अर्थ

नेपाली माटोले बनेको टायल विदेश पुर्‍याउन कस्सिएका साथी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौं |मनोज रौनियार वीरगञ्जका पुराना व्यापारी हुन्। उनको जय नेपाल सेनेटरीले २०५० सालदेखि निर्माण सामग्री बिक्री गर्न थालेको थियो। भारत, चीनबाट सामान ल्याएर यहाँ थोक व्यापार गर्थे उनी। व्यवसाय वीरगञ्जमा भए पनि त्यसको बजार बढाउन रौनियार देशभर पुग्थे। भारतीय टायलको बजारलाई देशभर फैलाउनमा पनि उनको भूमिका रह्यो।

महोत्तरी घर भएका शम्भुनाथ झाको व्यापार पनि उस्तै प्रकृतिको थियो। झाले भारत र चीनबाट आयात गरिएका हार्डवेयर सामान बिक्री गर्न काठमाडौंमा मयुर फोसेस्ट प्रालि सञ्चालन गरेका थिए। त्यसको बजार बनाउन उनी पनि डुलिरहेका हुन्थे।

संयोगले भरतपुरको एक हार्डवेयर पसलमा उनीहरूको भेट भयो।

बाइपास रोडमा रहेको उत्सव ट्रेडर्समा उनीहरू आफूले आयात गरेको टायल लगायतका निर्माण सामग्री बिक्रीका लागि पुगेका थिए।

चिया गफको क्रममा उनीहरूको बीचमा लामो समयदेखि भारत र चीनबाट आयात गरिएका सामानको विषयमा चर्चा भयो। टायलको विषयमा अल्ली बढी चर्चा भयो।

‘तपाईंहरू वर्षौंदेखि विदेशबाट टायल ल्याएर नेपालमा बेचिरहनुभएको छ। त्यस्तै टायल नेपालमै बनाउन पनि सम्भव होला नि,’ त्यतिखेरको आफूले राखेको जिज्ञासा सम्झँदै उत्सव ट्रेडर्सका सञ्चालक शिरीष पन्त भन्छन्, ‘तपाईंहरू दुई जनाले त्यो प्रयास गर्दा कसो होला?’

त्यो संवादले यी दुई व्यवसायीको मन छोयो। उनीहरु दुवै जनाले त्यसअघि नै मनमनै टायल उत्पादनको सपना बुनिरहेका रहेछन्। यो बसाइँले रौनियार र झाबीचको सम्बन्ध नजिक बनायो। उनीहरूले नेपालमा टायल कारखाना सञ्चालनको सम्भाव्यता खोज्ने निधो गरे।

‘त्यसपछि हामी चीन र भारतका धेरै टायल कारखाना पुग्यौं। त्यहाँ टायल बनाउन प्रयोग गरिने कच्चा पदार्थ, मेसिन, जनशक्ति लगानीको बारेमा गहन अध्ययन गर्यौं,’ रौनियारले भने, ‘त्यसले हामीमा ऊर्जा पैदा गर्‍यो।’

टायल बनाउन ढुंगा, माटो, बालुवा लगायतका कच्चा पदार्थ आवश्यक पर्छ। उनीहरूले नेपाल फर्किएर ती कच्चा पदार्थको अध्ययन गरे। अध्ययनले भारतको सबभन्दा स्तरीय टायल बनाउने माटोभन्दा नेपालको माटो स्तरीय रहेको पत्ता लाग्यो।

टायलमा कच्चा पदार्थको रूपमा सबभन्दा बढी प्रयोग हुने माटो नेपालमा प्रशस्तै रहेको थाहा पाएपछि उनीहरू थप हौसिए।

‘भारतको गुजरातमा टायल बनाउने धेरै कारखाना छन्। हामीलाई लाग्थ्यो कच्चा पदार्थ त्यतै भएकाले होला धेरै कारखाना खुलेका। तर गुजरातमा त कच्चा पदार्थ नै रहेनछ, सबै राजस्थानबाट जाँदो रहेछ,’ झाले भने, ‘नेपालमा अध्ययन गर्दा त यहीँ नजिकै कच्चा पदार्थ भेटियो।’

त्यसपछि उनीहरू कारखाना सञ्चालन गर्ने निधोमा पुगे। तर त्यसका लागि थोरै पैसाले पुग्थेन। धेरै पैसा उनीहरूसँग थिएन।

‘सरसापट गरेर बाराको जीतपुर–सिमारा उपमहानगरपालिका–८ इमलीपर्तीमा ५ बिघा १२ कट्ठा जमिन खरिद गर्‍यौं,’ रौनियारले भने, ‘त्यसपछि माटो प्राप्ति र मेसिन खरिदको प्रक्रियामा गयौं।’

उनीहरूले व्याजमा पैसा माग्दै कारखानाको संरचना निर्माण गर्न थाले।

‘काम सुरू हुँदा कोरोना भाइरसको महामारी पनि सुरू भयो। यसले हामीलाई केही महिना बिथोल्यो। अवस्था सामान्य हुन थालेसँगै बैंकहरूलाई पनि हामीले नेपाली टायलको बजारको विषयमा विश्वस्त बनाउन सक्यौं,’ उनले भने, ‘उत्पादन सुरू गर्दासम्म डेढ अर्बजति ऋण बैंकबाटै लिएका छौं।’

२०७९ सालको सुरूआतबाट उनीहरू नेपालमै पहिलो पटक नेपाली माटोबाटै टायल निर्माण गर्ने अवस्थामा पुगे। त्यो ब्राण्डलाई नाम दिए ‘नेपोभिट’।

नेपोभिट टायल निर्माण गर्ने नेपाल सेरामिक इन्डष्ट्री प्रालिका अध्यक्ष शम्भुनाथ झा छन्। उनका अनुसार यो कारखाना सञ्चालन गर्न डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।

स्थापनापछिका तीन महिना उनीहरूले कच्चा पदार्थ सबै भारतको राजस्थानबाट ल्याएका थिए। त्यसपछि ५० प्रतिशत नेपालकै माटो प्रयोग हुन थालेको झाले बताए।

‘अहिले हामीले करिब ५० प्रतिशत माटोमात्रै भारतबाट आयात गर्छौं, टायलमा लगाउने रंग लगायतका केही कच्चा पदार्थ पनि उताबाट ल्याउनुपर्छ,’ झाले भने, ‘कम्तीमा ५० प्रतिशत माटो नेपालको प्रयोग भएको छ। केही समयमा यसलाई शत प्रतिशत पुर्‍याउँछौं।’

उनले टायलमा मकवानपुर, बारा र दोलखा जिल्लाका विभिन्न स्थानहरूको कमेरो माटो प्रयोग भइरहेको बताए।

‘अनुमति लिएर, आईई गरेपछि माटोको प्रयोग गरेका छौं। अध्ययनले भारतको भन्दा नेपालको माटो स्तरीय रहेको देखाएको छ,’ झाले भने।

नेपाल सेरामिक इन्डष्ट्री प्रालिका प्रबन्ध निर्देशक रहेका मनोज रौनियारले अहिले नेपालको कुल मागको दश प्रतिशतमात्रै टायल यहाँ उत्पादन हुन सकेको बताए। अब उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने लक्ष्य रहेको उनले बताए।

रौनियारका अनुसार नेपालमा हरेक महिना ७ हजार २०० टन टायल भारतबाट ल्याइन्थ्यो। नेपालमै उत्पादन हुन थालेपछि मासिक २० करोड रुपैयाँ बराबरको टायल बिक्री भइरहेको उनले बताए।

‘हामीले वार्षिक ३०० करोड रुपैयाँको टायल उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘हामीले हाम्रा उत्पादन देशभर पठाउन थालेका छौं। लक्ष्य त निर्यात गर्नेसम्मको छ।’

नेपोभिटले अहिले भुइँमा लगाउने टायलमात्र उत्पादन गरेको छ। अहिले २४/२४ र १६/१६ को टायलमात्रै उत्पादन गरेको छ। रौनियारले भित्तामा लगाउने टायलको निर्माण पनि सुरू गर्ने जानकारी दिए।

टायल उत्पादनको काम गर्न उनीहरूले भारतबाट दक्ष जनशक्ति ल्याएका छन्। नेपाली कामदारलाई सिकाउने काम पनि भइरहेको छ। अहिले ४०० जना कामदारमध्ये १०० जना भारतीय छन्।

‘सुरूमा उताबाट हामीले १५० जना दक्ष जनशक्ति ल्याएका थियौं। अहिले १०० जनामात्रै छ। विस्तारै नेपाली कामदारलाई नै दक्ष बनाउने र भारतीयको संख्या घटाउँदै जाने लक्ष्य छ,’ रौनियारले भने।

उत्पादनलाई भारतीय भन्दा स्तरीय बनाउन सक्दो प्रयास गरेको उनले बताए। कम लागतमा स्तरीय उत्पादन गरेर ग्राहकलाई सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए।

‘भारतबाट ल्याइने सबभन्दा स्तरीय भनिएको टायलको मूल्य प्रतिपेटी २३ सय रुपैयाँ छ, उस्तै क्वालिटीको हामीले उत्पादन गरेको टायलको मूल्य १६०० मात्रै छ,’ रौनियारले भने।

कम्पनीका अध्यक्ष झा बिग्रिँदो अर्थतन्त्रको प्रभाव यो व्यापारमा खासै नदेखिएको बताउँछन्। टायलको माग अत्यधिक रहेकाले माग पूरा गर्नै हम्मे भइरहेको उनले बताए।

‘हामीले सुरू गरेपछि अन्य केही कारखाना पनि स्थापना हुन लागेको सुनेका छौं। अझै १० वटा कारखाना आउँदा पनि देशको माग पूरा गर्न गाह्रो हुन्छ,’ झा भन्छन्।

उनले नेपाललाई टायलमा आत्मनिर्भर बनाउन सके वार्षिक अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए।

टायल उत्पादक झाले उत्पादकलाई प्रोत्साहन गर्न सरकारले कच्चा पदार्थको भन्सार शुल्क घटाउनुपर्ने बताए। हाल कच्चा पदार्थको आयातमा उनीहरूले ५ प्रतिशत भन्सार शुल्क बुझाउने गरेका छन्।

‘यसलाई घटाउने र माटो प्राप्तिमा सहज बनाउने हो भने बिस्तारै टायलको आयात रोक्न सकिन्छ,’ झाले भने, ‘यसले नयाँ लगानीकर्तालाई पनि हौसाउँछ।’

झाले नेपोभिटको लक्ष्य निर्यात पनि रहेको दाबीमात्रै गरेनन् छिट्टै युरोप निर्यात भयो भन्ने खबर दिनेसमेत बताए।

नेपालको माटोले बनेको टायल विदेश पुर्‍याउन कस्सिएर लागेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *