चितवनमा कसले, किन बनाइरहेको छ दरबार जत्रो घर?

चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा बन्दै गरेको एउटा भव्य भवनको अगाडि दर्जनौं मान्छेहरू फोटो खिचाउँदै थिए। उनीहरू कोही सेल्फी खिच्न, कोही टिकटक बनाउनमा मस्त देखिन्थे।

उनीहरूमध्ये कसैलाई पनि थाहा थिएन यो कसले, कुन प्रयोजनका लागि बनाएको भवन हो। न त वरपरका स्थानीयलाई नै यसबारे धेरै कुरा थाहा रहेछ। पदमपुरमा दरबारजस्तो भव्य भवन बन्दै छ भन्ने कुरा भने अचेल धेरैले थाहा पाइसकेका छन्। त्यसैले त यहाँ दैनिक सयौं मान्छेहरू पुगिरहेका हुन्छन्।

चारैतिरबाट उस्तै देखिने यो घरलाई ‘कृष्ण भवन’ नाम दिइएको रहेछ। नौ तले भवनको कुनै हिस्सामा दरबारको, कतै हवेली, मन्दिर, मस्जिद, चर्चको झल्को आउँछ। बिल्कुलै नौलो डिजाइनमा बनेको यो भवन अचेल सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ। अन्य जिल्लाबाट भरतपुर आइपुगेकाहरू समेत भाइरल घर खोज्दै यहाँ पुग्ने गर्छन्।

यो भवनको अघिल्तिर करिब दुई घन्टा बिताइसकेपछि मलाई यसका विषयमा जान्ने इच्छा लाग्यो। नजिकैका केही घरमा पुगेर मैले बंगलाका धनीको विषयमा सोधें। ‘उनी काठमाडौं बस्छन्, बेला-बेला मात्र आउँछन्’ भन्दा बढी जानकारी पाउन सकिनँ। उनको मोबाइल नम्बर भने पत्ता लाग्यो।

करिब १९ वर्ष अमेरिका बसेर फर्किएका राजेन्द्रप्रसाद उप्रेतीले बनाएका रहेछन्, यो घर। काठमाडौंको मातातिर्थमा ‘खुसीखुसी’ नामको होटल चलाउने उप्रेतीको परिवार २०३८ सालमा चितवनबाट बसाइँ सरेर काठमाडौं गएको थियो। उनका बाबु कृष्णप्रसाद उप्रेती २०१२ सालमा नुवाकोटबाट बसाइँ सरेर पूर्वी चितवनको शान्ति बजार पुगेका थिए।

‘मेरो परिवारलाई व्यापारिक घराना भन्दा पनि हुन्छ। बुवा व्यापार गर्नुहुन्थ्यो, चितवन र काठमाडौंमा हाम्रो परिवारको पैतृक सम्पत्ति प्रशस्तै थियो। मैले त्यही जमिन बेचेर पदमपुरको कृष्ण भवन बनाउन थालेको हुँ,’ उप्रेतीले भने।

२०२८ सालमा जन्मिएका उप्रेती २०५२ सालतिर पढ्न अमेरिका पुगेका थिए। त्यहाँ उनले पढाइभन्दा काममा जोड दिए। कमाइ पनि राम्रो हुँदै गयो। बिस्तारै आफ्नै लगानीमा व्यापार गर्न थाले। अरूको काम गर्ने उनी विदेशीलाई काममा लगाउने अवस्थामा पुगे।

 

‘व्यापारमा पनि मैले राम्रै गरिरहेको थिएँ तर पछि मेरो पार्टनरसिपको व्यापार जम्न सकेन, धेरै घाटा लाग्यो,’ उनले भने, ‘विदेश बसेको १९ वर्ष भइसकेको थियो। घाटा सहेर विदेशमै बसिराख्नभन्दा देश फर्किएर केही गर्छु भन्ने सोचें। मबाट अमेरिकाले धेरै कमायो, अब मैले आफ्नो देशलाई केही दिनुपर्छ भन्ने पनि लाग्यो।’

२०७२ सालको भूकम्पअघि उनी नेपाल फर्किएका थिए। चितवन र काठमाडौंमा रहेको जमिनको प्रयोग गरेर कुनै काम सुरू गर्ने चाहना राखेर स्वदेश फर्किए पनि भूकम्पले पारेको असरका कारण उनले तत्कालै केही गर्न सकेनन्।

‘विभिन्न देशहरू घुमेपछि मलाई देश चिनाउने मानव निर्मित संरचनाको विषयमा चासो बढेको थियो। हाम्रो देशलाई विदेशीहरू सगरमाथा, बुद्ध, गोर्खालीका गाथाहरूबाट चिन्छन्। म कुनै यस्तो संरचना बनाउँछु जसलाई देशले त चिन्छ नै विश्वले पनि नयाँ अनुभुति गरोस् भन्ने लाग्थ्यो,’ उप्रेतीले भने, ‘त्यही कुरा खोज्दै जाँदा यो भवनको आइडिया आयो।’

उनले दुबईको पहिचान बनेको बुर्ज खलिफा, पेरिसको पहिचान बनेको आइफल टावरजस्तै अनौठो संरचना नेपालमा बनाउन चाहेका थिए।

आफूले कल्पना गरेको कुरा उप्रेतीले धेरै इन्जिनियरलाई सुनाए। कल्पनाअनुसारको नक्सा कोर्न लगाए तर सोचेजस्तो नक्सा बनेन। त्यसपछि उनी आफूले कल्पेको संरचना बनाउन आफैं अघि सरे।

भरतपुरबाट करिब १० किलामिटर पर रहेको पदमपुरमा ७ कठ्ठा जमिन किनेर उनले २०७६ पुसबाट यो घर बनाउन थालेका थिए। केही समयमै कोरोना महामारीले काम बन्द गराइहाल्यो।

‘मसँग घरको नक्सासम्म थिएन, न त कुनै योजना र औपचारिक डिजाइन थियो। इँटा जोडेर घर बनाउन जान्ने मिस्त्री, लेबरहरू खोजेर कल्पना अनुसारको घर बनाउन सुरू गरें,’ उनले भने, ‘बनाउँदै जाँदा मन नपरेर धेरै भाग भत्काउन लगाएको पनि छु। अब भने घरले आकार लिन थालेको छ।’

यो भवनलाई दरबार, हवेली, बंगला, प्यालेस, महल, भिल्ला नाम दिएको उनलाई मन पर्दैन। त्यसैले उनले यसको सामान्य नाम राखेका छन्- कृष्ण भवन।

‘भगवानसँग पनि जोडिने, आफ्नो बुबाको नामसँग पनि जोडिने भएकाले मैले सामान्य नाम राखेको छु तर मान्छेहरूले भाइरल घर, बंगला भनेर चिन्न थालेका छन्,’ उनी हाँसे।

घरले आकार लिन थालेपछि हेर्न आउने मान्छेको भीड लाग्न थालेको उप्रेतीले बताए।

‘के बनाउन खोजेको, किन बनाउन खोजेको भनेर धेरैले सोधीखोजी गरे,’ उनले भने, ‘मैले धेरै कमाएर यो भवन बनाएको होइन। यसमा मैले कमाएको एक डलर पनि खर्च भएको छैन। सबै पैसा पैतृक सम्पत्ति बेचेर खर्च गरेको हुँ। निर्माण सकिएपछि यो केका लागि प्रयोग हुन्छ भन्ने एकिन गरिसकेको छैन।’

मान्छेको भीडभाड बढ्दै गएको देख्दा उनलाई आफूले बनाएको भवन सार्वजनिक स्थलजस्तो भइसकेको अनुभूति भएको छ।

‘फिनिसिङ नहुँदै पर्यटकको ओइरो लागिरहेको छ। सामाजिक सञ्जालमा भाइरल बनेपछि विदेशीले पनि सोधपुछ गर्न थालेका छन्। भीडभाड भएर क्षति नपुगोस् भनेर तारजालीले घेर्नुपर्‍यो। बनिसकेपछि त यो अझै आकर्षक देखिन्छ, त्यसले पर्यटकलाई थप आकर्षित गर्छ भन्ने लाग्छ,’ उप्रेतीले भने, ‘५४ हजार स्क्वायर फिटमा बनेको ९ तल्ले भवन संग्रहालय, होटल वा अन्य कुनै प्रयोजनमा आउन सक्छ।’

उनले भवनको बाँकी काम सक्ने केही वर्ष लाग्ने बताए।

 

नेपालीमात्रै नभएर विदेशीलाई पनि अनौठो लाग्ने घर बनाएर पर्यटक आकर्षित गर्ने सोचले यो संरचना बनाएको उप्रेतीले बताए। नेपालका हिमाल, जंगल मात्रै देखेका पर्यटकका लागि यो भवन गन्तव्य बन्न सक्ने उनी बताउँछन्।

‘भएको पैसा ब्याजमा लगाएर आनन्दले जीवन बिताउन पनि सक्थें तर मलाई त्यसो गर्न मनले दिएन। कि कवाड हुन्छ कि बबाल हुन्छ भनेरै बनाउन थालेको हुँ, धेरैले बबालै गरिस्, कल्पनाभन्दा बाहिरको काम गरिस् भन्ने गर्नुभएको छ,’ उनी भन्छन्, ‘म एक व्यक्तिले चाहँदा पर्यटनमा केही गर्न सक्ने रहेछु। अब यसलाई राज्यले पनि सहयोग गर्‍यो भने देशलाई नै फाइदा हुन्छ जस्तो लाग्छ।’

उनले नेपालमा रेमिटेन्समात्रै आर्थिक स्रोतजस्तो देखिए पनि पर्यटन र कृषिमा ठूलो सम्भावना रहेको बताए।

‘रेमिटेन्स पनि अनुत्पादक क्षेत्रमा बढी खर्च भइरहेको र विदेश जानेहरू देशमै फर्केर केही गर्छु भनेर फर्कने क्रम कम भएका कारण हामी पछि परिरहेका छौं,’ उनी भन्छन्, ‘मलाई यो भीडमा केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो र यो अनौठो घरको सपनालाई अघि बढाएँ।’

उप्रतीले विश्वमा आफूले देखेका धेरै संरचनाहरूको झल्को आउने गरी यो घर तयार पार्न लागेको सुनाए।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले आफ्नो नगरपालिकाभित्र बनेको घर हेर्न धेरै पर्यटकहरू आइरहेको देखेको बताए।

‘घर कसले बनायो भन्ने त मलाई थाहा छैन। तर त्यो घर हेर्न धेरै मान्छेहरू आइराखेको जानकारी मलाई छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *