राजनीतिसमाचार

अनुसन्धानमा अब्बल, पूर्वाधार निर्माण अलपत्र

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा मुलुकमा दैनिक १७ घन्टासम्म लोडसेडिङ थियो । लोडसेडिङ हटाउने विभिन्‍न छलफल चल्दा वैकल्पिक ऊर्जासँगै हावाबाट बिजुली उत्पादन गर्ने विषयले बढी चर्चा पायो ।

काठमाडौंका डाँडामा टर्बाइन राखेर बिजुली निकाल्ने भन्दै निजी क्षेत्रले सरकारसँग लबिङ गरिरहेका थिए । यसका लागि उपत्यकाको वायु प्रदूषणको अध्ययन/अनुसन्धान गरिरहेका भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापाक डा.रामप्रसाद रेग्मीलाई हावाको बहाव सम्बन्धिको अध्ययन गर्ने जिम्मेवारी आइपर्‍यो ।

विभाग परिसरमा रहेको नेसनल एट्मस्फेरिक रिसोर्स एन्ड इन्भारोमेन्टल रिसर्च ल्याबोरेटरी(नारेल) ल्याबका नेतृत्वकर्ता समेत रहेका प्राडा रेग्मी सम्झना गर्दै भन्छन्,‘त्यसबेला झन्डै सरकारले काठमाडौंको डाँडाबाट बिजुली निकाल्ने अनुत्पादक क्षेत्रमा प्रवेश गर्न लागेको थियो । हाम्रो अनुसन्धानले यहाँ बहने हावाबाट बिजुली उत्पादन सम्भव छैन भन्ने निष्कर्ष निकाल्यो ।’

उनको समूहले काठमाडौंको ‘विन्ड पावर पोटान्सियल’ अध्ययनका लागि हरेक वर्ग किलोमिटरको तथ्यांक निकालेर विश्लेषण गर्दा काठमडौंमा वायुबाट बिजुली ७० वर्ग किलोमिटर क्षेत्रमा एक रुपैयाँ पनि खर्च गर्न उपयुक्त नहुने निष्कर्ष निकाल्यो । अनुसन्धान गर्नुअघि यहाँका डाँडाबाट २० मेघावाटसम्म विद्युत उत्पादन गर्न सकिने चर्चा थियो । जुन गलत सावित भयो । यसको योगदान उनै रेग्मीले नेतृत्व गरेको नारेलको रहृयो ।

त्रिविका प्राध्यापक डा. रामप्रसाद रेग्मीले सुरु गरेको नारेल ल्याबमा ६ करोडभन्दा बढीको वैज्ञानिक उपकरण छन् ।
नेपालको मध्य पहाडी क्षेत्रमा लामो दूरीको गुरुत्वआकर्षित वायु प्रवाह हुने तथ्यको उजागर गर्न योगदान ।

प्राध्यापक डाक्टर रामप्रसाद रेग्मी । उनकैको पहलमा त्रिविमा नारेल ल्याबको स्थापनासँगै भौतकशास्त्र केन्द्रीय विभागमा वायुमण्डलीय भौतिकशास्त्रको अध्ययन सुरु गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयभित्रै आफूले प्राप्त गरेको अनुदानबाट प्रयोगशाला सञ्चालन गर्ने प्राध्यापकहरु कम छन् । त्यस्ता प्रयोगशालाहरुमध्ये सबैभन्दा सुविधासम्पन्न र धेरै महँगा उपकरणहरु भएको ल्याबभित्र पर्छ, नारेल । वायु प्रदूषण र जलवायुसँग सम्बन्धित वायुमण्डलीय भौतिकशास्त्रको विषयको सम्पूर्ण जानकारी दिने उद्देश्यले प्राडा रेग्मीको पहलमा २०६५ सालदेखि सुरु भएको यो ल्याबमा ६ करोडभन्दा बढी पर्ने महँगा वैज्ञानिक उपकरणहरु छन् ।

२०६४ साललदेखि भौतिकशास्त्र विभागमा वायुमण्डलीय भौतिकशास्त्र(एट्मस्फेरिक फिजिक्स)को अध्ययन सुरु भएसँगै ल्याबको पनि स्थापना गरिएको थियो । भौतिकशास्त्रमा स्नातकोत्तर गर्ने तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुले यो विषय ऐच्छिक रुपमा पढ्न पाउँछन् ।

भौतिकशास्त्र केन्द्रीय विभाग परिसरमा रहेको नारेल ल्याब । दुईवटा कोठामा सञ्चालित यो ल्याब निकै साँघुरो छ ।

काठमाडौं उपत्यकाको वायु प्रदूषणको अवस्था, हावाको बहाबलगायतका अन्य विविध विषयमा अनुसन्धान गर्दै आएको ल्याबबाट भएका अनुसन्धानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्याति कमाएका छन् । हवाइ सेवाका लागि महत्व मानिने हावाको बहाव अध्ययनमा पनि यसको प्रत्यक्ष संलग्न पनि छ । प्रयोगशालामार्फत भएका कामको विवरण ३ दजर्नभन्दा बढी अन्तर्राष्ट्रिय जर्नलमा प्रकासित भइसकेका छन् ।

स्वीडिस डिफेन्स रिसर्च ल्याबोरेटरी(एफओआई)का एक जना निर्देशकले प्राडा रेग्मीलाई २०६४ सालमा हाई पर्फमेन्स कम्प्युटर सिस्टम(एचपीसी) दिएका थिए । एचपीसी विभिन्न वैज्ञानिक तथा गणतीय विश्लेषणहरु गर्नका लागि प्रयोग हुन्छ । निरन्तर रुपमा सञ्चालन हुनुपर्ने एचपीसी, लोडसेडिङका कारण बन्द भयो । भर्खरै सुरु गरिएको वायुमण्डलीय भौतिकाशास्त्र विषयका पढाइ प्रभावित हुन थालेपछि तत्कालीन उपकुलपति माधव शर्मालाई भेटेरै उनले सोलार प्यानल राखिदिन आग्रह गरे ।

अर्को वर्ष त्रिविले २ किलोवाट सोलार प्यानल जडानका लागि १० लाख रुपैयाँ विनियोजन गरिदियो । प्राडा रेग्मी भन्छन्,‘ वार्षिक कार्यक्रममा मैले एट्मस्फेरिक रिसोर्स एन्ड इन्भारोमेन्टल रिसर्च ल्याबोरेटरी भनेको थिएँ, त्रिविका एकजनाले अगाडि राष्ट्रिय थपिदिनु भएपछि प्रयोगशालाको नाम पनि नारेल राखियो ।’ अर्को वर्ष पनि ल्याबको नाममा त्रिविले १० लाख रुपैयाँ बजेट छुट्टयाइदिएपछि ४ किलोवाटको सोलार प्यानल जडान गरिएको थियो । त्रिविमा परिसरमा राखिएका उक्त सोलार प्यानल पहिलो रहेको रेग्मीले बताए ।

सोडार जडान ।

नारेलमा अहिले सोनिक डिटेक्सन एन्ड रेन्जिङ (सोनार) उपकरण छ । जसबाट हरेक १०/१० मिटरको फरकमा एक किलोमिटरसम्मको वायुको गति र अवरोध, तापक्र्मसहित वायुमण्डलीय अवस्थितीको अध्ययन गर्न सकिन्छ । प्रयोगशालामा वायुमण्डलको तापक्रमको अवस्था जाँच गर्ने रेडियो एक्स्टिक साउन्डिङ सिस्टम छ । हावामा भएका धुलाका कण मापनका लागि चाहिले हाइभोल्यम स्याम्प्लसर यहाँ छ ।

यस्तै, इन्स्ट्रुमेन्टेड ड्रोन पनि यो ल्याबमा रहेको छ । करिब ३० लाख रुपैयाँ पर्ने यो ड्रोनले मौसमको अवस्था र तापक्रमको तथ्यांक दिन्छ । निश्चित उचाइसम्म हावामा भएको धुलाको कण संकलन गर्ने काम पनि यसले गर्छ ।

हाइ पर्फमेन्स कम्प्युटर सिस्टम । विभिन्न गणतीय समीरकणलगायतका अभ्यासहरुका लागि प्रयोग गरिने हुँदा यसलाई धेरै घन्टासम्म निरन्तर रुपमा चलाइन्छ ।

प्राडा रेग्मीले एक पटक हाइभोल्युम स्याम्प्लरमार्फत संकलन गरिएका धुलाको कणको अध्ययनका लागि अमेरिकी प्यासिफिक नर्थवेस्ट प्रयोगशालामा पठाएका थिए । उक्त प्रयोगशालामा यहाँका धुलाको कणमा पाइने रेडियोधर्मी पदार्थको आइसोटपको उत्पत्तिको सम्बन्धमा केन्द्रीत थियो । अध्यायपनसँगै विद्यार्थीहरुले काम सिक्न थालेपछि अनुसन्धानात्मक कामहरु अघि बढ्न थालेको उनले बताए ।

रेग्मीको काम देखेर विश्विद्यालय अनुदान आयोग पनि प्रभावित भयो । ३ वर्षसम्म लगातार रुपमा ५०/५० लाख रुपैयाँको दरले आयोगले अनुसन्धान वृत्ति पाए । त्यही पैसाबाट सोडार, रेडियो एक्वोस्टिङ साउन्डिङ सिस्टम खरिद गरे । विभाग परिसरमै स्वचालित मौसम मापन केन्द्रको स्थापना गरिएको थियो ।

नारेलमार्फत ४० भन्दा बढी वैज्ञानिक अनुसन्धान प्रकाशन भएका छन् भने ६० भन्दा बढी वैज्ञानिक सभा/सम्मेलनमा कार्यपत्र प्रस्तुति भएका छन् । उत्कृष्ट अनुसन्धान कृति प्रकाशन गरे बापत जेजीईई एवार्ड २००३ जापानबाट समेत पुरस्कृत भएको प्राडा रेग्मीले बताए । केही अनुसन्धानात्मक कृति विदेशी विश्वविद्यालयको सम्बन्धित पाठ्यक्रममा पनि समावेश भएका छन् । नेपालको मध्य पहाडी क्षेत्रमा लामो दूरीको गुरुत्वआकर्षित वायु प्रवाह हुने तथ्यको उजागर यही ल्याबले गरेको थियो । त्रिभुवन विमानस्थलको नाकामा चक्रव्युहयुक्त पहाडी तरंग तरंगित हुने तथ्यको उजागर नारलेले गर्‍यो । नेपालमा उपलब्ध वायु ऊर्जा नक्सांकनमा समेत नारेलको भूमिका छ ।

काठमाडौं र लुम्बिनी क्षेत्रको वायु प्रदूषण नियन्त्रण पद्धति विकास, गणितीय मौसम, वायु प्रदूषण एवं विकीरणीय जोखिम पूर्वानुमान क्षमताको विकासका साथै हरेक वर्ष दजर्नभन्दा बढी युवा वैज्ञानिक उत्पादन गर्दै आएको छ । नारेल ल्याबमा पीएचडी अध्ययनरत विद्यार्थीहरू ।

सन् २०१८मा नारेललाई वातावरण विभागले काठमाडौं उपत्यकाको वायु प्रदूषणको अनुसन्धान गर्ने जिम्मेवारी दियो । ल्याबमार्फत काठमाडौंको वायु प्रदूषणको भारवहन क्षमताको अध्ययन भयो । जसको निष्कर्ष थियो, घरयासी क्षेत्रबाट हुने उत्सर्जनलाई २० प्रतिशत घटाउनुपर्ने, सवारी साधानबाट हुने उत्सर्जन ७० प्रतिशतले र औद्योगिक क्षेत्रबाट हुने प्रदूषणको मात्रालाई ६० प्रतिशतले कम गराउन सकिएमात्रै प्रदूषण हट्ने उल्लेख छ ।

उक्त अनुसन्धानका क्रममा नारेल ल्याबले काठमाडौंको हरेक वर्ग किलोमिटरमा ‘डिस्पर्सन मोड्लिङ’ विवरण संकलन गरेको थियो । काठमाडौंमा गरेको अनुसन्धान देखेर विभागले नारेललाई विराटनगर, धरानमा पनि त्यही प्रकृतिको अध्ययन गर्ने जिम्मेवारी दिएको प्राडा रेग्मीले बताए ।

गत वर्षमात्रै नारेल ल्याबले काठमाडौंको ‘एभिएसन मिनी हजार्ड म्यापिङ’को काम गर्‍यो । यसको विस्तृत रिर्पोट गत असारमा जल तथा मौसम विज्ञान विभागलाई बुझाइएको प्राडा रेग्मीले जानकारी दिए । अनुसन्धानमा काठमाडौं उपत्यकाका कुन कुन ठाउँमा टर्बुलेन्स हुने, कुन समयमा वायुको गति र बहाव कता र कति हुनेलगायत अन्य हावाको बहाव, गति, तापक्रमको विषयमा अध्ययन गरिएको थियो । वायुमण्डलीय अध्ययनका लागि तापक्रम मापन गर्ने ड्रोन उडाउने तयारी गर्दै प्राध्यापक रेग्मी ।

पाइलटहरुको आग्रहमा लुक्ला, जोमसुम र राराको ताल्चा एयरपोर्टको विन्ड हाजार्ड म्यापिङ गर्ने काम भइरहेको उनले बताए । यो कार्यले विमान दुर्घटनाको जोखिम घटाउने र पाइलटहरुलाई कुन समयमा वायुको गति, चाप, तापक्रम, अवस्था र टर्बुलेन्स जाने विषयको जानकारी थाहा हुने गर्छ ।

देशका विभिन्न ठाउँका हवाइ दुर्घटना जोखिमको सम्बन्धमा प्रयोशालाले काम गरिरहेको छ । यो वर्ष नेपाली सेनासँगको सम्झौतामा निजगढ, गजुरी, पाँचखाल र चिसापानीमा जमिनबाट ५ सय मिटरमाथिसम्मको प्रदूषक कण र मौसमी विवरण संकलनसहित विश्लेषणको काम भइरहेको छ । त्यही तथ्यांकलाई प्रयोग गरेर ‘एभिएसन हजार्ड म्यापिङ’ गर्ने काम भइरहेको छ । नारेल ल्याबले विराटनगर–धरान क्षेत्रगत वायु प्रदूषण प्रसरण प्रक्रिया नमुनिकरण तथा नियन्त्रण पद्धति विकास सम्बन्धी अनुसन्धान पनि गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा औंलामा गन्‍न सकिने अनुसन्धानकर्ताहरूले मात्रै प्रयोगशाला सञ्चालन गरेर विद्यार्थीहरूलाई शोध गराउने गरेका छन् । अझ आवसीय रुपमा बस्ने मिल्ने सुविधा सम्पन्‍न भवनसहितको प्रयोगशाला नै छैन ।

साँघुरो भवनमाभित्र ल्याब भएकाले यी सबै उपकरणहरु सञ्चालनमा आउन सकेका छैनन् । हावा तथा मौसमी जानकारी लिनका लागि उपयुक्त हुने यी उपकरणहरु पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन ।

नारेल ल्याबभित्रको अव्यवस्थित उपकरण ।

पर्याप्त फन्डिङको अभावका कारण ल्याबमा भएका उपकरणहरु भने पूर्ण रुपमा प्रयोगमा आउने नसकेको उनले बताए । ‘डिभाइजहरुबाट गणतीय रुपमा हुने फोरकास्टमा चाहे जस्तो रिर्सच गर्न सकिएको छैन,’ प्राध्यापक रेग्मीले भने ।

यो ल्याबको वायुमण्डलीय स्रोत विकास तथा वातावरण संरक्षण सम्बन्धी विशिष्टता, उत्तरदायी एवं प्रभावशाली युवा वैज्ञानिक उत्पादन गर्ने लक्ष्यसहित अनवरत अध्ययन/अनुसन्धानको वातावरण निर्माण गर्ने लक्ष्य छ । हिमालय क्षेत्रको जटिल भौगोलिक अवस्थीतिमा रहने वायुमण्डलीय प्रसरण प्रक्रियाको अनुसन्धान,वायु प्रदूषण नियन्त्रण तथा प्रदूषण स्रोत व्यवस्थापन,सूक्ष्म मौसम संरक्षित वायु प्रदूषणमुक्त सहरी विकास, वायु ऊर्जा सम्भाव्यता र विकास, मौसमी प्रतिकूलता र सुरक्षित हवाइ उडान, विकीरणीय जोखिम मूल्यांकन तथा असर न्युनिकरणसहित मौसम, वायु प्रदूषण एवं विकीरण पूर्वानुमानका लागि अनुसन्धान गर्ने क्षमता नारेलको छ ।

यही विशिष्टता र पर्याप्त ठाउँको आवश्यकता मध्यनजर गर्दै बल्खुमा १० रोपनी जग्गा नारेल ल्याब स्थापनाका लागि सरकारले छुट्टयाइदिएको छ । करिब ६ करोड रुपैयाँमा खर्चेर आवसीय भवन निर्माण कार्य सुरु भएपनि ३ वर्षदेखि रोकिएको छ । २०७६ सालमा पहिलो तलाको ढलान निर्माण सम्पन्‍न भएपछि रोकिएको निर्माण कार्य अझै सुरु भएको छैन ।

बल्खुमा निर्माण कार्य रोकिएको नारेल ल्याबको भवन । पहिलो तला ढलान गरेपछि यो भवनको निर्माण कार्य २०७६ सालदेखि अलपत्र छ ।

विदेशी विश्वविद्यालयहरुका प्राध्यापकहरुको आफ्नै प्रयोगशाला भवन हुन्छन् । उनीहरु त्यही बस्ने, विद्यार्थीहरुलाई अनुसन्धान गराउने गर्छन् । नारेल ल्याबलाई पनि त्यही किसिमको रुपमा विकासित गर्न खोजिएको प्राध्यापक रेग्मीले बताए ।

‘नारेलको कन्सेप्ट भनेको जलवायु परिवर्तन सम्बन्धीको तथ्यांक निकाल्ने हो,’ प्राडा रेग्मीले भने, ‘नेपालमा केही समस्या भयो भने एनजीओसँग मात्रै सोध्ने काम भयो । यसलाई साइन्टिफिक कन्सर्टिङ रिसर्च गर्ने संस्थाको रुपमा विकास गर्ने लक्ष्य छ । सोलुसन दिने संस्था विश्विद्यालयमा पनि चाहियो नि ! ’

 

हाल ४ जना विद्यार्थीहरुले यही ल्याबमार्फत पीएचडी गरिरहेका छन् । उनीहरुसहित प्राडा रेग्मीले स्नातकोत्तरका १० जना विद्यार्थीहरुलाई शोध गराइरहेका छन् । एक जना टिचिङ एसिस्टेन्ट र शोध गर्ने विद्यार्थीहरु रहेको यो प्रयोगशालामा स्रोत कम हुँदा कुनै पनि स्टाफ छैनन् ।

प्राडा रेग्मी भन्छन्, ‘सरकारले प्रोत्सहान गरेर वातावरण सुधार, वैकल्पिक ऊर्जा प्रवर्द्धन, विपद् व्यवस्थापनका लागि पनि काम गर्न सकिने अवस्था छ । यो ल्याबलाई एउटा प्राध्यापक मातहत राखेर अटोनमस बनाउने मेरो सोच छ तर अन्य विभाग मातहत लगेर यसको काम रोक्ने पो हुन् कि भन्ने चिन्ता छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *