समाचार

लुम्बिनी स्थायी राजधानी भालुवाङबाट काम सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

रूपन्देही — लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बुधबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय स्थापना गरिएको छ । कार्यालयको प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै शुभारम्भ गरेका छन् ।

प्रदेश सरकारले २०७७ असोज २० गते दाङको राप्ती उपत्यकाको देउखुरी क्षेत्रमा राजधानी राख्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दै राप्ती प्राविधिक शिक्षालय परिसरमा मन्त्रायल र प्रदेशसभा व्यवस्थापन गर्दै अस्थायी संरचनामा राजधानीबाट दिने सेवा सुरु गरेका हुन् । प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले प्रदेशसभाको निर्णय कार्यान्वयन सुरु गरेकोमा सरकारलाई धन्यवाद दिए ।

मुख्यमन्त्री केसीले प्रदेश गौरवको आयोजनाअन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदेश विश्वविद्यालय स्थापना प्रदेश सरकारका उपलब्धि भएको बताए । उनले चुनौतीपूर्ण रहेको स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्न सरकार सफल भएको भन्दै अब प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएका शब्द परिवर्तन हुने बताए ।

‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द अब हट्नेछ,’ उनले भने, ‘त्यसको सट्टामा देउखुरी उल्लेख हुनेछ ।’ मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुखसहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिए ।

मुख्यमन्त्री कार्यालय उद्घाटन एवं झण्डोत्तोलन कार्यक्रममा लुम्बिनी प्रदेशसभाका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती, प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, प्रदेश प्रमुख सचिव दीपक काफ्ले लगायतले बोलेका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका स्थानीयले झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *