल्लो समय नेपालमा राइड सेयरिङ कम्पनीहरू विस्तार हुँदै गएकाले जुनमा धेरै फाइदा आउँछ, त्यसमा काम गर्ने वातावरण बनेको अर्का चालक बताउँछन्।

‘म पहिले टुटल र पठाओ चलाउँथे। अहिले पठाओ र इनड्राइभर चलाउँछु। अहिलेसम्म इनड्राइभरमा कमिसन दिनु पर्दैन। जति पैसा उठ्यो त्यति आफ्नै हुन्छ। त्यसैले प्राथमिकतामा इनड्राइभर नै राखेको छु। इनड्राइभरमा यात्रु नपाएका बेला पठाओबाट ओसार्छु,’ उनले भने।

कम्पनीलाई कमिसन तर्न नपर्ने इनड्राइभर एप आएपछि धैरै पठाओ चालकहरू बिस्तारै कमिसन नतिरी ग्राहक ओसार्नेतर्फ आकर्षित भएको र बानि परेको देखिन्छ।

एउटै चालक धेरै वटा कम्पनीमा जोडिएका कारण पनि पछिल्लो समय अनलाइनमा राइडर देखाए पनि रिक्वेस्ट एसेप्ट नहुने र भइहाले पनि लामो समय लाग्ने यात्रुहरूको गुनासो छ।

पहिले केही मिनेटमै पाइनेमा अचेल कम्तीमा १५ मिनेट लाग्ने पठाओका एक नियमित यात्रुले बताए।

नेपालमा राइड सेयरिङले मान्यता पाएको धेरै भएको छैन। सन् २०१६ मा राइड सेयरिङ कम्पनीका रूपमा टुटल आएको थियो।

त्यतिबेला यस्तो कम्पनीबारे थोरै मात्र जानकार थिए। यसबारे राज्यलाई बुझाउन धेरै समय लाग्यो। दुई वर्षपछि सन् २०१८ मा बंगलादेशी कम्पनी पठाओ नेपालमा प्रवेश गर्‍यो।

सुरूमा बजारमा स्थापित हुन टुटल र पठाओले निकै संघर्ष गरेका थिए। यी कम्पनीका राइडरले त कयौंपटक ट्याक्सी चालकहरूको धम्की र भौतिक आक्रमण समेत व्यहोरे। निजी सवारीलाई राज्यले चुपचाप सार्वजनिक सवारीको काम गर्न दिँदा ट्याक्सी व्यवसायीहरूको रोजीरोटी खोसिएको चालकहरूको गुनासो थियो।

यातायात व्यवस्था विभागले पनि पटकपटक यातायात सेवाका लागि निजी सवारी प्रयोग गर्न नपाइने परिपत्र जारी गरिरह्यो।

यसबीच २०७६ मंसिरमा ट्याक्सी व्यवसायीले राइड सेयरिङ कम्पनीको सेवा बन्द गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले कम्पनी बन्द गर्न आदेश जारी गरेन, बरू कानुन बनाएर व्यवसाय सञ्चालन गर्न आदेश दियो।

सर्वोच्चले आदेश दिए पनि नेपालमा राइड सेयरिङ कम्पनीहरूका लागि छुट्टै कानुन बनिसकेको छैन। उनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएर सेवा दिइरहेका छन्। हाल नेपालमा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएर दर्जनभन्दा बढी राइड सेयरिङ कम्पनी सञ्चालनमा छन्।

नेपालमा राइड सेयरिङ सेवा दिएको पहिलो कम्पनी टुटल भने अहिले बन्द छ। छोटो अवधिमै लोकप्रिय बनेको पठाओको बजार धेरै खस्किसकेको त छैन। तर पछिल्लो समय पठाओ चालकले चोक तथा गल्लीमा गर्ने बार्गेनिङका कारण कतिपय यात्रुहरू आजित छन्।

राइड सेयरिङ कम्पनी आएर ट्याक्सीको मोलमोलाइ हटेपछि राहतको सास फेरेका कतिपय ग्राहक भने झनै नयाँ रूपको मोलमोलाइको सिकार बन्नु परेकोमा चिन्तित देखिएका छन्।

अफलाइन मोलमोलाइ प्रवृत्तिले एकातिर यात्रुको असुरक्षा बढाएको छ, अर्कोतर्फ कम्पनीप्रतिको विश्वास पनि घटाइरहेको छ।

यो समस्याबारे कम्पनी जानकार नभएको होइन, पटकपटक सूचना निकालेर यात्रु र चालकलाई सचेत पनि गराउँदै आएको छ। तर समस्या कम भएको छैन।

यस्तो अवस्थामा राइड सेयरिङप्रति विश्वास पातलिँदै गएकोबारे हामीले पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाललाई सोध्यौं।

अफलाइन बार्गेनिङले कम्पनीलाई समस्याभन्दा पनि चालक र यात्रुलाई असुरक्षित बनाइरहेको तर्क उनले गरिन्।

‘कम्पनी त जुन गतिमा हुनुपर्ने हो, उही गतिमा छ। अफलाइन सेवाको जोखिम कम्पनीलाई भन्दा पनि चालक र यात्रुहरूलाई धेरै छ,’ उनले भनिन्।

अफलाइन बसेको चालकले बदमासी गर्‍यो, भनेको ठाउँमा पुर्‍याएन, वा सवारी दुर्घटना भयो भने त्यसको जवाफदेहिता कसैको हुन्न।

पठाओको नाम लिएर कसैले अफलाइन बार्गेनिङ गरिरहेको छ भने त्यो सेवा पठाओ राइड सेयरिङको नभएको उनले बताइन्।

‘पठाओ एप प्रयोग गरेर राइडरलाई रिक्वेस्ट गरेपछि अप्रुभ भएर गरिएको यात्रा मात्रै पठाओको हो। कसैले अफलाइन यात्रा गर्छ भने त्यसमा कम्पनीले जिम्मा लिँदैन,’ उनले भनिन्, ‘यात्रामा अप्रिय घटना भइहाल्यो भने त्यसको जिम्मेवारी कसले लिने? यात्रुले यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ।’

पठाओले यात्रु र चालक दुबैलाई १०/१० लाख रूपैयाँसम्मको दुर्घटना बीमा र १/१ लाख रूपैयाँसम्मकाे उपचार बीमा सुविधा व्यवस्था गरेको छ। त्यस्तै अफलाइनमा चालकले मनलाग्दी शुल्क लिनसक्ने हुँदा यात्रु ठगिने जोखिम रहेको पनि हमालले बताइन्।

चालकहरूले कम्पनीलाई कमिसन तिर्नुपर्छ भनेर अफलाइन यात्रा गराउने प्रवृत्ति क्षणिक फाइदाका लागि मात्रै भएको पनि उनको भनाइ छ।

‘यात्रामा जस्तो घटना पनि हुन सक्छ। दुर्घटना भयो भने झनै ठूलो क्षति बेहोर्नुपर्छ,’ पठाओ प्रवक्ता हमाल भन्छिन्।

अफलाइन यात्रा गर्दा कुटपिट र लुटपाटजस्ता घटना बढ्ने पनि उनको भनाइ छ। त्यसैले यो प्रवृत्तिले अन्ततः चालक र यात्रुलाई मर्का पर्ने उनले बताइन्।

प्रवक्ता हमालका अनुसार पठाओ एप ३५ लाखभन्दा धेरै पटक डाउनलोड भएको छ। हाल पठाओमा एक लाख ५० हजार बढी चालक जोडिएका छन्। पठाओ एप प्रयोग गरेर दैनिक ५० हजार यात्रुले यात्रा गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *