राजनीतिराष्ट्रिय समाचार

पार्टी बनाउने कोसिसमा स्वतन्त्र सांसद

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सिके र रेशमलाई पनि जोड्ने प्रयास

काठमाडौँ — आमनिर्वाचनमा स्वतन्त्ररुपमा जितेका सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ । स्वतन्त्ररुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलबीच छलफल सुरु भएको हो ।

कांग्रेसका पूर्वनेता सिंहले नयाँ दल गठनबारे छलफल सुरु भएको बताए । ‘पार्टी गठनको विषयमा छलफल सुरु भएको छ । केहीमा दिनपछि यस विषयले तीव्रता पाउने छ,’ सिंहले भने, ‘दल गठन गरेर जाने विषयमा चुनावअघि पनि छलफल भएको हो । अहिले पनि जारी छ ।’ सिंहका अनुसार रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह र मोरङ-५ बाट विजयी भएका योगेन्द्र मण्डल छलफलमा रहेका छन् ।

‘अहिलेको दलहरु लोकतन्त्रका लागि खतरा भए । ८० वर्षको मानिस पनि प्रधानमन्त्री बन्न खोज्ने, पार्टी सभापति पनि नछाड्ने काम भयो,’ सिंहले भने, ‘दलमा जसले आफ्नो विरुद्ध बोल्छ त्यसको टिकट काट्ने काम गरिन्छ । आन्तरिक लोकतन्त्र भएन । आन्तरिक लोकतन्त्र भएको पार्टी बनाउन लागेका हौं ।’

सिंहले जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग पनि छलफल भैरहेको बताए । ‘विभिन्न शक्तिलाई मिलाएर मोर्चा बनाएर पार्टी बनाउने योजना छ,’ सिंहले भने, ‘देशको प्रजातन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति बनाउन खोजेका हौं । चुनावमात्रै लोकतन्त्र होइन अन्य विषयहरु पनि छ्न । चुनाव त पञ्चायती व्यवस्थामा हुन्थ्यो तर त्यस समयमा प्रजातन्त्र थिएनन् नि ! ‘

उनले मधेसी दलजस्तो क्षेत्रीय नभै राष्ट्रियस्तरको दल बनाउन लागेको बताए । सिंहले विभिन्न नामहरु आए पनि कुनै टुंगो नलागेको बताए । ‘अर्को चुनावलाई लक्षित गर्दै पार्टीलाई देशभर विस्तार गर्ने विषयमा छलफल भएको छ,’ सिंहले भने, ‘चुनावको ६ महिनाअघि पार्टी खोल्ने पक्षमा छैनौं । अर्को स्थानीय चुनाव, प्रदेश तथा संघीय संसद्को‍ चुनाव लड्छौं ।’

पार्टीले टिकट नदिएपछि बागी उठेर सर्लाही-४ बाट निर्वाचन जितेका हुन् । सिंहले प्रभु साह काठमाडौं आएपछि थप छलफल हुने बताए । सिंहले ६५ वर्षभन्दामाथिको नेताले सक्रिय राजनीति नगर्ने व्यवस्था हुने बताए ।

माओवादी हुँदै एमाले भएका साहले मंसिर ४ मा भएको संसदीय चुनावमा स्वतन्त्ररुपमा लडेका थिए । रौतहट-२ बाट निर्वाचित किरण पनि प्रभुसँग जोडिएका छन् । एमालेले टिकट नदिएपछि मण्डल मोरङ-५ मा स्वतन्त्र उम्मेदवार उठेका थिए ।

मंसिर ४ मा भएको आमनिर्वाचनमा बर्दिया-२ बाट लालवीर चौधरीसहित ५ जना सांसदले स्वतन्त्ररुपमा जितेका थिए । चौधरी जनमत पार्टीसँग आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *